विश्वविद्यालय खेलकुद संघ नेपालद्वारा बास्केटबल र उसु खेलाडीको बिदाई

काठमाडौं । विश्वविद्यालय खेलकुद संघ, नेपाल (उसान) ले चीनमा आयोजना हुन गइरहेको बास्केटबल च्याम्पियनसिप र उसु च्यापियनसिपमा सहभागीता जनाउने आठ जना खेलाडीलाई शुक्रबार एक कार्यक्रमकाबीच बिदाई गरेको छ ।

उक्त च्याम्पियनसिपमा सहभागी हुने दुवै टोलीका खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपाल बास्केटबल महासंघका अध्यक्ष भीम गुरुङ्ग र नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरीङ लामाले बिदाई गरेका थिए ।

चीनको जुहानसनमा जुन ९ देखि १४ सम्म आयोजना हुन गईरहेको छैठौं युनिभर्सिटी थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपमा नेपालका चार जना पुरुष खेलाडीको सहभागिता रहने छ ।

त्यस्तै जुन १७ देखि २३ सम्म चीनको हरबीनमा सञ्चालन हुने पहिलो एशियन युनिभर्सिटी उसु च्याम्पियनसिपमा उसुका दुई महिला र दुई पुरुष गरि चार जना खेलाडीको सहभागिता रहने उसानका महासचिव पूर्णसिंह बोहराले बिदाई कार्यक्रममा जानकारी गराएका थिए ।

छैठौं युनिभर्सिटी थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपमा नेपालको तर्फबाट निकेश मगर रखेल, मनिष केसी, श्रेयशबहादुर शाह र सुदीप क्षेत्री पौडेलले सहभागिता जनाउने छन् । त्यस्तै प्रशिक्षकको रुपमा शुशिल गुरुङ्ग रहेका छन् ।

यसैगरी उसुतर्फ निमा घर्ति मगर, जुनु स्याङ्गबो लामा, विजय सिञ्जाली र सुनिल शिरिष मगरको सहभागिता रहनेछ भने उसु टोलीको प्रशिक्षकमा निकेश श्रेष्ठ रहेका छन्।

कार्यक्रममा उसानका महासचिव बोहरा लगायत उपस्थित प्रमुख अथिति र अतिथीहरुले सहभागिता जनाउने दुवै खेलका खेलाडीलाई जितको लागि शुभकामना दिएका थिए । सो अवसरमा च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडीहरुलाई उसानले आफ्नो लोगो अंकित जर्सी समेत प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :