कर्णाली हाप म्याराथन अधिराज्य भरिका खेलाडीलाई लक्षित गरि आयोजना गरिएको हो: हरिबहादुर रोकाय

सुर्खेत । नेपाली खेलकुदको धरोहरका रुपमा परिचित म्याराथनका अन्तर्राष्ट्रिय किर्तिमानी खेलाडी हरिबहादुर रोकायसँग कर्णाली हाप म्याराथनमा जम्काभेट हुँदा मेरोखेल डटकमले उनीसँग गरेको संक्षिप्त अन्तरवार्ता :–

० कर्णाली प्रदेशमा पहिलो पटक हाप म्याराथन सम्पन्न भएको छ, कस्तो महसुुस गरिरहनु भएको छ ?
– मलाई ज्यादै खुशी लागेको छ । कर्णाली म्याराथनमा साना साना बच्चाहरुले निकै उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । जसले गर्दा कर्णाली प्रदेशमा हुन गईरहेको १० राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि यो सहायक सिद्ध हुनेछ । यदि भोलिका दिनहरुमा अरुहरुले पनि यस्तो म्याराथनको आयोजना गरे भने निकै राम्रो हुन्थ्यो । खेलाडीहरुले लामो समयदेखि प्रशिक्षण गरिरहेका हुन्छन्, तर खेल्न पाएका हुँदैनन् । कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक हाप म्याराथन भएकोमा म ज्यादै खुशी छु ।

० यो म्याराथनमा तपाईको उपस्थिति देखेर सहभागि खेलाडीहरु निकै उत्साहित देखिए, उनीहरुले तपाईबाट के अपेक्षा राखेको जस्तो लाग्छ?
– मलाई देखेर म्याराथनमा प्रतिस्पर्धा गरेका सबै खेलाडीले भन्ने गरेका छन्, ‘हामी पनि तपाईं जस्तो बन्नु पर्छ ।’ मैले पनि ति सहभागि सबै खेलाडीहरुलाई मेहनत गर्नु पर्छ एक दिन अवश्य सफल भइन्छ । मेहनत गर्न भने छोड्नु हुदैन भन्ने हौसला दिएको छु ।

० कर्णाली प्रदेश लामो दुरीका खेलको लागि विशेष रुपमा परिचित छ, कर्णालीमा नै हाप म्याराथन भएको छ, सहभागि खेलाडीको संख्या पनि निकै देखिए, यसले खेलाडीहरुलाई कत्तिको हौसला प्राप्त भएको जस्तो लागेको छ ?
– यस्ता प्रतियोगिता आयोजना हुँदा खेलाडीलाई हौसला प्रदान गर्ने मात्र नभई खेलको विकास गर्नमा समेत टेवा पुग्ने मैले विश्वास लिएको छु । अहिले कर्णाली हाप म्याराथनमा थुप्रै राष्ट्रिय खेलाडीहरु सहभागिता जनाउथे, उनीहरुले मलाई चाहना प्रकट गरेका पनि थिए । तर अहिले धेरै ठाउँमा हाप म्याराथन भइरहेका हुनाले राष्ट्रिय खेलाडीहरु सोचेको भन्दा कम सहभागि भए ।

० कर्णाली म्याराथन कर्णाली प्रदेशका खेलाडीहरुलाई मात्र लक्षित गरेर आयोजना गरिएको थियो कि अधिराज्यभरिका खेलाडीलाई ?
– अवश्य पनि, कर्णाली हाप म्याराथन अधिराज्य भरिका खेलाडीहरुलाई लक्षित गरि आयोजना गरिएको हो । अहिले खेल जुधेका कारण खेलाडीहरु बाँडफाँड भएर त्यस्तो देखिए पनि आउँदो संस्करणदेखि अहिलेको भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीले कर्णाली म्याराथनमा सहभागि जनाउने कुरामा म ढुक्क छु ।

० कर्णाली हाप म्याराथनलाई निरन्तरता दिन प्रदेश सरकारले कस्तो किसिमको सहयोग र भूमिका निभाउनु पर्छ भन्ने अपेक्षा राख्नु भएको छ ?
– मलाई विश्वास छ, प्रदेश सरकारले यसको निरन्तरताको लागि भविष्यमा अवश्य पनि सकारात्मक भूमिका खेल्नेछ । मैले यो बारेमा कर्णाली प्रदेश खेलकुल विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालसँग पनि कुरा राखेको छु। उहाँ निकै सकारात्मक हुनुहुन्छ। यदि यसो भएको खण्डमा भविष्यमा अहिलेको भन्दा पनि उत्कृष्ट खेलाडी जन्मिने कुरामा म ढुक्क छु ।

० रेस नेपाल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले कर्णाली प्रदेशमा संयुक्त सहकार्यमा हाप म्याराथनलाई पहिलो पटक भित्र्याएको छ, यसलाई तपाईंले कसरी हेर्नु भएको छ ?
– कर्णाली प्रदेशमा पहिलो पटक हाप म्याराथन हुनु धेरै राम्रो कुरा हो। म यसको लागि आयोजक कमिटि तथा विशेष गरेर रेस नेपालका अध्यक्ष टीस ठकुरीजीलाई धन्यवाद दिन्छु । उहाँको यो कदमले अहिले कर्णालीमा हाप म्याराथनको शुभारम्भ भएको छ । म यसको निरन्तरताको कामना गर्दछु । मलाई विश्वास छ, टीएस जीले आउँदो संस्करण यो भन्दा उत्कृष्ट गर्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :