नेपाल सरकारले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ६० करोड बजेट विनियोजन गरेपछि कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद तोकिएकै अर्थात् निर्धारित समयमै हुने पक्का भएको छ । गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको समापनसँगै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो । आर्थिक वर्ष २०८१–८२ को बजेट भाषणमा सरकारले दसौं राष्ट्रिय खेलकुदलाई विशेष प्राथमिकतामा राख्दै ६० करोड बजेट विनियोजन गरेपछि अहिले कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने कुरामा लालमोहर लागेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनु अगावै कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुदको तयारी शुभारम्भ गरेको थियो । कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेशको गौरवको आयोजना अन्तर्गत खेलकुदका भौतिक पूर्वाधारहरु निर्माण शुरु गरेको थियो । समग्रमा भन्नुपर्दा अहिले ति पूर्वाधारको निर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भईसकेको छ भने मात्र फिनिसिङ टच दिन बाँकी छ । यस्तो अवस्थामा सरकारले दसौं राष्ट्रियको आयोजनाका लागि बजेट सुनिश्चित गरेपछि अहिले कर्णालीमा वसन्तको बहार आगमन भएको महसुस गरिएको छ । परिणाम, पूर्वाधारलाई अन्तिमरुप दिदै दोहोरो अङ्कको स्वर्ण पदक जित्ने लक्ष्यसहित कर्णाली प्रदेश निर्धक्कका साथ अगाडि बढेको छ ।
कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधारको निर्माण गरेपनि दसौं राष्ट्रिय खेलकुदलाई जलप लगाउने कार्य संघीय सरकारको हातमा थियो । यहि सुखद घडिको पर्खाईमा रहेको कर्णाली प्रदेशको मुहार त्यतिबेला चम्कियो, जतिबेला सरकारले दसौं राष्ट्रिय खेलकुदको आयोजनामा लालमोहर लगायो । राष्ट्रिय खेलकुदकै इतिहासमा उत्कृष्ट राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने प्रतिवद्धता जाहेर गरेको कर्णाली प्रदेशका लागि अब दसौं राष्ट्रिय खेलकुद अवसर र चुनौति दुवै बन्न पुगेको छ । यतिबेला दसौंको लागि पूर्वाधार र बजेटको बन्दोबस्त भइसक्दा अब व्यवस्थापन पक्ष कस्तो होला र रहला? त्यो चाहिँ यतिबेला मूल प्रश्न बनेर खडा भएको छ । यस्तोमा कर्णाली प्रदेशले आफुलाई कसरी खरो रुपमा प्रस्तुत गर्छ? त्यो प्रतिक्षा गर्नु नै राम्रो होला ।
कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौं संस्करण आयोजना हुदैछ । दसौं राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेत र अन्य केहि जिल्लामा आयोजना हुदैछ । राजधानी सुर्खेत लगायत अन्य जिल्लामा निर्माण भएका खेलकुद पूर्वाधारहरु दसौंको स्वागतको लागि ब्यग्र देखिएका छन् । समय सापेक्ष अर्थात् आधुनिकतासँगै वैज्ञानिकतालाई समेत दृष्टिगतगरि दसौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि निर्माण गरिएका ती पूर्वाधार आफैमा प्रशंसा गर्न लायकका छन् । यी पूर्वाधारमा राष्ट्रिय खेलकुदको आयोजना हुँदा अन्तर्राष्ट्रिय खेलकुदको झल्को अवश्य देख्न सकिने छ । राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय खेलकुद प्रतियोगितामा यस भन्दाअघि कहिल्यै देख्न र गर्न नपाएको नौंलो र सुखद अनुभव गर्न पाउने छन् । दसौंको लागि जुन तयारी कर्णाली प्रदेशले गरेको छ, त्यो आफैमा अकल्पनिय छ अर्थात् कल्पना भन्दा बाहिरको कुरा छ । दसौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीले त्यो अनुभव गर्न पाउने पक्का छ ।
यतिबेला कर्णाली प्रदेशको समग्र विकासमा दसौं राष्ट्रिय खेलकुद ‘टर्निङ प्वाइन्ट’ बन्ने प्रस्टरुपमा देखिएको छ । यदि कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुदलाई सफलताको मूर्तरुप दिन सके दसौं राष्ट्रिय खेलकुद अहिलेसम्मकै भव्य र सभ्य बन्ने कुरामा सायदै कसैको दुईमत होला । त्यसपछि राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने अन्य प्रदेशका लागि चुनौंति मात्र हुने छैन, यो भन्दा सभ्य र भव्य गरेर देखाउनु पर्ने बाध्यता हुनेछ । यो पटक कर्णाली प्रदेशले राष्ट्रिय खेलकुदको आवरणमा अहिलेसम्म भएका राष्ट्रिय प्रतियोगिता कसरी भएका थिए र कसरी गर्नु पर्थ्यो । त्यसको स्मरण मात्र गराउने छैन, हिजो भएका राष्ट्रिय प्रतियोगिताहरु झारा टार्ने रुपमा मात्रै भएको यथार्थतालाई समेत छताछुल्ल पारिदिने सम्भावना उत्तिकै बलियो रुपमा देखिएको छ ।
खेलकुदको मेरुडण्डको रुपमा रहेको राष्ट्रिय प्रतियोगिताको आयोजना हुँदा त्यसले आफ्नो औचित्य पुस्टि गर्न सक्नुपर्छ । युवा हिरो जन्माउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय प्रतियोगिता यदि त्यसमा असफल भयो भने त्यो औचित्यहिन र अर्थहिन हुने पक्का छ । राष्ट्रिय प्रतियोगिताका हालसम्मका संस्करणमा सधैं पुछारमा रहदै आएको कर्णाली प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै पाठ सिकाउन सक्यो भने दसौं राष्ट्रियको सफलतासँगै कर्णाली प्रदेशले ठूलो छलाङ्ग मार्ने सम्भावनालाई नकार्न सकिदैन । यो सफलताले कर्णाली प्रदेशको काँचुली मात्रै फेरिने छैन, समग्ररुपमा विकासका ढोकाहरु समेत खोलिदिने छ ।