सुष्मा र रमिशा भिड्ने

काठमाडौं । लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र बागमती प्रदेशकी रमिशा श्रेष्ठ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगितामा सुष्माले कर्णाली प्रदेशकी अस्मिता दुवाल तथा रमिशाले नेपाल आर्मीकी आरती बम्जनलाई पराजित गरे ।

महिला ५४ केजीमा बागमतीकी रक्षा जिसीले गण्डकी प्रदेशकी सोनिया बडुवाल तथा नेपाल प्रहरीकी अन्जली तेलीले आर्मीकी लालुमाया खत्री क्षेत्रीलाई हराउदै फाइनलमा पुगे । महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले प्रहरीकी निशा तामाङ तथा कोशी प्रदेशकी नारिका राईले लुम्बिनी प्रदेशकी ललिता बस्नेतलाई पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।

महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले कोशीकी जोनु लिम्बू तथा एपीएफकी संगिता सुनारले बागमतीकी नतिशा राना मगरलाई पन्छ्याउदै फाइनलमा स्थान बनाए । महिला ६६ केजीमा आर्मीकी निरु गुरुङले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरी तथा एपीएफकी विनिता थापा मगरले कर्णालीकी अस्मिता चन्दको चुनौती पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।

महिला ७५ केजीमा एपीएफकी सरस्वती रानाले लुम्बिनीकी जुनमाया थारु तथा आर्मीकी तृषा जबेगुले कर्णालीकी शिलु महर्जनमाथि जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरे ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा पनि फाइनल पुग्ने खेलाडीको टुंगो लागेको छ ।

पुरुष ५१ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले बागमतीका लालप्रसाद उप्रेती र मधेश प्रदेशका रविन थापाले आर्मीका विमल घर्ती मगर, ५७ केजीमा कर्णालीका सुलभ मालीले प्रहरीका निकेश देशार र आर्मीका प्रेम चौधरीले बागमतीका निराजन मोक्तान, ६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले गण्डकीका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगरले लुम्बिनीका अनिलकुमार पुन तथा ७१ केजीमा एपीएफका विक्रम चौधरीले बागमतीका अश्विन धिरन श्रेष्ठ र आर्मीका दानबहादुर दर्लामी मगरले सुदूरपश्चिमका भरत चन्दलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले आर्मीका दिपेश लामा र कर्णालीका मनोज तामाङले बागमतीका पासाङ शेर्पा तथा ९२ केजीमुनि एपीएफका रविन नेपालले गण्डकीका किरण विक र आर्मीका महेन्द्र केसीले बागमतीका प्रदीप तामाङलाई हराउदै फाइनलमा पुगे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :