चीनमा ऐतिहासिक पदक जितेका खेलाडीलाई उसु महासंघले गर्यो नगदसहित सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा चीनमा सम्पन्न ‘अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४’ मा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जित्न सफल खेलाडीहरुलाई नेपाल उसु महासंघले नगदसहित सम्मान गरेको छ। महासंघले शनिबार काठमाडौंको बौद्धमा एक कार्यक्रमको आयोजना गरि गत बैशाख दोस्रो साता चीनको जियाङ्सु प्रान्तको जियानझिङमा सम्पन्न प्रतियोगितामा ऐतिहासिक रजत र कास्य पदक जित्न सफल खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

प्रतियोगितामा नेपाली खेलाडीले २ रजत र ४ कास्य गरि कुल ६ वटा पदक जितेका थिए । जसमा नेपालले सान्सौं विधातर्फ एकलमा २ रजत र २ कास्य तथा थाउलो विधाको एकल र टिम इभेन्टमा समान १-१ कांस्य पदक जितेको थियो । नेपाली उसु खेलाडीले कुनैपनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यी नै पहिलो र ऐतिहासिक रजत तथा कास्य पदक हुन् ।

प्रतियोगिताको सान्सौं विधाको पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन र सोही विधातर्फ महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले रजत पदक जितेका थिए। फाइनलमा भने संजिव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग पराजित हुँदै स्वर्ण पदक जित्नबाट बञ्चित बनेका थिए । विश्वकपको छनोटको रुपमा समेत रहेको सो प्रतियोगितामा रजत पदक जितेका संजिव र विद्या आगामी नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने उसुको सान्सौं विश्वकपमा छनोट भएका छन्।

यस्तै अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालका लागि दिपक हमालले सर्वाधिक ९ दशमलव ६६३ स्कोर प्राप्त गर्दै कास्य पदक जितेका थिए। उनले १८ राष्ट्र सहभागी थाउलोको नानछ्वान विधामा कास्य पदक जितेका थिए । कास्य पदक जित्दै दिपक आगामी अक्टोबरमा जापानमा हुने थाउलोको विश्वकपका लागि छनोट भएका छन्। त्यस्तै विजय सिंजाली २९ देशका खेलाडी सहभागि थाउलोको नानछ्वान इभेन्टमा शीर्ष ६ मा पर्न सफल भएका थिए । सोहि विधाको महिलातर्फ नेपालकी निमा घर्तिमगर ९ दशमलव ४७६ स्कोरसहित शीर्ष चारमा पर्न सफल भएकी थिइन् ।

त्यस्तैगरि प्रतियोगिताको सान्सौं विधातर्फ लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरण सिंह साउदले पुरुष ९० केजी तौल समूहमा कास्य पदक जितेका थिए। थाउलोतर्फ तुईलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीहरु विजय सिन्जाली, दिपक हमाल र राजिव तामाङले कास्य पदक जितेका थिए। शनिबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष बीर बहादुर तामाङ, महासचिव ल्हाक्पा छिरीङ लामा, बरिष्ठ उपाध्यक्ष दधीराम सिटौला र उपाध्यक्ष नारायण गिरीले रजत पदक विजेता खेलाडीलाई जनही १० हजार तथा कास्य पदक विजेता खेलाडीलाई जनही ७ हजार नगदसहित सम्मान गरेका थिए ।

यसै कार्यक्रमकाबीच महासंघले नेपाली टोली नेतृत्वकर्ताको रुपमा चीन गएका महासचिव ल्हाक्पा छिरीङ लामा, टिम कोच निकेश श्रेष्ठ (पुरुष), जुनी राई (महिला), करुणा महर्जन (महिला), अवजर्भव साम्देन शेर्पा (बोर्ड सदस्य) र जज मन्जुर महर्जन, उच्च स्कोर प्राप्त गरेका खेलाडीद्वय विजय सिंजाली र निमा घर्ति मगरलाई समेत सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष तामाङले संघमा केहि आन्तरिक समस्या भएपनि त्यो समस्याको प्रभाव खेलाडीमा पर्न नदिने बताए । उनले अन्तर्राष्ट्रिय उसु महासंघबाट मान्यता प्राप्त नेपाल उसु महासंघ नै आधिकारिक संघ हो भन्दै खेलाडीहरुलाई विचलित नभई आफ्नो खेल जीवनलाई अघि बढाउन आग्रह गरे ।

यस्तै महासंघका महासचिव लामाले खेलाडीलाई विषेश प्रोत्साहनको लागि यस सम्मान कार्यक्रम आयोजना गरिएको भन्दै अबको मुख्य लक्ष्य आगामी विश्वकपलाई उपलब्धिमूलक रुपम सफल पार्नु रहेको बताए । जापान र अष्ट्रेलियामा हुने विश्वकपमा नेपालबाट छनोट भएका खेलाडीहरुलाई तयारीका लागि सक्दो प्रयास गरिरहेको समेत उनले बताए। लामाका अनुसार चाइना उसु एसोसिएसनसँग नेपाली खेलाडीलाई करिब ३ महिने विशेष प्रशिक्षणका लागि महासंघले पहल गरिरहेको छ।

त्यसैगरी पदक विजेता खेलाडीहरुको तर्फबाट बोल्दै अन्तर्राष्ट्रिय उसु खेलाडी दिपक हमालले महासंघले विश्वकपको तयारीका लागि विशेष प्रशिक्षण गर्न चीन पठाउने पहल गरिहेकोमा खुसी व्यक्त गर्दै जापान र अष्ट्रेलियामा हुने विश्वकपमा उत्कृष्ट प्रदर्शन गरि महासंघलाई नराश नबनाउने प्रतिवद्धता जाहेर गरे । उक्त सम्मान कार्यक्रको संचालन महासंघका तथा प्रशिक्षक निकेस श्रेष्ठले गरेका थिए । कार्यक्रममा उसुका महासंघका पदाधिकारी तथा उसुका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :