मार्शल आर्ट्सको सिद्धान्त नै आक्रमण गर्नु नभई आत्मरक्षा गर्नु हो : जगत गौचन 

श्रीविक्रम भण्डारी

नेपालमा क्योकुशिन करातेको नाम उच्चारण गर्दा जगत गौचनको नाम अग्रपंतिमा आउँछ। गौचनले क्योकुशिन करातेलाई नेपालमा भित्र्याउने कार्य मात्रै गरेनन्, नेपालमा यस खेलको विकास र विस्तारमा उनले निभाएको भूमिका आफैमा अतुलनिय र प्रशंसनिय छ । तत्कालिन समयमा एशियन च्याम्पियन बनेर नेपालको गौरव अन्तर्राष्ट्रियस्तरमा समेत बढाउन सफल गौचन क्योकुसिनका उत्कृष्ट खेलाडी मात्र नभई संस्थापक पनि हुन्। उनै नेपालका प्रथम ब्रान्च चीप, अन्तर्राष्ट्रिय रेफ्री, फाइभ डान प्राप्त गुरु जगत गौचनसँग मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले २०५४ साल अर्थात् आजभन्दा २६ वर्षअघि क्योकुसिन करातेको सेरोफेरोमा रहेर गरेको विशेष कुराकानी :–

० क्योकुसिन कराते र अन्य करातेमा के अन्तर छ, बताई दिनुहोस् न?
– क्योकुसिन कराते फुलकन्ट्याक्ट कराते हो। र, यसमा पूर्ण भिडन्त हुन्छ । यो खेलमा विजय पाउनका लागि आफ्नो प्रतिद्वन्दीलाई पराजित गर्न सक्नुपर्छ ।

० अन्तर्राष्ट्रिय प्रतियोगितामा सितोरियो कराते पर्नु र क्योकुसिन कराते नपर्नुमा कुनै भेदभाव वा रहस्य छ?
– कुरो के भने वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ‘उको’ अर्थात् वर्ड युनियन अफ कराते अर्गनाइजेसनलाई आवद्ध गर्दैछ । अहिले उको अन्तर्गतका जति पनि स्टाइलहरु छन् ति स्टाइलहरु ओलम्पिक भित्र पसेका छन्। तर हामी भने ‘आइक्यू’ मा परेको हुनाले आइक्यूले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई ज्वाइन गरेको छैन । त्यसैले ओलम्पिक अन्तर्गतका खेलहरुमा हाम्रो आईक्यूले गर्दा सहभागिता दिन मिल्दैन ।

० त्यसो भए क्योकुसिन करातेको मुख्य उद्देश्य एशियन र वर्ड च्याम्पियनसिप मात्रै खेल्ने हो त?_सर्वप्रथम त जुनसुकै संस्थाहरुको थुप्रै उद्देश्यहरु हुन्छन् । क्योकुसिन करातेको कुरा गर्दा सर्वप्रथम यो खेल आत्मरक्षाको लागि खेलिने खेल हो । तर अहिले यो खेललाई विश्वव्यापी रुपमा स्पोर्ट्सको रुपमा विकास गर्न थालिएकोले क्षेत्रियस्तरमा, एशियालीस्तरमा खेलाडीहरु तिब्र प्रतिस्पर्धा भईरहेको छ । जसले गर्दा आज कुनै पनि संस्थाले विश्वमा उत्कृष्ट खेलाडी पैदा गरेर त्यहि खेलाडीको माध्यमबाट राष्ट्रको अन्तर्राष्ट्रियस्तरमा शिर ठाडो पार्ने कार्य गरिरहेका छन् ।

० मार्शल आर्ट्सका खेलहरु अहिले ओलम्पिक खेलतर्फ निकै आकर्षित भएको पाइएको छ, के भविष्यमा क्योकुशिन कराते पनि ओलम्पिक खेलमा आवद्ध हुने सम्भावना कत्तिको देख्नु हुन्छ ?
–यस्ता थुप्रै खेलहरु छन्, जुन आईओसी मार्फत पर्दछन् । साँच्चिकै भन्नुपर्दा यदि हामीले यो खेललाई ओलम्पिक प्रतियोगितामा समावेस गर्न सक्यौं भने दुरगामी रुपमा यो खेल अझै फस्टाउन पाउने छ । साथै थुप्रै त्यस्ता खेलहरु पनि छन् जुन आईओसी अन्तर्गत नपरेर पनि आफै अस्तित्वमा बाँचेका छन् र ओलम्पिकमा सहभागि खेलभन्दा पनि लोकप्रिय छन् । यस खेलका संस्थापक अध्यक्ष मास्साचुयामाले आईओसीका अध्यक्ष सामारान्चा समक्ष क्योकुशिन कराते देखाएर यसलाई ओलम्पिकमा राख्ने पहल पनि गरेका थिए । तर त्यसको केहि समयपश्चात नै अध्यक्षको निधन भएकोले यो कुरा अगाडि बढ्न नसकेको मात्रै हो । त्यसैले यो खेललाई ओलम्पिकमा राख्ने नराख्ने कुरामा आईक्यूले चासो देखाउनु पर्छ ।

०तपाईं कतै क्योकुशिनलाई व्यावसायिक तर्फ लान खोज्नु भएको त होइन?
– हामीले यो खेललाई कसरी लाने भन्नेमा यसमा सम्पूर्ण हात आईक्यूको नै छ । मेरो व्यक्तिगत प्रयासले यसमा केहि हुदैन ।

०वर्तमान अवस्थामा क्योकुसिन कराते पनि दुईवटा देखिएका छन । र, आफु फुलकन्ट्याक्ट भएको दाबी पनि गरेका छन्। के दुवै खेल एउटै हुन् कि भिन्दा भिन्दै?
–तपाईंले कुरा निकालि हाल्नुभयो । यसको अहिले जापानमा विवाद भइरहेको छ । मास्साचुयामा क्योकुशिन करातेका संस्थापनक अध्यक्ष हुनुहुन्छ । र, उहाँले नै यो खेल निकाल्नु भएको हो । उहाँ एउटा उच्च विचारको खेलाडी भएको हुनाले यो खेललाई विश्वस्तरमा विकास गर्नुभयो । उहाँले आफ्नो मृत्युभन्दा अगाडि मात्सुसुकेलाई आफ्नो प्रतिनिधि बनाउनु भयो, जस अन्तर्गत हामी छौं । मात्सुसुके चौथो विश्व क्योकुशिन कराते च्याम्पियनसिपमा वल्र्ड च्याम्पियन भइसक्नु भएको छ । उहाँ नेपालमा आयोजना गरिएको एशियाली प्रतियोगितामा पनि काठमाण्डौं आउनु भएको थियो । मात्सुसुकेप्रति चित्त नबुझेकाहरुले उहाँको बिरोधमा फुटेर यो संस्था खोलेका हुन । त्यसैले सेम ड्रेस, सेम स्टाइलमा उनीहरुले यो प्रतियोगिताको आयोजना गरिरहेका छन्। जसको नेपालमा दमन बस्नेतले प्रतिनिधित्व गरिरहेका छन् । अहिले यो कुरामा जापानमा मुद्दा चलिरहेको छ । त्यसको निर्णय छिट्टै नै कोर्टले गर्ने भएको छ ।

०अहिले मार्शल आर्टसका खेलाडीहरुले जुन अनुशासन हिनताको कार्य गरिरहेका छन्, त्यसमा तपाईको भन्नु के छ ?
– अनुशासन मार्शल आर्ट्सको गहना हो । यदि तपाई फिजिकल्ली रुपमा बलियो हुनुहुन्छ र तपाई त्यो बलको उपयोग नराम्रो ठाउँमामा गर्नु भयो भने समाजमा त्यसको एकदमै नकारात्मक असर पर्दछ । त्यसैले खेलाडीहरुलाई जति बलियो र आत्मविश्वासी बनाउनु जरुरी छ त्यति नै अनुशासित पनि । मार्शल आर्ट्सको सिद्धान्त नै आक्रमण गर्नु नभएर आत्मरक्षा गर्नु हो । त्यसैले जुन करातेका खेलाडीहरुवाट यस्तो अनुशासनहिनताको कार्य भईरहेको छ त्यो ठूलो कमजोरी र दुःखको कुरा हो । अहिलेसम्म मेरो कुनै पनि खेलाडीले अनुशासन तोडेको मलाई थाहा छैन । तर यहाँ ट्रेनिङ गर्न नआउने केहिले गरेको छ भनजे मलाई थाहा छैन ।

०क्योकुसिन करातेले राष्ट्रको लागि कस्तो खालको योगदान पुर्याएको महसुस गर्नु भएको छ ?
– क्योकुसिन करातेमा वैटको आधारमा टप प्रतिस्पर्धा गराइन्छ । जसमा जापान, कोरिया, रशिया थुप्रै देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दै आईरहेका छन् । यस्तो स्थितिमा पनि नेपालले एशियाली मुलुकलाई डोमिनेट गरेर उल्लेखनिय भूमिका निभाएको छ । र, विश्व च्याम्पियनसिपमा पनि हाम्रा खेलाडीहरुले राम्रो प्रदर्शन गरेका छन् ।

०मार्शल आर्ट्सलाई नेपालमा मित्र्याउनमा तपाईको मुुख्य हात रहेको हुँदा क्योकुशिन करातेलाई भविष्यमा कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
–जे कुरा गर्दा पनि विना लक्ष्य नगरिने भएकोले क्योकुशिन करातेको पनि आफ्नो लक्ष्य छ । त्यो हो विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीलाई पूर्णरुपमा तयार पारेर जिताउने ।

०क्योकुशिन कराते अहिले पनि तपाईंकै व्यक्तिगत प्रयासबाट चलेको छ कि राखेपबाट पनि सहयोग पाउनु भएको छ?
– पहिले मैैले मेरो व्यक्तिगत प्रयासबाट यो खेलको स्थाइत्वको लागि जतिसुकै कार्य गरेपनि अव जसको स्थापना भएको पन्ध्र वर्ष भइसकेको छ । अव यो संस्था आफ्नो खुट्टामा उभिई सकेकोले मैले केहि गर्नुपर्ने आवश्यकता छैन । राखेपको सहयोगको कुरा गर्दा हामीले पाएको सहयोगमा यहि टे«निङ हल मात्रै हो ।

०अरु तपाईंको केहि लक्ष्य छ कि?
– कुनै पनि साधक अथवा तपस्वीको आ–आफ्नै चाहना हुन्छ, त्यस्तै मेरो पनि छ। त्यसैले भाई आउनु भयो मैले ख्याल गरेर भनेको होइन, भाई खेलकुद पत्रकारमा प्रभावशाली पत्रकार हुनुभएकोले आज म भाईकै प्रतिष्ठित पत्रिका स्पोर्ट्स टाइम्स मार्फत खेलप्रेमी र खेलाडी मित्रहरुलाई केहि भन्न चाहान्छु । केहि वेरसम्म मैले एउटा कुरा बनाउँछु, कुरो बनेपछि शिक्षा लिन्छु, शिक्षा लिएपछि ठूलो बन्छन र आ–आफ्नो बाटो हिड्छन । त्यसैले मैले पनि विश्वका सर्वोकृष्ट गुरुहरुसँग सिकेका कुराहरुलाई एउटै घोल बनाएर अर्थात थुप्रै मार्शल आर्ट्सका खेलहरुलाई समेटेर नयाँ लक्ष्यका साथ नयाँ स्टाइलको खेलको विकास गरु भन्ने छ । जुन मस्ट पावरफुल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :