निकट भविष्यमै फ्रान्समा पेरिस ओलम्पिक खेलकुद र नेपालमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुँदैछ। यी प्रतियोगितामा सहभागिताका लागि कम्तिमा पनि तीन महिनाको प्रशिक्षणको आवश्यता रहन्छ । त्यसको लागि जिल्लास्तरीय र प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गरि उत्कृष्ट खेलाडीको छनौट गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिका लागि पठाउन पर्ने हुन्छ । राष्ट्रिय खेलाडी छनौट गर्ने प्रक्रिया नै यहि हो ।
प्रक्रियाको कुरा गर्दा यो सम्पूर्ण जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको तालिम तथा प्रशिक्षण विभागको हो । र, विगतमा गर्दै आएको कार्य पनि हो । तर विभागले यतिखेर यो कुराप्रति कुनै चासो राखेको देखिएको छैन भने प्रक्रियालाई अगाडि बढाउने कुरामा समेत मौनता साँधेर बसेको अवस्था छ । मुलुक संघीयतामा गएपछि प्रदेश सरकारको पनि गठन भएकोले यो कस्को जिम्मेवारी हो? अन्योलता सिर्जना भएको छ । परिणाम, प्रशिक्षक नभएको जिल्लामा अहिलेसम्म प्रशिक्षकको खटन पटन हुन सकेको छैन ।
सर्वप्रथम जिल्लास्तरिय प्रतियोगिताबाट खेलाडी छनौटगरि प्रदेशस्तरियमा पठाउन पर्ने हुन्छ । त्यसपछि प्रदेशस्तरिय प्रतियोगिता गराई खेलाडी छनौट गरि प्रदेशमा बन्द प्रशिक्षण गराउन पर्ने हुन्छ । यसको लागि जिल्लास्तरिय प्रतियोगिताका लागि ३ महिना, प्रदेशस्तरीय प्रतियोगिताका लागि २ महिना र बन्द प्रशिक्षणका लागि १ महिनाको समय छुट्याउनु पर्छ । त्यसपछि मात्रै राष्ट्रियस्तरका खेलाडी तयार हुन्छन । जुन कुरामा अहिलेसम्म सम्बन्धित निकायले ध्यान दिएको पाइदैन ।
प्रायजसो जिल्लाहरुमा प्रशिक्षकहरु नै छैनन भन्दा पनि नगण्य रुपमा छन् । प्रशिक्षकको अभाव नेपाली खेलकुदको विकासको लागि सधैं तगारो बन्दै आएको छ । यस्तो अवस्थामा राखेपले ३ महिने सहायक प्रशिक्षक तालिम समेत सन्चालन गर्न सकेको अवस्था छैन । दुर्भाग्य, तालिम प्राप्त सहायक प्रशिक्षकहरु वेरोजगार छन् । राष्ट्रपति रनिङ्ग शिल्ड जस्तो महत्वपूर्ण प्रतियोगिता हचुवाको रुपमा सञ्चालन हुँदा विद्यालयले न त प्रशिक्षकको व्यवस्था गर्न सकेको छ, न त प्रशिक्षणको । यस्तो अवस्थामा खेलकुदको मुख्य स्रोतको रुपमा मानिएको विद्यालयमा खेलकुदको सोचेवमोजिम विकास र विस्तार हुन सकेको छैन । आधार स्तम्भ कमजोर हुँदा माथिल्लो स्तरमा कस्तो प्रभाव पर्छ त्यो कुरामा सम्वन्धित निकायको ध्यान पुगेको देखिदैन ।
आउदो २०८५ सालसम्म उच्च अध्ययन गरेका सम्पूर्ण प्रशिक्षकहरु रिटायर्ड हुँदैछन् । अहिले ७७ जिल्लामा प्रशिक्षकको अभाव छ । यस्तो अभाव प्रशिक्षक नै नभएर भएको हो । खेलकुदमा यस्तो जटिल अवस्थाको सिर्जना भइसक्दा पनि राखेपले प्रशिक्षक उत्पादन र उच्च अध्ययनका लागि विदेश पठाउने व्यवस्था गर्न सकेको छैन । भारतमा उच्चस्तरिय प्रशिक्षक वर्षेनि कम्तीमा ५ देखि ७ हजार उत्पादन हुने गरेको छ । नेपालले उच्चस्तरिय प्रशिक्षक उत्पादनमा ध्यान नदिनु कतै यिनै भारतीय प्रशिक्षकहरु भित्र्याउन यस्तो रणनीति अख्तियार गरेको त होइन कुरो गम्भिर बनेको छ ।
नेपालमा खेलकुदको विकास गर्न यहाँकै प्रशिक्षक हुनु जरुरी छ । अहिले नेपाल १२ देखि १५ सयजना प्रशिक्षकको आवश्यकता छ । जसमा सहायकस्तरका २६९५, विद्यालय खेलकुद प्रशिक्षक ९००० जना चाहिन्छ । जुन नेपालमा नै तयार गर्न सकिन्छ । प्रशिक्षकको लागि भने भारत को पटियाला पठाउन पर्छ । राखेप यो विषयमा सम्वेदनशिल हुनुपर्नेमा हुन नसकेको अवस्था छ । यस्तोमा खेलकुदमा प्राविधिकको अवस्था त यस्तो छ भने प्रशासन तर्फबाट कस्तो होला सोझै अनुमान लगाउन सकिन्छ । प्रशासनतर्फ हिजो नेपाल सरकारको आर्थिक नियमावली र आजको आर्थिक नियमावलीमा कति परिवर्तन छ परिषदका कर्मचारीहरु नै बेखवरको स्थिति छन् ।