दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै आयोजना गर्नेगरि वातावरण तयार भइरहेको छ- यामलाल कँडेल, मुख्यमन्त्री कर्णाली प्रदेश

श्रीविक्रम भण्डारी

कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि ९ गतेसम्म आयोजना हुन गइरहेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चाले अहिले नेपाली खेलकुदमा नौलों तरङ्ग उत्पन्न गराईदिएको छ। अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय खेलकुदको आयोजना गर्ने प्रतिवद्धता जाहेर गरेको कर्णालीले अहिले यसलाई सफलताको मूर्तरुप दिन, दिनरात एउटै बनाउँदै युद्धस्तरमा खटेको छ । दसौं राष्ट्रिय खेलकुदकोे आयोजनका लागि ७० प्रतिशत भौतिक पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न गरिसकेको कर्णालीले अबको तीन महिनामा शतप्रतिशत निर्माण सम्पन्न गर्ने दावी गरेको छ । अत्याधुनिक र वैज्ञानिक तरिकाले निर्माण गरिएका ती पूर्वाधारहरु आफैमा प्रशंसा गर्न लायकका छन् । जुन राजधानी काठमाडौंबाट कोशौं टाढा रहेको दुर्गम कर्णाली प्रदेशमा निर्माण भइरहेको देख्दा पत्याउन गाह्रो हुन्छ । आशा हैन, विश्वासको कफन बाँधेर अहिले कर्णाली प्रदेश निर्धारित समयमै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनुपर्छ भन्ने मुख्य नाराका साथ अघि बढेको अवस्था छ । कर्णालीमा यस्तो दृष्य, परिदृष्य देखिदा दसौं राष्ट्रिय खेलकुदको आयोजनामा केन्द्रीत रहेर कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसँग मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले सुर्खेतस्थित उनकै निवासमा लिएको विशेष अन्तर्वार्ता:–

० कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुँदैछ, यसको तयारीमा मुुख्यमन्त्रीको हैसियतले कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– पहिलो कुरा त यो संघिय कार्यक्रम हो । स्थानचाहिँ कर्णाली प्रदेश हो । आयोजकले यो कार्यक्रम सम्पादन गर्ने वा सम्बोधन गर्नेगरि जुन तदारुकताका साथ पूर्व तयारी गर्नुपर्ने हो त्यसको म अभाव देख्छु । मैले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको भर्खरै १ महिनाको समय भएको छ, धेरै कुरा बुझ्न बाँकि छ, तर जिम्मेवारीमा भर्खरै आएको भए पनि म यहाँको जनप्रतिनिधि भएको कारणले यो विषय प्रदेशसभामा सबैभन्दा बढी उठाउने मै हुँ । जनप्रतिनिधको हैसियतले सरकारलाई यसतर्फ ध्यानाकर्षण गर्ने भूमिका खेल्दै आएको व्यक्ति हुँ। यो कार्यक्रम संघिय सरकारको हो, र पनि हाम्रो ठाउँबाट हुने कार्यमा कुनै कमजोरी हुन नदिने गरि प्रदेश सरकार अघि बढेको छ । यस कारण हाम्रो भूमिका भन्दा पनि बढी संघिय सरकारको हुने भएकोले जस्ले यो कार्यक्रमको अयोजना र सञ्चालन गर्छ, त्यसमा संघिय सरकारले प्राथमिकतामा राखेर, पूर्व तयारी र तदारुकताका साथ काम भएको अवस्था छैन । स्थानिय तहबाट आवश्यक व्यवस्थाका निम्ति, सहजिकरणका निम्ति, आवश्यक प्रबन्धका निम्ति केहि तयारी भइरहेको छ । बाँकि तयारी गर्न हामी अगाडि बढ्दैछौं ।

० मंसिर २ देखि ९ गतेसम्म आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले कर्णाली प्रदेशको मान, सम्मान र प्रतिष्ठाको दाउमा लागेको छ, निर्धारित समयमै प्रतियोगिता हुने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?
– म आफ्नो तर्फबाट र हाम्रो ठाउँबाट हेर्दा अर्को मिति तय गर्नुपर्ने, सार्नुपर्ने देख्दिन । तर आयोजकहरुले पूर्व तयारी नगर्ने, किनकी यो कर्णाली प्रदेशमा हुदैछ त ? जहाँ साधन छैन, स्रोत छैन, पूर्व संरचना छैन त्यँहा हुन सक्दैन भन्ने कुरा समय समयमा देखाएर मान्छेलाई प्रभावित गर्ने जुन विगतको तरिका छ, त्यो अवलम्बन नगरे हुन्थ्यो भन्ने छ । त्यसैले हाम्रोतर्फ बाट गर्नुपर्ने काममा कुनै कमि हुन नदिएर सम्भावित कर्णाली प्रदेशप्रति उठाउने प्रश्नहरुको उत्तर व्यहारतः दिएर समयमै प्रतियोगिता कर्णालीमा गर्ने वातावरणमा हाम्रो ध्यान गएको छ।

० राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको इतिहास हेर्दा एकाद बाहेक अन्य निर्धारित समयमा भएका छैनन्, यस्तो हुन नदिन प्रदेश सरकारले कस्तो रणनीति अख्तियार गरेको छ ?
– त्यसमा अघि पनि मैले भने हामीले हाम्रो देशमा कतिपय कार्यक्रमहरु कस्ता छन् भने पूर्व तयारी नगर्ने, हतारमा अन्तिम समयमा आएर गर्ने, पूर्व तयारी गर्दा काम पनि गुणस्तर हुन्छ, थोरै पैसाबाट राम्रो काम गर्ने अवस्था हुन्छ, अन्तिम समयमा आएर हतारमा काम गर्दा लतपत हुने अवस्था हुन्छ, धेरै पैसा खर्च हुने स्थिति रहन सक्छ, गरिएको कामको गुणस्तर पनि हुदैन, त्यस्तो तरिकाले जनताबाट आलोचना आउने प्रसस्त सम्भावना रहन्छ । त्यसैले विगतको अवस्थालाई दोहोरिन नदिन हाम्रो तर्फबाट गम्भिरतापूर्वक हामीले गर्नुपर्ने काम पनि गर्ने, केन्द्रीय वा संघिय सरकारले गर्नुपर्ने कामका बारेमा पनि समयमै प्रदेश सरकार चनाखो भएर उहाँहरुसँग सम्वाद, छलफल र कुराकानी गरेर समयमै दसौं राष्ट्रिय खेलकुदको आयोजना गर्नेगरि वातावरण तयार पार्नमा निम्ति पहलकदमी गरिरहेका छौं ।

० कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन गइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिले पूर्वाधार निर्माण हुने क्रम जारी छ, के यी पूर्वाधारहरुको निर्माण तोकिएकै समयमा हुन्छ होला त, ठोकुवा गर्न सक्नुहुन्छ ?
– मुलतः यसमा के छ भने अहिले जुन हाम्रो रङ्गशाला निर्माण भइरहेको छ, उसले जे कार्यतालिका प्रस्तुत गरेको छ करिब–करिब तालिका अनुसार नै उसले अहिलेसम्मको काम सम्पादन गरेको अवस्था छ । मलाई लाग्छ, राष्ट्रिय प्रतियोगिताको जुन मिति तोकिएको छ त्यो समयसम्ममा मूलत उक्त रङ्गशालाको निर्माण सम्पन्न हुने कुरामा त्यस्तो दुविधा उत्पन्न हुने अवस्था छैन। निर्माण कम्पनीको कामको आधारबाट, यसलाई प्रदेशले उच्च प्राथमिकताका साथ राखेको योजनाको आधारबाट र कम्पनीलाई समयमै भुक्तानी दिएको आधारबाट हेर्दा मुख्य रङ्गशला निर्माण समयमै सम्पन्न हुन्छ । त्यसका साथसाथै त्यसलाई आवश्यक पर्ने अन्य स्थानको पनि हामीले प्रदेश सरकारको बजेटको माध्यमबाट निर्माण कार्य शुरु गरेको अवस्था छ । अन्य क्षेत्रमा पनि दसौं राष्ट्रिय खेलकुदलाई भव्य र सभ्य बनाउन हाम्रो तर्फबाट कुनै कुरामा पनि कमि नआउने गरि हामी काम गर्छौं ।

० पूर्वाधारकै कमिका कारणले राष्ट्रिय प्रतियोगिता समयमै हुन नसकेको इतिहास छ, यस्तोमा दसौं राष्ट्रिय खेलकुदप्रति प्रदेश सरकार कति गम्भिर छ ? कस्तो रणनीति र योजना बनाएर अघि बढेको छ ?
– पहिलो कुरा त के हो भने हामी आफै आयोजक भएको भए तपाईंले गरेका धेरै प्रश्नको सजिलै उत्तर दिन सक्थ्यौं, आयोजक र संयोजक भएर । यहाँ आयोजक संघिय सरकार हो, उसले अव्यवस्था अर्थात् पूर्व तयारी नगर्दा त्यसको सजाय हामीले भोग्नु पर्ने परिस्थिति आउन सक्ने अवस्था रहन्छ । त्यस कारण हामी समयमै संघिय सरकारको ध्यानाकर्षण गरेर मिति तल माथि गर्न दिदैनौं । संघियले गर्नुपर्ने कार्य केन्द्रीय बजेट ल्याउदा नै थाहा पाई हालिन्छ । उसले गर्ने, नगर्ने सम्बन्धमा यहि जेठ १५ गते आउने बजेटबाट थाहा भइहाल्छ नि । २०८१ का लागि युवा तथा खेलकुद मन्त्रालयको प्रमुख कार्यक्रम मध्यको एउटा कार्यक्रम होला नी त यो । त्यसैपछि सबै थाहा हुन्छ, त्यसैले कर्णाली प्रदेश सरकारका तर्फबाट संघिय सरकारलाई समयमै खेलकुद गर्न सकिन्छ, खेलकुद गर्नुपर्छ भन्ने कुराको जनमत निर्माण गरेर, मनोविज्ञान निर्माण गरेर र आफ्नो तर्फबाट पहलकदमी लिएर राष्ट्रिय खेलकुद सञ्चालन गर्न हाम्रो महत्वपूर्ण भूमिका रहन्छ ।

० गण्डकि प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेट ६० करोड रहेको थियो, दसौं राष्ट्रियको बजेट कति माग गर्ने योजना बनाउनु भएको छ ?
– यसमा अहिले छलफल गर्न बाँकि छ ।

० राष्ट्रिय खेलकुदको बजेटको कुरा गर्दा यो पटक प्रदेश सरकारले नै सबै व्यवस्था गर्ने सुनिनमा आएको छ, के यो सत्य हो ?
– अहिले त्यस्तो गर्न सकिन्छ तर के प्रस्ताव आउँछ ? त्यो सुन्न तयार छौं, बुझ्न तयार छौं, आवश्यक छलफल गरेर जान तयार छौं, मलाई लाग्छ संघिय सरकार पन्छिएर जिम्मेवारी पुरा हुन्छ जस्तो मलाई लाग्दैन । तपाईंले भने जस्तो कुरा साँचो हो भन्ने पनि मैले मान्नु हुन्न, किनकी उसले आयोजना गर्दा । त्यसमा पनि कर्णाली प्रदेश जसमा जति पूर्वाधार हुनुपथ्र्यो त्यो नभई रहेको, प्रदेश सरकारको आम्दानी पनि उल्लेख्य रुपमा नभइरहेको र प्रदेशको रुपमा गइरहेको अवस्थामा अन्य ठाउँमा गरिएको राष्ट्रिय खेलकुद भन्दा कर्णालीमा संघिय सरकारले स्वतः आफ्नो तर्फको भूमिका बढाउनु पर्ने हुन्छ । बजेटको राशी बढाउनु पर्ने हुन्छ र यो म विश्वास गर्छु ।

० दसौं राष्ट्रिय खेलकुदको आयोजना गर्दा प्रदेशले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग कस्तो सहयोगको अपेक्षा राखेको छ, यसमा प्राविधिक मात्रै हुन्छ कि आर्थिक पनि ?
– होइन, राखेप आयोजक भइसकेपछि ठाउँ विशेष अनुसारको आयोजकले भूमिका खेल्नु पर्छ । ठाउँ विशेषको भन्नाले खासगरि अरु प्रदेशको तुलना गर्दा आन्तरिक आम्दानी बढीरहेको अवस्था छ, पूर्वाधारको विकासको वृद्धि भएको अवस्था छ, जनताको जीवनस्तर माथि उठेको अवस्था छ र उद्योग कल कारखाना पर्याप्त भएको हुनाले सौजन्यहरु प्राप्त हुने अवस्था छ । जुन कुरोको अभाव कर्णाली प्रदेशमा छ । यो अभावलाई संघिय सरकारले अनुभूति गरेर उसले निति कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने हाम्रो माग मात्रै होइन कि उसको दाइत्व र कर्तव्य पनि हो । संघिय सरकारले यसरी बुझ्नुपर्छ ।

० दसौं राष्ट्रिय खेलकुद अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय खेलकुद हुने कर्णाली प्रदेशले दावी गर्दैं आएको छ । यस्तो भन्नु पछाडिको विशेष कारण के होला नी ?
– यो भन्दा अघि ९ वटा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भइसकेको छ । त्यो अनुभवसहित हामीले दसौंको आयोजना गर्ने मौका पाएका छौं । हाम्रो लागि दसौं राष्ट्रियको आयोजना पहिलो हो र विश्वास प्राप्त गर्ने अवसर पनि हो । यो कर्णाली प्रदेशका लागि अवसर र चुनौंति दुवै हो । यसर्थमा कि, जुन प्रदेश आफैमा आर्थिक हिसाबले कमजोर छ, पूर्वाधारका हिसाबले कमजोर छ, जनस्तरको हिसाबले कमजोर छ, उद्योग र कलकारखानाको विकास नगन्यरुपमा भईरहेको अवस्थामा अरु भन्दा पनि राम्रो व्यवस्थापन, अरु भन्दा पनि राम्रो सञ्चालन, अरु भन्दा पनि राम्रो आतिथ्यता र अरु भन्दा पनि राम्रो खेलकुद सम्पन्न गर्नसक्दा चाहिँ कर्णाली प्रदेशप्रति सबैको विश्वास उल्लेख्य रुपमा बढाउन सक्ने अवसरका रुपमा पनि हामीले लिएका छौं ।

० अहिलेसम्म सम्पन्न भएका राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यवस्थापन पक्ष निकै फितलो देखिदै आएका छन्, यो कुरोमा तपाईंहरु कत्तिको सम्वेदनशिल हुनुहुन्छ?
– तर यसमा हामीले धेरै दिने सुझाव हो । किनभने दसौं राष्ट्रिय खेलकुदको आयोजना राखेपले गर्ने हो । त्यसका हिसाबहरुलाई, त्यसका निकायहरुलाई, त्यसका जिम्मेवार पदाधिकारीहरुलाई कुन ढङ्गले परिचालित गर्छ र कुन ढङ्गले गर्ने स्थिति रहन्छ, त्यसले ठूलो अर्थ राख्छ । तर म के आग्रह र अनुरोध गर्न चाहन्छु भने हिजोको जस्तो सञ्चालनबाट हुदैछ, अब । अनुहारका आधारबाट निर्णय गर्ने कुरा बन्द गर्नुपर्ने हुन्छ । चाहे त्यो खेलाडीको छनौट होस्, चाहे त्यो व्यवस्थापनको पक्ष, सबै सिप, क्षमता र योग्यताका आधारबाट टुङ्ग्याउनु पर्ने हुन्छ। व्यवस्थापनको पक्ष अर्थतन्त्रसँग जोडिएको हुनाले उहाँहरुले अनुगमन गर्ने, मूङ्ल्याकन गर्ने, भरोसा गरेर कर्णाली प्रदेशकै खेलकुद परिषद्लाई जिम्मा दिनुभयो भने यी सबै समस्याको समाधान हुन्छ । तर नेपालको परम्परा के छ भने अर्थतन्त्र आफैले चलाउने मनोविज्ञान छ । उ लाई थाहा हुँदैन, उ भर्खर आएको हुन्छ, अनि त्यसले अस्त व्यस्तता देखिन्छ । अनि त्यो निकाय अनुगमन गर्नुपर्ने हुन्छ, सुपरिवेक्षण गर्नुपर्ने हुन्छ, रेखदेख गर्नुपर्ने हुन्छ । त्यसैले बेलैमा व्यवस्थापनको जिम्मेवारी सबै अधिकारसहित यहाँको खेलकुद परिषदलाई दिइयो भने उ जवाफदेहि हुन्छ, जिम्मेवार हुन्छ, त्यो खेलकुद परिषद् सिधै प्रदेश सरकारसँग सम्बन्धित हुन्छ । त्यसकारण व्यवस्थापनको अधिकार को लाई दिनु हुन्छ ? भएको बजेटको प्रयोग कसरी गर्नु हुन्छ ? त्यो अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

० आखिर चुरो यहि व्यवस्थापनमा आएर गाँसिएको हो त ?
– होइन, यो मैले सबै व्यवस्थापनको कुरा गरेको हुँ, यसको मात्रै होइन । हरेक कुराको व्यवस्थापन गर्दा सहजिकरण होस्, भनेर भनेको हुँ । त्यो गर्नु पनि पर्छ, यसर्थमा कि दसौं राष्ट्रिय खेलकुदमा अधिराज्यभरिका खेलाडी आउने भएकाले यो सानो ठाउँमा विभिन्न किसिमका कठिनाईहरु हुन सक्छन् । त्यस्तो कठिनाई भोग्न नपरोस्, भनेर मैले व्यवस्थापनको जिम्मेवारी प्रदेश खेलकुद परिषदले पाउनु पर्छ भनेको हुँ ।

० खेलकुदको मेरुडण्डको रुपमा परिचित तथा राष्ट्रिय हिरो जन्माउने राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति कर्णाली प्रदेश सरकार कत्तिको गम्भिर र संवेदनशिल छ ? यो पटक कर्णालीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– मैले माथि नै यो बारेमा धेरै कुरा भनिसके । र पनि, संघिय सरकारले आफ्नो तत्पर्ता नदेखाउँदै हामीले राष्ट्रिय खेलकुदलाई सफलता पूर्वक सम्पन्न गर्नको निम्ति पूर्वाधार निर्माणका निम्ति, प्रशिक्षणका निम्ति र खेलाडीका लागि आवश्यक व्यवस्था गर्ने कामको शुरुवात गरिसकेका छौं । जहाँसम्म कर्णाली प्रदेशको उत्कृष्ट प्रदर्शनको प्रश्न छ, त्यसमा म के भन्नु चाहन्छु भने यो पटक कर्णालीले साँच्चिकै उत्कृष्ट प्रदर्शन गर्ने कुरामा म विश्वस्त छु । विगतका राष्ट्रिय प्रतियोगिताको जस्तो कमजोर प्रदर्शन हुने छैन । कर्णालीको स्वर्ण, रजत र कास्य पदकमा उल्लेख्य वृद्धि हुनेछ ।

तस्बीर : लक्ष्मी शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :