मेरो लक्ष्यसम्म पुर्याउने गुरु भेटिए म उहाँलाई दिनरात पुज्ने थिएँ : बिमला कार्की

लक्ष्मी शाक्य

सुर्खेत । क्रसकन्ट्री विधाबाट दुई पटक अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेकी सुर्खेत जिल्लास्थित चनौटेकि १७ वर्षीय बिमला कार्की नेपाली म्याराथन क्षेत्रमा अर्थात् लामो दा्ैडमा राम्रो सम्भावना बोकेकि एक युवा खेलाडी हुन् । एक पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत खेलिसकेकि विमलाले विद्यालयस्तरका थुप्रै प्रतियोगिता खेलेर सहभागि अधिकांश प्रतियोगितामा स्वर्ण पदक समेत जितिसकेकि छिन् । बिमलाले गत साता मात्र प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथन अन्तर्गत विद्यालयस्तरी पाँच किलोमिटरको छात्रातर्फको दौडमा स्वर्ण पदक जितेकि थिइन् । उनै बिमलासँग कर्णाली हाप म्याराथनमा जम्काभेट हुँदा मेरोखेल डटकमले उनीसँग गरेको संक्षिप्त अन्तरवार्ता :–

०कर्णाली प्रदेशमा पहिलो पटक ‘कर्णाली हाफ म्याराथन’ आयोजना भयो, आफ्नै ठाउँमा पहिलो पटक आयोजना भएको हाप म्याराथनमा सहभागि भएर आफ्नो विधाको उपाधिमा समेत जित्दा कस्तो लागिरहेको छ?
– आफ्नै गृह जिल्लामा पहिलो पटक यो स्तरको प्रतियोगिता आयोजना हुँदा खुशी लागेको छ । तर जिल्लामा आयोजना भएको कतिपय प्रतियोगितामा मैले केन्द्र अर्थात् काठमाडौंमा आयोजना हुने प्रतियोगितामा जस्तो राम्रो व्यवस्थापन भएको पाउँदिन । व्यवस्थापन पक्ष फितलो हुँदा मैले खेलेको कतिपय प्रतियोगिता जितेर पनि पुरस्कार राशी पाएको छैन । मेरो घरको पारिवारिकको आर्थिक अवस्था पनि कमजोर छ । आर्थिक अभावकैबीच पनि जसो तसो खर्च जोहो गरेर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छु, तर कतिपय प्रतियोगितामा विजेता बनेर पनि घोषित पुरस्कार रकम नपाउँदा चै ज्यादै दुःख लाग्छ । औंलामा गन्न नसकिने हिसाबले प्रतियोगिता हुन्छ, त्यसमा पनि आयोजकको ठगि प्रवृत्तिले पुरस्कार रकम नपाउँदा उल्दै घाटा व्यहोर्नुपर्छ । आगामी प्रतियोगितामा त्यस्तो समस्या नदोहोरियोस्, भन्ने चाहन्छु म ।

०तपाईंले दौडिन थाल्नु भएको कति भयो, अहिलेसम्म कुन स्तरका प्रतियोगितामा सहभागि हुनुभएको छ?
–मैले दौडिन थालेको तीन वर्ष भयो, यो अवधिमा मैले अन्तर्राष्ट्रियस्तरको दुई वटा प्रतियोगिता खेलेको छु भने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता एक पटक खेलेको छु, भारतमा भएको प्रतियोगिताको समूहतर्फ मैले नेपालको लागि कास्य पदक जितेको थिए, काठमाडौंकै गोकर्णेश्वरमा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा चाँहि रजत पदक जितेको थिए । यो पटकको राष्ट्रपति रनिङ शिल्डको समयमा भने मेरो कक्षा १० अर्थात् एसईईको परिक्षा परेकोले खेल्न पाइन मैले ।

०म्याराथन खेल जीवनमा प्रवेश गर्दै गर्दा कस्तो लागिरहेको छ, यो खेलमा आफ्नो भविष्य कस्तो देख्नुहुन्छ, आखिर के लक्ष्य के हो त ?
–खेल जीवनको शुभारम्भ चरणमै भएपनि मैले ओलम्पिकसम्म खेल्ने लक्ष्य लिएको छु, तर आफ्नो लक्ष्यलाई सार्थक बनाउन मेरो आफ्नो एक्लो प्रयासले मात्र म सफल हुन सक्दिन, साथ दिने, सहयोग गर्ने तिमि अघि बढ तिम्रो पछि म छु भनेर हौसला दिने व्यक्तिको पनि उत्तिकै आवश्यक पर्छ । म आफ्नोतर्फबाट शतप्रतिशत दिएर प्रशिक्षण गर्दै जान्छु कतिसम्म सफल भइन्छ, हेर्दै जाऊँ ।

०सम्बन्धित निकायले कस्तो खालको अविभावकत्व ग्रहण गरिदियोस्, भन्ने चाहना छ नी ?
–मैले आफ्नो भविष्य दौडमा नै बनाउने अठोट लिएको छु, ओलम्पिक खेल्ने नै मेरो लक्ष्य हो, मलाई त्यो लक्ष्यमा पुर्याउन तिम्रो लागि म छु भन्ने, मेरो हार र जित दुवैलाई स्वीकार गर्न सक्ने प्रशिक्षक आवश्यक छ, प्रशिक्षकले जितेको समयमा चाहि मेरो खेलाडी भन्ने र हारेको समयमा चाहि वास्ता नै नगर्ने गर्नु भएन । यदि त्यस्तो प्रकारको प्रशिक्षक मैले भेट्न पाए एकदिन म मेरो लक्ष्यमा पुग्न सक्छु भन्ने विश्वास मलाई छ ।

०अहिले तपाईंको प्रशिक्षक को हुनुहुन्छ त, प्रदेश खेलकुद विकास परिषद्ले प्रशिक्षण गराईराखेको छ की के छ?
–अहिले मैले आफ्नै व्यक्तिगत खर्चमा प्रशिक्षण गरिरहको छु, पहिलो सुर्खेतकै राम गुरु हुनुहुन्थ्यो, उहाँसँगै प्रशिक्षण गर्थे । तर एसईईको परिक्षामा व्यस्त भएपछि अहिले पछिल्लो केहि महिना यतादेखिन राम गुरुसँग पनि भेट भएको छैन र मैले अहिलेसम्म मलाई ओलम्पिकमा पुर्याउन हौसला दिने स्तरीय प्रशिक्षक भेट्न सकेको छैन ।

०आफ्नो खेल जीवनलाई अघि बढाउन कस्तो वातावरण सिर्जना भईदिएको हुन्थ्यो जस्तो लाग्छ?
–जो भएपनि गुरुले मेरो खेलाडी हो, भनेर जिम्मा लिइसकेपछि सधैं समय एकै नासको हुँदैन, हार र जित दुवै भईरहन्छ, दुवै अवस्थामा मेरो जिम्मा लिने गुरुको स्वभाव एकै प्रकारको भईदियोस् भन्ने म चाहन्छु, हारको पिडामा पनि मलाई निराश हुन नदिएर ममा जहिल्यै सकारात्मक उर्जा भरिदिने, मलाई साथ दिने र सहयोग गर्ने गुरुको पखाईमा छु ।

०अहिले हाफ म्याराथन पनि खेल्नुहुन्छ कि, त्यो भन्दा कम दुरीको म्याराथन मात्रै खेल्दै आउनु भएको छ?
–अहिले मैले पाँच र दश हजार मिटरको दौडमा मात्रै प्रतिस्पर्धा गर्दै आएको छु, अब विस्तारै आफ्नो खेल स्तरमा सुधार गर्दै गएर हाफ म्याराथनमा प्रवेश गर्ने मरो योजना छ, अहिले म भर्खर १७ वर्षकी भए, यो कलिलै उमेरमा हाफ म्याराथन खेल्यो भने, खुट्टा इन्जर्ड हुन सक्छ, त्यो भयो भने मलाई नै गाह्रो हुन्छ, त्यसैले मैले अबको केहि वर्ष चाहि हाफ भन्दा कम दुरीको खेलमा आफूलाई अब्बल बनाउने सोचेको छु ।

०अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
–म अरु केहि भन्न चाहन्न, मलाई मेरो लक्ष्यसम्म पुर्याउने गुरुको खाँचो छ, यदि मैले त्यस्तो गुरु भेटें भने म उहाँलाई दिनरात पुज्ने थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :