काठमाडौं । च्याम्पियन नेपाल पुलिस क्लबकी उषा भण्डारी र हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी खेलाडी मुबासर राजा वाटो आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा उषा महिला र मुबासर पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
दुवै खेलाडीले आ-आफ्नो टोली प्रतियोगिताको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण भुमिका निभाएका थिए । सर्वोत्कृट खेलाडीको ट्रफीसहित उनीहरु दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै महिलातर्फ विधागतमा उपविजेता एभरेस्टकी केपी अनुश्री उत्कृष्ट स्पाइकर, पुलसकी कमला पुन उत्कृष्ट सेटर, एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट सर्भर, एभरेस्टकी सूर्या उत्कृष्ट ब्लकर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो र पुलिसकै रुपेशकुमार विष्ट उत्कृष्ट घोषित भए ।
यसैगरी पुरुषतर्फ गण्डकीका सन्तोष उत्कृष्ट स्पाइकर, हेल्प नेपालका अदनान खान उत्कृष्ट सेटर, गण्डकीका रमन कुमार उत्कृष्ट सर्भर, पुलिसका सफल विक उत्कृष्ट ब्लकर, हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट लिबेरो र हेल्प नेपालकै उत्सव खड्का उत्कृष्ट प्रशिक्षक चुनिए । दुवैतर्फको विधागत उत्कृष्टले ट्रफीसहित जनही २० हजार रुपैयाँ प्राप्त गरे ।