काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब औठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न दिनको पाँचौं खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल फाइनलमा पुगेको हो ।
आर्मीविरुद्ध २५-१७, २५-१५ र २५-२१ ले जित निकाल्दै फाइनलमा पुगेको हेल्प नेपालले उपाधिका लागि गण्डकी प्रदेशसँग खेल्ने छ । हेल्प नेपालको यो छैठौं जित हो । आजको जितसँगै ७ खेलबाट १९ अंक जोडेको हेल्प नेपालले लिग चरणको दोश्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको हो ।

लगातार तेश्रो हार व्यहोरेको आर्मीले समान खेलबाट १२ अंक जोडेको छ । यसअघि आजको चौंथो खेलमा पुरुषतर्फ नै विभागीय टोली नेपाल एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई २५-१६, २५-२१ र २५-२२ गरि ३-० को झोसो सेटमा पराजित गरेको थियो । तेस्रो जितसँगै एपीएफले ७ खेलमा १० अंक जोड्दा पराजित सुदूरपश्चिमले समान खेलबाट ६ अंक जोड्यो ।
यस्तै शुक्रबारको तेश्रो खेलमा कोशी प्रदेशलाई २३-२५, २५-१२, १२-२५, २५-१८ र १६-१४ गरि ३-२ को सेटमा पराजित गर्दै बूढानीलकण्ठ भलिबल क्लबले पहिलो जित हासिल गरेको थियो । पहिलो जितसँगै बूढानीलकण्ठले ७ खेलबाट २ अंक जोड्दा लिग चरणको ७ वटै खेलमा पराजित कोशी प्रदेश अंक विहीन रहँदै प्रतियोगिताबाट बाहिरीएको छ ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ शुक्रबार नै सकिदै छ । अब महिला र पुरुष दुवैतर्फ फाइनल र तेश्रो स्थानको खेल शनिबार हुनेछन् ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेश्रो हुने टोलीले रु. ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार, उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही रु. २०-२० हजार प्राप्त गर्ने छन् ।
यो पनि पढ्नुहोस्: प्रधानमन्त्री एनभिए भलिबलः महिलातर्फको उपाधिका लागि एभरेस्ट र पुलिस भिड्ने