एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

काठमाडौं । विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपालबाट एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सहभागीता जनाउने भएको छ ।

एपीएफले एसियन फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने शीर्ष श्रेणीको महिला च्याम्पियन्स लिग खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालबाट राष्ट्रिय महिला लिग च्याम्पियन एपीएफलाई सिफारिस गरेको थियो । एएफसीले सार्वजनिक गरेको सहभागी २२ टोलीमा एपीएफ पनि पर्न सफल भएको छ ।

एएफसीले सार्वजनिक गरेको २२ टोलीमा एपीएफसँगै विश्वकप विजेता जापानदेखि उत्तर कोरिया, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया, भियतनाम, भारत र भुटानका क्लबहरु समावेश छन् ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट अगष्ट २५ देखि ३१ सम्म हुनेछ । समूह चरणका खेलहरु अक्टोबर ६ देखि १२ तथा फाइनल खेल २०२५ को मे मा हुने तालिका छ ।

फिफा महिला वरियताअनुसार शीर्ष आठ राष्ट्रले सिधै समूह चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

१४ क्लबले प्रारम्भिक छनोट खेल्नुपर्ने एएफसीले जनाएको छ। प्रारम्भिक छनोटको दुई समूहमा चार क्लब तथा थप दुई समुहमा तीन क्लब हुनेछन् ।

जोर्डन, मलेसिया, साउदी अरेबिया र थाइल्यान्डले प्रारम्भिक छनोट आयोजना गर्नेछन् भने समूह चरणको खेल चीन र भियतनाममा हुनेछ ।

समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा हुने एएफसीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :