काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङले प्रथम बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । सर्वाधिक ७ स्वर्ण जित्दै लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।
एसकेबीसी तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्णसहित बालाजु तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको आयोजक एसकेबीसीले ३ स्वर्ण प्राप्त गर्यो ।
पुरुषमा एसकेबीसीका करण धोली तथा महिलामा लैनचौरकी आकृति गुरुङ उत्कृष्ट खेलाडी घोषित भएको आयोजक एसकेबीसीका प्रमुखि रञ्जितबहादुर डगौराले जनाएका छन् । उत्कृष्टद्वयले जनही ५ हजार नगद पुरस्कार हात पारे । टोखा नगरपालिकास्थित श्री समाजको भवनमा भएको प्रतियोगितामा सुवास श्रेष्ठ उत्कृष्ट निर्णायक चुनिए ।
दुईदिने प्रतियोगितामा बागमती प्रदेशका ३५ डोजाङका करिब ५ सय खेलाडीको सहभागिता रहेको प्रमुख डगौराले जनाएका छन् । ग्योरोगीमा २८ र पुम्सेमा ४ गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार हात पारे ।