अन्तर्राष्ट्रिय प्रतियोगितालाई सहज ढङ्गबाट नलिउ

रमेश खनाल (खेलकुद मनोविज्ञ)

एक पछि अर्को खेल हार्नु, एक ठूलो समस्या हो । कहिले जित्नु, कहिले हार्नु चल्दछ । तर एकनास हारिरहनु एक समस्या हो । मैदानमा खेल्ने खेलाडीहरुले राष्ट्रको प्रतिनिधित्व गरिरहेका हुन्छन । मैदानमा खेलाडी होइन नेपाल…नेपाल मात्र हुन्छ । तसर्थ यो राष्ट्रको इज्जतलाई जोगाउन सवैले प्रयास गर्नु पर्छ ।

कुनै पनि ठूलो अन्तर्राष्ट्रिय म्याच खेल्न जाँदा हाम्रो प्रयास ठूलो हुनुपर्छ । दस पन्ध्र दिनको प्रशिक्षणले पुग्दैन । खासगरि विपक्षी टोली बलियो छ भन्ने थाहा पाएपछि हामीले पनि दह्रो किसिमले तयारी गर्नु पर्छ ।

अव तपाई भन्नु होला हाम्रा खेलाडीहरुले १५ दिन मरेर प्रशिक्षण गरेकै हुन तर उनीहरुको अगाडि हामी निरह साबित हुन पुग्यौं । आखिर किन निरह साबित भयौं त ? सरसर्ति हेर्दा हामी निरह हुने केहि कारणहरु (अनुमानित) यस प्रकार रहेका छन्।

– हाम्रो प्रतिद्वन्दीको स्तर हाम्रो भन्दा धेरै माथिको छ भने ।
– खेलाडीहरुले पहिले देखि नै हार्छौं भन्ने मानसिकता बोकेर मैदानमा उत्रिएमा ।
– खेलाडीहरुले मानसिक रुपबाट नै हाम्रो प्रशिक्षण अवधि थोरै भयो, जसले गर्दा हामीले तयार गर्न सकेनौं भने ।
– खेलाडीहरुले अभ्यास गर्ने मैदानलाई अनौंठो ठाने भने ।
– खेलाडीहरुको शारिरीक रुपबाट स्वास्थ्य भएनन् भने ।
– खेलाडीहरुलाई विपक्षी टीमको वारे राम्रोसँग जानकारी गराइएन भने ।
– खेलाडीहरुलाई विपक्षी टीमको खेल रणनीतिको बारे ज्ञान दिन सकिएन भने खेलाडीहरुको समन्वय र तालमेल बिग्रन सक्छ । जसका कारण पराजय हुन्छ ।
– खेलाडीहरुको रेलिशन (सम्वन्ध) प्रशिक्षकसँग सुमधुर भएन भने उनीहरु टेन्सनमा खेल्नु पर्ने हुन्छ ।

अतः खेलाडीहरुलाई दस पन्ध्र दिनको तालिम दिएर ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउनु भन्दा नपठाउनु नै वेस हुन्छ । यदि पठाउनु पर्छ भने दीर्घकालिन प्रशिक्षण, म्याच एक्सपोजर गरेर मात्र भाग लिन जानु पर्छ । ठूला राष्ट्रहरुसँग खेलाउनु पर्छ । उनीहरुसँग हारेपनि अनुभव बटुल्न सकिन्छ । जुन कुरो दीर्घकालमा फाइदा नै हुन्छ। अतः अन्तर्राष्ट्रिय प्रतियोगितालाई सहज ढङ्गमा नलिउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :