नवौं संस्करणमा टी-२० विश्वकपको परम्परा तोडिएला कि पुरानै दोहोरिएला?

लक्ष्मी शाक्य

आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना वेष्ट इण्डिज र संयुक्त राज्य अमेरिकामा हुँदैछ । आगामी १ जुन देखि आयोजना हुने उक्त विश्वकप क्रिकेटमा विश्वकका उत्कृष्ट २० वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् । जुन टी-२० विश्वकप क्रिकेटको कीर्तिमानी सहभागिता हो । नेपालले पनि दोश्रो पटक यो टी २० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।

टी-२० विश्वकपको यो नवौं संस्करण हो । सन् २००७ मा टी-२० विश्वकपको पहिलो संस्करणको आयोजना दक्षिण अफ्रिकाले गरेको थियो । त्यस्तै पछिल्लो पटक सन् २०२२ मा टी-२० विश्वकपको आठौं संस्करण अष्ट्रेलियामा आयोजना भएको थियो । नवौं संस्करण अर्थात् टी-२० विश्वकप क्रिकेट २०२४ को आयोजना भने वेष्ट इण्डिज र अमेरिकाले संयुक्त रुपमा गदैछन् ।

टी-२० विश्वकपको इतिहास आफैमा अपत्यारिलो छ । आठौं संस्करणसम्म आइपुग्दा समेत टी-२० विश्वकपको आयोजना गर्ने राष्ट्रले आफ्नो भूमीमा उपाधि जित्न सकेका छैनन् । तर अन्य भूमिमा भने ति राष्ट्रले विश्वकपको उपाधि जित्न सफल भएको इतिहास छ ।

यो पटक टी-२० विश्वकपको आयोजना संयुक्त रुपमा हुदैछ । यस पटक आयोजक राष्ट्रमध्य वेष्ट इण्डिजलाई विश्वकपको प्रमुख दावेदारको रुपमा हेरिएको छ । तर आयोजक राष्ट्रले अहिलेसम्म विश्वकपको उपाधि जित्न नसकेको इतिहास भएकोले के वेष्ट इण्डिजले यो इतिहासलाई तोड्न सक्ला वा पुरानै परम्परा कायमै रहला? अहिले यो प्रश्न क्रिकेट विश्लेषकहरुले उठाई रहेका छन् ।

पुरुष टी-२० विश्वकपको यस्तो दुर्लभ परम्पराले गर्दा आयोजक राष्ट्रभन्दा अन्य राष्ट्र उपाधि जित्ने कुरामा उत्साहित देखिएका छन् । जसमा भारत, पाकिस्तान, न्यूजील्याण्ड, इङ्गल्याण्ड र अष्ट्रेलियाले आफुलाई सम्भावित विश्वकपको विजेताको रुपमा हेरिरहेका छन् । टी-२० विश्वको इतिहासलाई फर्केर हेर्दा विश्वकपको उपाधि यिनै राष्ट्रको वरिपरि घुमेको देखिन्छ । तर यी राष्ट्रहरु मध्ये न्यूजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा पुगेर पनि अहिलेसम्म उपाधि जित्नबाट बञ्चित रहँदै आएको छ ।

सन् २००७ मा दक्षिण अफ्रिकामा आयोजना भएको पहिलो संस्करणको टी-२० विश्वकपको उपाधि भारतले जितेको थियो । फाइनलमा भारतले पाकिस्तानलाई ५ रनले पराजित गर्दै टी-२० विश्वकपको उपाधि जितेको थियो । त्यसपछि अहिलेसम्म भारतले टी-२० विश्वकपको उपाधि जित्न सकेको छैन ।

टी-२० विश्वकप क्रिकेटको दोश्रो संस्करण सन् २००९ मा इङ्गल्याण्डमा आयोजना भएको थियो । उक्त विश्वकपको फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

त्यस्तै टी-२० विश्वकप क्रिकेटको तेश्रो संस्करणको आयोजना वष्ट इण्डिजले गरेको थियो । उक्त विश्वकपको फाइनलमा इङ्गल्याण्डले अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै विश्वपको उपाधि जितेको थियो ।

सन् २०१२ को टी-२० विश्वकपको चौथो संस्करणको आयोजना श्रीलंकाले गरेको थियो । कोलम्बोको प्रेमदासा क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा आयोजक श्रीलंकालाई ३६ रनले पराजित गर्दै वष्ट इण्डिजले विश्वकपको उपाधि जितेको थियो । टी-२० विश्वकपको चौथो संस्करणको आयोजना हुँदा आयोजक राष्ट्र फाइनलमा पुगेको त्यो नै पहिलो पटक थियो।

त्यस्तै सन् २०१४ को टी-२० विश्वकपको पाँचौं संस्करण बंगलादेशले आयोजना गरेको थियो । वर्षाले गर्दा रिजर्भ डेमा खेलिएको फाइनल खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले पराजित गर्दै विश्वको उपाधि जितेको थियो ।

सन् २०१६ मा टी-२० विश्वकप क्रिकेटको छैठौं संस्करणको आयोजना भारतले गरेको थियो । उक्त विश्वकपमा भारतलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिए पनि इङ्गल्याण्ड र वेष्ट इण्डिजका बीच फाइनल खेल भएको थियो । फाइनल खेलमा वेष्ट इण्डिजले इङ्गल्याण्डलाई पराजित गर्दै दोश्रो पटक विश्वकपको उपाधि जितेको थियो ।

त्यस्तै सन् २०२१ को टी-२० विश्वकप क्रिकेटको आयोजना संयुक्त अरब इमिरेट (युएई) र ओमानले संयुक्त रुपमा गरेका थिए । उक्त विश्वकपको सातौं संस्करणको फाइनलमा अष्ट्रेलिया र न्युजील्याण्डबीच भिडन्त भएको थियो । फाइनलमा अष्ट्रेलियाले न्यूजील्याण्डलाई पराजित गर्दै दोश्रो पटक विश्वकपको उपाधि जितेको थियो ।

टी-२० विश्वकप क्रिकेटको आठौं संस्करणको आयोजना सन् २०२२ मा अष्ट्रेलियाले गरेको थियो । उक्त विश्वकपमा अष्ट्रेलियालाई प्रमुख दाबेदार मानिए पनि पाकिस्तान र इङ्गल्याण्डबीच फाइनल खेल भएको थियो । उक्त फाइनल खेलमा इङ्गल्याण्डले पाकिस्तानलाई पराजित गर्दै दोश्रो पटक विश्व कपको उपाधि जितेको थियो ।

यसरी टी-२० विश्वकप क्रिकेटको इतिहासलाई फर्केर हेर्दा अहिलेसम्म आयोजक राष्ट्रले विश्वकपको उपाधि जित्न सकेका छैनन् । सन् २००७ देखि २०२२ सम्म यहि परम्परा दोहरिदै आएको छ । तर यो पटक टी-२० विश्वकपको यो परम्परा तोडिएला कि फेरि पुरानै परम्परा दोहोरिएला त्यो उत्सुकताको विषय बनेको छ ।

नेपालले सन् २०१४ मा टी २० विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरेको थियो । टी २० विश्वकपमा नेपाली टोलीको प्रदर्शनको विश्लेषण गर्दा नेपालले लिग चरणमा अफगानिस्तान र हङकङलाई पराजित गर्न सफल भएको थियो । यो पटक भने नेपाली टोलीबाट त्यो भन्दा ठूलो अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :