प्रधानमन्त्री एनभिए भलिबलः महिलातर्फको उपाधिका लागि एभरेस्ट र पुलिस भिड्ने

काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फको उपाधिका लागि एभरेस्ट भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परषिद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न लिग चरणको अन्तिम तथा दिनको दोश्रो खेलमा एभरेस्टले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको छ ।

एभरेस्टले पुलिसलाई क्रमशः २५-२०, २४-२६, २५-२० र २५-१९ ले पराजित गरेको हो । यससँगै एभरेस्ट लिग चरणमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको छ । लिग चरणको पाँच वटै खेल जितेको एभरेस्टले १४ अंकसहित शीर्ष स्थानमा रहेर फाइनल खेल्ने भएको हो ।

यता एभरेस्टसँगको हारका बाबजुद पुलिसले पनि लिग चरणमा दोश्रो स्थानमा रहँदै फाइनल खेल्ने निश्चित भएको छ । पाँच खेलबाट ११ अंक जोड्दै दोश्रो स्थानमा रहेर पुलिसले फाइनल खेल्ने पक्का भएको हो ।

यसअघि आजको पहिलो खेलमा महिलातर्फ नै विभागीय डर्बीमा नेपाल एपीएपले त्रिभुवन आर्मी क्लबलाई ५-१९, २५-१० र २५-१८ गरि ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेश्रो हुने टोलीले रु. ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार, उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही रु. २०-२० हजार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :