काठमाडौं । आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ ।
विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ ।
यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष क्रिकेट तथा पुरुष-महिला फुटबल र भलिबल गरी ५ स्वर्णको टुंगोल लाग्न बाँकी छ ।
सुदूरपश्चिम प्रदेश २१ स्वर्णसाथ दोश्रो तथा कोशी प्रदेश १४ स्वर्णसाथ तेश्रो स्थानमा छन् । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले समान ११–११ स्वर्ण जितेका छन् भने गण्डकी प्रदेशले ९ तथा मधेश प्रदेशले ३ स्वर्ण हात पारेका छन् ।
बक्सिङ : बागमतीलाई सर्वाधिक ९ स्वर्ण
अन्तरप्रदेश खेलुकदअन्तर्गत बक्सिङमा बागमती प्रदेशले सर्वाधिक ९ स्वर्ण जितेका छ । लुम्बिनीले ५, कर्णालीले ४, सुदूरपश्चिमले ३ र कोशीले २ स्वर्ण जिते । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
पुरुष ४८ केजीमा बागमतीका बागमतीका रविन थापा, ५१ केजीमा बागमतीका लालप्रसाद उप्रेती, ५४ केजीमा बागमतीका मदनकृष्ण डंगोल, ५७ केजीमा बागमतीका निराजन मोक्तान, ६० केजीमा गण्डकीका निश्चल गुरुङ, ६३.५ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्द, ६७ केजीमा कर्णालीका प्रासङ सुब्बा, ७१ केजीमा बागमतीका अश्विन धिरन श्रेष्ठ, ७५ केजीमा गण्डकीका तार्जन घर्ती मगर, ८० केजीमा सुदूरपश्चिमका बालाजी रावल, ८६ केजीमा गण्डकीका किरण विक, ९२ केजीमा गण्डकीका सुनिल श्रेष्ठ र ९२ केजीमाथि बागमतीका करण तामाङले स्वर्ण जिते ।
महिलाको ४८ केजीमा बागमतीकी सुष्मा तामाङ, ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठ, ५२ केजीमा गण्डकीकी सोनिया बडुवाल, ५४ केजीमा कर्णालीकी अन्जनी तेली, ५७ केजीमा कोशीकी नारिका राई, ६० केजीमा कोशीकी जोनु लिम्बू, ६३ केजीमा बागमतीकी तनुजा नेपाली, ६६ केजीमा सुदूरपश्चिमकी प्रतिक्षा रोकाया, ७० केजीमा कर्णालीकी कोश डोमा शेर्पा र ७५ केजीमा कर्णालीकी सिला महर्जन पहिलो भए ।