हेल्प नेपाल र पुलिसलाई आठौं प्रधानमन्त्री एनभिए भलिबल लिगको उपाधि

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको उपाधि जितेको छ । हेल्प नेपालले प्रतियोगिता अन्तर्गत पुरुष र पुलिसले महिलातर्फको उपाधि जितेको हो ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (रोखप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेत हेल्प नेपालले गण्डकी प्रदेशलाई २५-२२, २०-२५, २५-२० र २५-२० गरि ३-१ को सेटमा पराजित गर्यो। पुरुषतर्फ शनिबार नै भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-२ सेटमा हराउँदै नेपाल पुलिस क्लब पुरुषमा तेश्रो बन्यो ।

यस्तै महिलातर्फको फाइनलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई २१-२५, २३-२५, २५-२०, २५-२० र १२-१५ गरि ३-२ को सेटमा हराउँदै उपाधि जित्यो । आज नै भएको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै महिलातर्फ तेश्रो भयो ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेश्रो भएको टोलीले क्रमश्ः रु.८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार, उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही रु. २०-२० हजार प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा जेठ १९ गतेदेखि शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली सहभागी थिए। जसको लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फका १५ खेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :