काठमाडौं । मोरङ्ग जिल्ला खेलकुद विकास समितिमा कार्यरत् उसु प्रशिक्षक बिनोद मारीकमाथि भएको अभद्र व्यवहारप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कर्मचारी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कर्मचारी संघले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै उसु प्रशिक्षक बिनोदमाथि भएको अभद्र व्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी गराएको हो।
संघले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले आफ्नो पदको मर्यादा उलङ्घन गरी यहि बैशाख ३ गते उसु प्रशिक्षक बिनोदमाथि अपशब्द प्रयोग गर्दै गाली बेईज्जत तथा अभद्र व्यवहार गरेका थिए ।
गत साता मात्र काठमाडौंमा सम्पन्न भएको १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि प्रदेशबाट छनौट भएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकका विषयमा ईटहरी प्रादेशिक रंगशाला प्रदेश खेलकुद विकास बोर्डको सम्पर्क कार्यालयमा पुगि आफ्नो पदीय मर्यादा र कर्तव्यको बारेमा जानकारी गराईरहको अवस्थामा उसु प्रशिक्षक बिनोदमाथि सदस्यसचिव वाग्लेले अभद्र व्यवहार देखाएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वाग्लेले धम्कीको भाषा प्रयोग गर्दै आफ्नो एकल निर्णयबाट प्रशिक्षक, खेलाडी र व्यवस्थापक नियुक्त हुन्छन् भन्दै निज प्रशिक्षक बिनोदलाई निम्न स्तरको गाली गलौज, अपशब्द र अभद्र व्यबहार गरेका थिए । यो घटना पश्चात् प्रशिक्षक बिनोदले जिल्ला प्रशान कार्यालय, मोरङ्ग र राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघमा न्याय पाउँ भनि निवेदन दर्ता गराएका थिए ।
प्रशिक्षक बिनोदले जिल्ला प्रशासन कार्यालय, मोरङ्गमा बैशाख ४ गते दिएको निवेदनमा सार्वजनिक स्थलमा अस्लील शब्द प्रयोग गरेको हुँदा निज हंशराज वाग्लेलाई झिकाई कानुन वमोजिम कारबाही गरिपाउँ भन्ने उल्लेख गरिएको छ । त्यस्तै बैशाख ९ गते कर्मचारी संघलाई बुझाएको निवेदनमा सम्बन्धित घटनाको बारेमा जानकारी गराउनुका साथै न्याय पाउँ भनि उल्लेख गरिएको छ ।
यो घटनाको बारेमा गम्भिर ध्यानाकर्षण भएको भन्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्न कोशी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, मोरङ्ग र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवमा पिडित उसु प्रशिक्षक बिनोदलाई न्याय दिलाउनका लागि समेत राष्ट्रिय खेलकुद परिषद केन्द्रीय कर्मचारी संघले विज्ञप्तीमार्फत जोडदार माग गरेको छ ।