दसौं राष्ट्रिय खेलकुदमा कर्णालीले दुई अंकको स्वर्ण पदक जित्ने लक्ष्य लिएको छ: विश्वामित्र संज्याल, सदस्यसचिव

श्रीविक्रम भण्डारी

भौगोलिक रुपमा विकट भएपनि इच्छा शक्ति भयो भने जस्तोसुकै विकट स्थानमा पनि विकासको मूल फुटाउन सकिन्छ भन्ने पछिल्लो उदाहरण अहिले कर्णाली प्रदेश बनेको छ । मुलुकको मानचित्रमा संघियताको ढाँचा कोरिएपछि कर्णालीको हरेक क्षेत्रमा कायापटल हुने विश्वास गरिएको थियो । मुलुकको अस्थिर राजनीतिका कारण त्यसमा केहि कुठाराघात भएपनि खेलकुदका पूर्वाधार निर्माणमा भने कर्णाली प्रदेशले अन्य प्रदेशलाई मात गरिदिएको छ । प्रदेशको गौरव योजनाको रुपमा निर्माण भइरहेका यी खेलकुदका पूर्वाधार भविष्यमा राष्ट्रकै अत्याधुनिक र वैज्ञानिक पूर्वाधार बन्ने पक्का छ । कर्णाली प्रदेशमा समग्र खेलकुदको विकास र दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर निर्माण भइरहेका यी पूर्वाधार अहिले कर्णालीको शान समेत बनेका छन् । यी पूर्वाधारको निर्माण समयमै सम्पन्न गर्न र दसौं राष्ट्रिय खेलकुदलाई सफलताको मूर्तरुप दिन अहोरात्र खटिरहेका कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वामित्र संज्यालको जति प्रशंसा गरेपनि कमै हुन्छ । तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वास गरेर दिएको जिम्मेवारीलाई संज्यालले कुशलता पूर्वक निभाउँदै यतिबेला खरो रुपमा उत्रिएका छन् । उनै दृढ संकल्प बोकेर कर्णाली प्रदेशमा सव्य र भव्य रुपमा राष्ट्रिय खेलकुदको आयोजना गर्न दिन रात एउटै बनाएर खटिरहेका संज्यालसँग दसौं राष्ट्रिय खेलकुदको सेरोफेरोमा रहेर मेरोखेलका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले लिएको विशेष अन्तर्वार्ता :–

० कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समयमै बजेट आउने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ, त्यसको लागि कुनै पहलकदमी गर्नु भएको छ?
– आर्थिक वर्ष २०८१–८२ को बजेटमा नै संघिय सरकारले दसौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्छ। समयमा नै बजेट विनियोजन हुँदा खरिद प्रक्रियामा पारदर्शिता, व्यवस्थापकिय पक्षलाई चुस्त दुरुस्त बनाउने र हिजोका गल्तीलाई सच्याउने कुरामा निकै मद्दत पुग्छ । यदि यस्तो नभए भने विगतकै गल्ती कमजोरी दोहोरिने सम्भावना बढेर जान्छ । पहलकदमीको कुरा गर्दा हामीले सम्बन्धित निकायलाई यो बारेमा पटक पटक जानकारी गराउँदै आएका छौं ।

० बजेट समयमै नआए विगतका गल्ती कमजोरी दोहोरिने भन्नुभयो, आखिर तपाईंले के कुरालाई आकर्षित गर्न खोज्नु भएको हो ?
– यसमा कुरा स्पष्ट छ, यदि बजेट ढिलो आयो भने टेण्डर पुनः खोल्ने, खरिद प्रक्रियालाई बाधक देखाएर सोझै खरिद प्रक्रियालाई आकर्षण गर्ने, फास्ट ट्रयाकबाट जाने, अपारदर्शिता बढ्ने भएकोले त्यसपछि जनतामा शंका उत्पन्न हुन्छ । यदि जेठ १५ गते नै बजेट आएन र आश्वासन मात्र आयो भने त्यसमा कानुन संसोधन गर्ने गिरोह लागेको बुझे हुन्छ । जुन कुरा आठौं, नवौं राष्ट्रिय र १३ औं सागमा देखिसकेका छौं । त्यसपछि त्यस्ता झुण्डहरु राष्ट्रिय खेलकुदका नाममा खेतिपाती गर्ने र कमाई खाने भाँडो बनाउनतर्फ सक्रिय हुनेछन् ।

० राष्ट्रिय खेलकुद प्रतियोगिताको विगतका थुप्रै संस्करण पूर्वाधार अभावका कारणले अन्योलमा पर्दै लामो समयसम्म सर्दै आएका थिए, यो पटकको अवस्था कस्तो छ नी ?
– साह्रै राम्रो प्रश्न गर्नु भयो, म ठोकुवाका साथ भन्न सक्छु, दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाधार अभावका कारणले रोकिने, सार्नुपर्ने र तोकिएको समयमा नहुने कुनै कारण नै छैन। हामीले अहिलेको अवस्थासम्म ७० प्रतिशत पूर्वाधार निर्माणको कार्य सम्पन्न गरिसकेका छौं। बाँकी शतप्रतिशत कार्य असार मसान्तसम्म सक्ने योजना बनाएका छौं र कार्यपनि सोहि बमोजिम युद्धस्तरमा भइरहेको छ । मैले विगतका थुपै्र राष्ट्रिय खेलकुद प्रतियोगिताका संस्करणहरु विभिन्न शहरमा आयोजना भएको देखेको छु । ती संस्करणहरुमा प्रत्यक्षरुपमा संलग्न समेत भएको छु । त्यसैले मैले यी कुराहरु निकै नजिकबाट नियालेको र बुझेको छु । अहिले यहि कुराको प्रतिविम्ब कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन गइरहेको राष्ट्रिय खेलकुदमा पर्न नदिन विशेष तदारुकताका साथ लागेका छौं । दसौं राष्ट्रिय खेलकुदलाई भव्य र सव्य बनाउन विशेष रणनीति र प्राथमिकताका आधारमा कामहरु सञ्चालन भइरहेका छन्। जसको परिणाम मंसिर २ गते देखिने छ ।

० प्रायजसो राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यवस्थापन पक्ष निकै फितलो देखिदै आएको छ, दसौं राष्ट्रियमा व्यवस्थापन पक्षलाई सबल पार्न कस्तो रणनीति अख्तियार गर्नुभएको छ?
– राष्ट्रिय खेलकुद प्रतियोगिताको सबल पक्ष भनेकै व्यवस्थापन हो । त्यसैले नवौं राष्ट्रिय खेलकुदको व्यवस्थापन पक्षमा देखिएको कमिकमजोरीको पाटोलाई सच्याउने प्रयासमा हामी लागि परेका छौं । त्यसको लागि राष्ट्रिय खेलकुदमा आ–आफ्नो प्रदेशले खेल र खेलाडीको स्वामित्व लिनेगरि व्यवस्थापकिय रुपमा बाँडफाँड गरिने छ । यो प्रचलनको शुरुवात दसौं राष्ट्रियबाट हुनेछ भने हामी यसको उदाहरण बन्ने छौं । यस्तो हुँदा राष्ट्रिय खेलको महत्व अझ बढेर जाने हाम्रो विश्वास छ ।

० प्रदेशले नै खेल र खेलाडीको स्वामित्व लिनेगरि व्यवस्थापकिय रुपमा बाँडफाँड गरिने छ भन्नुभयो, यसको सरलीकरणको लागि कस्तो उपाय अवलम्बन गर्ने तयारीमा हुनुहुन्छ ?
– तपाईंलाई थाहा नै छ, पछिल्लो राष्ट्रिय खेलकुदमा पोशाक खरिद, यातायात, बसोबास, खानपीन र स्थानिय यातायातमा निकै विवाद भएको थियो । यहि कुरालाई दृष्टिगत गर्दै हामीले दसौं राष्ट्रियमा यो सम्पूर्ण जिम्मेवारी सम्बन्धित आयोजक प्रदेशलाई दिने सोच बनाएका छौं । यसरी खेल पोशाक र खेलाडीलाई सम्बन्धित प्रदेशले खेल आयोजना हुने स्थलसम्म लैजाने व्यवस्थापन खुद प्रदेशले नै गर्नुपर्ने छ । यसो गर्दा राष्ट्रिय खेलकुदमा प्रदेशको व्यवस्थापन, हैसियत, खेल क्षेत्रमा गरेको लगानी र सम्बन्धित प्रदेशको अपनत्व पनि झल्किने छ । जसले एक अर्कामा प्रतिस्पर्धी बनाउनुको साथै राष्ट्रिय खेलकुदको महत्व समेत बढ्ने छ । राष्ट्रिय खेलको महत्व बढ्नु भनेको नयाँ युवा खेलाडीहरुको उदय हुनु पनि हो ।

० सहभागिताको दृष्टिकोणले प्रायजसो हरेक राष्ट्रिय खेलकुदमा खेलहरुको संख्या वृद्धि भइरहेको इतिहास छ, दसौंमा पनि यहि इतिहास दोहोरिन्छ कि, अंकुश लगाउने सोचमा हुनुहुन्छ ?
– मेरो मनको प्रश्न गरिदिनु भएकोमा सर्वप्रथम धन्यवाद । खेल संख्याको विषयमा कुरा गर्दा हिजोको कालखण्डदेखि नवौं राष्ट्रियसम्म ३६ वटा खेलहरु समावेश भएको इतिहास छ । अहिले त्यसलाई फर्केर हेर्दा र गहिरिएर मूल्याङ्कन गर्दा खेलको संख्या वृद्धि भएपनि खेलको स्तर भने बढ्न सकेको छैन । त्यसैले अहिले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ मा व्यवस्था भए अनुसार एउटा प्रदेशमा खेल संघ दर्ता हुन कम्तिमा पाँचवटा जिल्लामा सम्बन्धित खेलको जिल्ला संघ गठन हुनुपर्ने र चार वटा प्रदेशमा दर्ता भएको खेल संघले मात्रै राष्ट्रिय संघको मान्यता पाउने व्यवस्था छ । सोहि व्यवस्थालाई टेकेर राष्ट्रिय खेलकुदमा खेलहरु समावेश हुन र मान्यता पाउन कम्तिमा पाँचवटा जिल्लाबाट अनिवार्य खेलाडी आएपछि मात्रै प्रदेश टीम छनौट हुने र त्यस्तैगरि चारवाट प्रदेशवाट खेलको टीम आएपछि मात्र राष्ट्रिय टोलीको मान्यता पाउने छ । यदि यो कानुनी ब्यवस्था राष्ट्रिय खेलकुद सञ्चालन समितिको निर्देशिकामा व्यवस्था गरियो भने यसले खेल संख्यालाई निश्चित दायरमा ल्याउनुको साथै तल्लोस्तरको खेलकुद विकास र विस्तार टेवा पुग्नेछ ।

० विगतका राष्ट्रिय खेलकुद प्रतियोगितामा निष्पक्षता नभएको र धाँधली भएको बारेमा खेलाडी र प्रशिक्षकले थुप्रै प्रश्न उठाएका थिए, पुनः यस्तो घटना दोहोरिन नदिन र दसौंलाई विवादरहित रुपमा सम्पन्न गर्न कस्तो रणनीति अपनाउने सोच बनाउनु भएको छ ?
– राष्ट्रिय खेलकुदमा निष्पक्षताको कुरा गर्दा सर्वप्रथम निर्णायकहरुलाई निपूर्णताको तालिम दिनुपर्छ । यो कार्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तत्काल शुरु गर्नुपर्छ । यसमा निर्णायकहरुको आचार संहिता तयारगरि कडाईका साथ लागु गर्नुपर्छ । भएन भने त्यसको निष्पक्ष रुपमा अनुगमन टोली गठन गर्नुपर्छ, विगतका गल्तीलाई दोहोरिन दिनुहुदैन। विगतका राष्ट्रिय खेलमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यस्ता कमिकमजोरी भएको र त्यसका बारेमा स्वयम खेलाडी, प्रशिक्षक र पदाधिकारी समेतले विरोध गरेका थिए । त्यो अहिले पनि विवादास्पक अवस्थामै छ ।

० राष्ट्रिय खेलकुद पनि राजनीतिबाट अछुतो छैन, यो पटक कर्णाली प्रदेशको राजनीति पनि निकै तरल अवस्थामा छ, यसको प्रभाव राष्ट्रिय खेलकुदमा कत्तिको पर्ने देख्नुहुन्छ ?
– पहिलो कुरा त खेलकुदमा राजनीति गर्नु पनि हुन्न र हुन पनि दिनुहुन्न भन्ने मेरो मान्यता रहेको छ । त्यसमा म कुनै राजनीति गरेर अथवा नेताको ब्याक ग्राउण्डबाट प्रदेशको सदस्यसचिव पनि भएको होइन । मलाई नितान्त तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा खेलकुदको विकास गर्नको लागि योग्य व्यक्ति ठानेर नियुक्ति गर्नु भएको थियो। उहाँले मलाई कर्णालीमा खेलकुदका पूर्वाधारको कमि छ, पूर्वाधार नभएका कारण खेलकुदका गतिविधि हुन सकेका छैनन् । राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्षमता पुगेको छैन भनेर नै यसकोे हल गर्न र समयमै व्यवस्थापन तथा निर्माण गर्ने जिम्मेवारी मलाई प्रदान गर्नुभएको थियो । सोहि जिम्मेवारी अनुसार मैले काम गरिरहेको छु । यदि दसौं राष्ट्रिय खेलकुद कुनै कारण नहुने वा सर्ने अवस्थामा पुग्यो भने त्यो राजनीतिक चलखेल हो भन्ने मेलै बुझ्छु। त्यसैले यस्ता कुरामा आम कर्णालीबासी, स्थानिय सरकार, प्रदेश सरकार एक ठाउँमा उभिएर यसको समाधानको लागि एकजुट हुनुपर्छ ।

० राष्ट्रिय खेलकुदको इतिहास पल्टाउँदा कर्णाली प्रदेश जहिले पनि पदक तालिको पुछारमा रहदै आएको छ । कर्णालीको प्रदर्शनमा सुधार ल्याउन यो पटक कस्ता किसिमका कार्यक्रमहरु सञ्चालनमा ल्याउनु भएको छ ?
– मैले कर्णाली प्रदेशले हिजोका राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको उपलब्धि र कर्णालीका वस्तुगत अवस्थालाई निकै नजिकबाट आत्मसात गरेको छु । जसको परिणाम स्वरुप कर्णाली प्रदेश सरकारले नै पाँच ‘प’ को निती अबलम्वन गरेको छ । ती पाँच ‘प’ मा पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिभा रहेका छन् । यी पाँच ‘प’ लाई आधारशिला बनाई माथि उल्लेख गरिएका खेलकुदका विभिन्न कार्यक्रम अघि बढाइएको अवस्था छ । जसमा पूर्वाधारतर्फ प्रदेशस्तरमा सुविधा सम्पन्न रङ्गशाला, जिल्ला–जिल्लामा खेलकुदका पूर्वाधारहरु जस्तै क्रिकेट, हक्की र रग्बी खेलका मैदानहरु निर्माण भइसकेका छन्।

त्यस्तै प्रशिक्षणतर्फ पदक प्राप्त गर्न सक्ने सम्बन्धित खेलका खेलाडीहरुलाई विज्ञ प्रशिक्षक मार्फत प्रशिक्षण दिने व्यवस्था मिलाएका छौं । विभिन्न जिल्ला तथा प्रदेशस्तरमा खेलकुदका प्रतियोगिता आयोजना गर्ने र अन्य प्रदेशले आयोजना गर्ने प्रतियोगितामा भाग लिने योजना बनाई कार्यन्वयनमा ल्याएका छौं । यसैगरि प्रोत्साहनका लागि खेलकुदको क्षेत्रमा लागेका खेलाडीलाई खेलकुदमा हाम्रो भविष्य राम्रो छ भन्ने अनुभुति हुनेगरि प्रोत्साहनका लागि पुरस्कारका कार्यक्रमहरु गर्दै आएका छौं । जसमा दसौं राष्ट्रिय खेलकुदका लागि अन्तिम छनौटमा परेका खेलाडीहरुलाई मासिक पाँच हजारका दरले भत्ता दिने निर्णय गरेका छौं ।

त्यस्तै प्रतिभा छनौटको अन्तिम ‘प’ अन्तर्गत राष्ट्रपति रनिङ शिल्डलाई आधार बनाउँदै यसमा सुधारका कार्यक्रमहरुलाई अघि बढाएका छौं । जसको परिणाम हो, हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा कर्णाली प्रदेशले तेस्रो स्थान हासिल गर्नु । अब हामीले यसलाई अँझै व्यवस्थित गरि आगामी दिनमा कार्यक्रमहरुलाई थप सुधारका साथ अगाडि बढाउनु पर्ने देखिएको छ।

० यसपाली कर्णालीले कस्तो प्रदर्शन गर्ने अपेक्षा राख्नु भएको छ । के घरेलु मैदानमा हुने राष्ट्रिय प्रतियोगितामा कर्णालीले कमाल देखाउने कुरामा विश्वस्त हुनुहुन्छ?
– दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा म विश्वस्त छु । यो पटक दसौं राष्ट्रियमा कर्णालीले दुई अङ्कको स्वर्ण पदक जित्ने लक्ष्य बनाएको छ । उक्त लक्ष्य हासिल गर्न हामीले सोहि किसिमको खेलाडीलाई प्रशिक्षण र सुविधाको व्यवस्था गरेका छौं । मलाई विश्वास छ, दसौं राष्ट्रियमा कर्णालीले पुरानो इतिहासलाई बिर्साउने खालको उत्कृष्ट प्रदर्शन गर्नेछ । यहि कुरालाई दृष्टिगत गर्दै हामीले दसौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमशः दुई लाख, एक लाख पचार हजार र पचार हजारका दरले नगद पुरस्कार वितरण गरिसकेका छौं । साथै आगामी संस्करणमा यो पुरस्कार राशीमा वृद्धि गर्ने योजना समेत बनाएका छौं ।

तस्बीर : विवश कुमार सेजुवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :