आईसीसी पुरुष टी २० विश्वकप क्रिकेट २०२४ मा भोलि (जेठ ३० गते) बुधवार विहान नेपाल र श्रीलंकाबिच भिडन्त हुदैछ ।
सेन्ट्रल ब्रावार्ड पार्क एण्ड ब्रावार्ड काउन्ट्री क्रिकेट स्टेडियममा आयोजना हुने नेपाल र श्रीलंकाबिचको खेल नेपाली समय अनुसार बुधवार विहान ५ः१५ बजेदेखि शुरु हुनेछ ।
जारी विश्वकपमा नेपालले एक र श्रीलंकाले दुई खेल खेलेका छन । जसमा नेपाल एक खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो । त्यस्तै श्रीलंका दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो ।
भोलि हुने खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपालले श्रीलंका माथि जित हासिल गर्न सके जारी विश्वकपमा खाता खोल्नुको साथै सुपर ८ मा पुग्ने सम्भावना जीविदै राख्ने छ । त्यसैले नेपालको लागि श्रीलंका विरुद्धको खेल जित्नु पर्ने बाध्यता नै बनेको छ ।
त्यस्तै दुई खेलमा लगातार पराजित भएको श्रीलंकाको लागि नेपालबिरुद्ध हुने खेल जसरी पनि जित निकाल्नु पर्ने छ । यदि नेपालबिरुद्धको खेल नजिते श्रीलंका विश्वकपबाट बाहिरिने छ ।
नेपालको लागि जारी टी २० विश्वकप दोश्रो अनुभव हो । यसअघि सन २०१४ मा टी २० विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले उक्त विश्वकपमा हङकङलाई पराजित गरेको थियो ।
जारी विश्वकपमा नेदरल्याण्ड विरुद्धको पहिलो खेलमा अपेक्षा अनुरुप प्रदर्शन गर्न नसकेको नेपालले श्रीलंका विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उपेक्षा गरिएको छ ।
समग्रमा भन्नुपर्दा श्रीलंका नेपाल भन्दा बलियो देखिए पनि क्रिकेट अनिश्चिताको खेल भएकोले जे पनि हुनसक्छ । नेपालले पनि विश्वकपमा उलटफेर गर्ने सम्भावना उत्तिकै रहेको छ ।