सुनिल क्षेत्रीको जन्म भारतको आन्द्रप्रदेशको सिकन्दरावादमा ३ अगस्त १९८४ मा भएको थियो । बाल्यकालदेखि नै निकै चुलबुले स्वभावका सुनिललाई फुटबल विरासत मिलेको थियो। सुनिलका बुवा खड्ग क्षेत्री भारतीय सेनाबाट फुटबल खेल्दथे भने आमा सुनिता क्षेत्री नेपाली महिला राष्ट्रिय फुटबल टोलीकि प्रमुख सदस्य थिइन् ।
पारिवारिक परिवेश नै होला बाल्यकालदेखि नै सुनिल फुटबलमा ज्यादै सौखिन थिए । बुवा खड्कको चाहना नै थियो कि भविष्यमा गएर सुनिल व्यावसायिक फुटबलर बनोस् । यसर्थमा कि उनी फुटबलका राम्रा खेलाडी भएपनि व्यावसायिक फुटबलर भने बन्न असफल भएका थिए । त्यसैले उनी सुनिललाई उत्कृष्ट व्यावसायिक फुटबल खेलाडीको रुपमा देख्न चाहन्थे ।
सुनिलले फुटबलको कखग दिल्लीबाट शुरु गरेका थिए । सन् २००१–०२ मा सुनिलले दिल्लीको सिटी क्लबबाट खेल्न थालेपछि उनको चर्चा हुन थालेको थियो । त्यसपछि सन् २००२ मा नै उनी भारतको चर्चित फुटबल क्लब मोहन बगानको सम्पर्कमा आएका थिए । सुनिलले मोहन बगानको तर्फबाट २००५ सम्म फुटबल खेलेका थिए । सो अवधिमा उनले खेलेका १८ खेलमा ८ गोल गर्न सफल भएका थिए । यसपछि उनी भारतको अण्डर २० फुटबल टोलीको सदस्य बन्न पुगे ।
मात्र २० वर्षको उमेरमा फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण सुनिल भारतको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । सुनिलले सन् २००५ मा पाकिस्तानको क्वेटा शहरमा आयोजना भएको पाकिस्तानविरुद्धको अन्तराष्ट्रिय फुटबल खेलमा डेब्यू गरेका थिए । छोरा सुनिलले २० बर्षकै उमेरमा राष्ट्रिय टोलीबाट डेब्यू गरेपछि उनका बुवाले आफ्नो सपना पुरा भएको महसुस गरेका थिए ।
भारतीय राष्ट्रिय फुटबल टोलीमा परेपछि आफ्नो प्रदर्शनमा निकै निखार ल्याउन सफल सुनिलले त्यसपछि एक पछि अर्को अन्तर्राष्ट्रिय फुटबल खेलमा उत्कृष्ट प्रदर्शन गरेर भारतीय फुटबलमा आफ्नो क्रेज बनाउन सफल भएका थिए । त्यसपछि सन् २०११ मा एशिया कपका दौरान तत्कालिन भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान भाइचुङ भुटियाले सक्रिय फुटबल जीवनबाट सन्यासको घोषणा गरेपछि कोच बोब हाटनले सुनिललाई कप्तानीको जिम्मेवारी सुम्पेका थिए ।
सन् २०११ देखि भारतीय राष्ट्रिय फुटबल टोलीको कप्तान बनेका सुनिल क्षेत्री अहिले पनि भारतीय टोलीको कप्तानी सम्हालिरहेका छन् । यो अवधिमा सुनिलले आफुलाई प्रभावशाली खेलाडी बनाउनुका साथै भारतीय फुटबललाई दक्षिण एशिया र एशियाली मुलुकको स्तरमा उकास्न सफल भए ।
भारतीय राष्ट्रिय फुटबल टोलीबाट दुई दशक फुटबल खेलेका सुनिलले भारतको तर्फबाट १५० अन्तर्राष्ट्रिय फुटबल खेल्दै ९४ गोल समेत गर्न सफल भएका छन् । सुनिल आफ्नो मुलुकको लागि सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी हुन् । उनी विश्वमा अन्तर्राष्ट्रिय गोल गर्ने सूचीमा क्रिस्टीयानो रोनाल्डो र लियोनस मेस्सी पछि तेस्रो खेलाडी समेत हुन् ।
उनको यहि प्रतिभाको सम्मान गर्दै सन् २०२२ मा कतार विश्वकपमा फुटबलको सर्वोच्च निकाय फिफाले सुनिलको वृतचित्र समेत बनाएको थियो । उनलाई अन्तर्राष्ट्रियस्तरमा सर्वाधिक गोल गर्ने रोनाल्डो र मेस्सीको समकक्षीको रुपमा समेत फिफाले सम्मान दिएको थियो । अहिले भारतीय फुटबलमा नयाँ नयाँ युवा खेलाडीहरुको उत्पादन भएपनि भाइचुङ र सुनिल जस्ता स्टार खेलाडी भने जन्मिन सकेका छैनन् ।
अहिले उनै नेपाली मूलका चर्चित भारतीय राष्ट्रिय फुटबल टीमका कप्तान सुनिल क्षेत्रीले ३९ वर्षको उमेरमा सन्यासको घोषणा गरेका छन् । सुनिलले आउँदो ६ जुनमा कुवेतविरुद्ध हुने विश्वकप क्वालिफाइ खेलपछि सन्यास लिने घोषणा गरेका छन् ।