टी-२० विश्वकप क्रिकेट २०२४ मा नेपाली क्रिकेट प्रेमी दर्शकहरुको जुन महासागर अमेरिकामा उर्लियो त्यसले अहिले विश्वलाई चकित पारी दिएको छ । डालसको ग्रेन्ड प्रेयरी क्रिकेट स्टेडियममा नेपाल र नेदरल्याण्ड्सबीच भएको खेलमा नेपाली टोलीको हौसला बढाउन जसरी हजारौं दर्शक उपस्थित भए त्यसले नेपालमा क्रिकेट खेल कति लोकप्रिय छ, त्यसको उजागर गरिदिएको छ । विदेशी भूमिमा समेत नेपाली क्रिकेट टोलीका समर्थकहरुको यस्तो बाक्लो उपस्थितिले अहिले टी-२० विश्वकप क्रिकेटलाई क्रिकेटमय बनाईदिएको छ । त्यसैले भारतीय एक सञ्चार माध्यमले क्रिकेटमा नेपाली दर्शकहरुको यस्तो क्रेज देखेर भारत र पाकिस्तानबीचको खेललाई बिर्साईदिएको टीप्पणी गरेका छन् ।
१५ हजार दर्शक क्षमता रहेको डालसको ग्रेन्ड प्रेयरी क्रिकेट स्टेडियममा नेपाल र नेदरल्याण्ड्सको खेल हुँदा ९० प्रतिशतभन्दा बढी नेपाली दर्शकहरु स्टेडियममा उपस्थित थिए । त्यो दृष्य देख्दा लाग्दथ्यो, यो खेल अमेरिका नभई कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भइरहेको छ । त्यो दिन नेपाली क्रिकेट टोलीको प्रोत्साहनको लागि संयुक्त राज्य अमेरिकाका विभिन्न सिटीबाट लामो दुरी पार गरेर दर्शकहरु डालस पुगेका थिए । ति दर्शकहरुमा क्रिकेटप्रति जुन उत्साह, उमङ्ग र समर्पणको भावना थियो, त्यो दृष्य देखेर विश्वका चर्चित क्रिकेट खेलाडी दङ्ग परेका थिए । त्यसैले कमेन्टटरहरु भन्दै थिए– ‘यो कल्पना भन्दा बाहिरको कुरा हो, वाह । यो क्रिकेटको लागि ज्यादै खुशीको कुरा हो । नेपाली दर्शकहरुको यो उपस्थिति तारिफयोग्य र प्रशंसा गर्न लायक छ।’
नेपाली राष्ट्रिय क्रिकेटको जर्सीमा सजिएका हजारौं क्रिकेट प्रेमीको उपस्थितिले जब डालसको ग्रेन्ड प्रेयरी क्रिकेट स्टेडियम नीलो समुद्रमा परिणत भयो त्यो दृष्य आफैमा निकै सुन्दर देखिन्थ्यो । त्यसमाथि विश्वको एक मात्र त्रिणोणात्मक नेपालको राष्ट्रिय झण्डा दर्शकहरुले स्टेडियममा फरफराउँदा त्यसले बेग्लै शान र सौन्दर्यको झल्को दिइरहेको थियो । अँझ नेपाली दर्शकहरुले नेपाल, नेपाल, नेपाल, भन्दै चिच्याउदा र कराउँदा त्यसले आम नेपालीको छाती चौडा भएको महसुस गर्न सकिन्थ्यो। अमेरिका र वेष्ट इन्डिजमा जारी टी-२० विश्वकपमा यस्तो सुन्दर मनमोहक दृष्य देखिदा आम नेपाली मात्रै खुशीले गद्गद् भएका थिएनन्, विदेशीहरु समेत यसको वर्णन र तारिफ गर्न चुकेनन् अर्थात् पछि परेनन् । उनीहरु भन्दै थिए–‘अद्भूत्, अद्भूत्, अद्भूत् । विश्वकपमा नेपाली दर्शकहरुले रौनक नै ल्याईदिए ।

नेपाली क्रिकेट टोलीप्रति दर्शकहरुले अमेरिकामा देखाएको यो अपार माया आफैमा अविस्मरणीय छ । नेपाली खेलाडीले चौका, छक्काको प्रहार गर्दा दर्शकहरुले जसरी उत्साह पूर्वक तालि बजाएर, नाचेर, गाएर साथ दिएका थिए, त्यस्तै विकेट झर्दा समेत नेपाली खेलाडीलाई सान्त्वना र साहनुभुति दिन पछि परेका थिएनन् । यो दृष्य आफैमा अलौकिक थियो, तर नेपाली टोलीले यदि नेदरल्याण्ड्सलाई पराजित गर्न सकेको भए त्यो सुनमा सुगन्ध बन्न सक्थ्यो। र पनि, स्लो पीचमा नेपाली खेलाडीहरुले जसरी गोर्खाली भएर खेले र नेदरल्याण्ड्सलाई सहजै जित्न दिएनन् त्यो भने नेपाली टोलीको तारिफ योग्य पक्ष मात्र नभई यादगार पाटो समेत बन्न पुग्यो ।
दोश्रो पटक टि-२० विश्वकपमा सहभागिता जनाइरहेको नेपालले पहिलो खेलमा ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि बलिङतर्फ राम्रै लडाई लडेर नेदरल्याण्ड्सलाई आछुआछु नै पारेको थियो । यदि पहिलो खेलमा नेपालले फिल्डिङमा सोचे बमोजिमको प्रदर्शन गर्न सकेको भए १०६ रनको झिनो लक्ष्य पनि नेदरल्याण्ड्सको लागि ठूलो पहाड बन्न सक्थ्यो । जसमा नेपाल चुक्यो । दर्शकहरुको अपेक्षामा समेत यसले ठूलो कुठाराघात गरिदियो । आशा होइन, विश्वास गरौं, यो विश्वकपमा नेपालले उलटफेर गर्न सकोस् । जय नेपाल !