खेलाडीको मूर्ति स्थापना गरौं, सम्मान गर्न ढिला नगरौं

रमेश खनाल

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आदिकवि भानुभक्त, महाकवि लक्ष्मी प्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल र युगकवि सिद्धिचरण श्रेष्ठ आदि बरिष्ठ साहित्यकारहरुको पूर्णकद र अर्धकदका मूर्तिहरु छन् । आ–आफ्नो तिथि अनुसार उहाँहरुको जयन्ति मनाइन्छ । भन्न खोजिएको कुरा के हो भने सम्मान गर्नुपर्छ । चाहे त्यो मूर्ति स्थापना गरेर होस् या संग्राहलय बनाएर होस् । अथवा उहाँहरुको नाममा पुरस्कार स्थापना गरेर होस्–सम्मान गर्नुपर्छ ।

तर खेलकुदमा खोई? राष्ट्रिय खेलकुदको हाताभित्र कुनै पनि प्रतिष्ठित खेलाडी, बरिष्ठ आदरणिय व्यक्तिहरुको मूर्ति स्थापना गर्नेतर्फ कसैको पनि हेक्का रहेको छैन । अन्तर्राष्ट्रिय खेलकुदमा पदक जितेर राष्ट्रको गरिमा बढाउने भारतीय खेलाडीहरुको मूर्ति स्थापना गरिएको छ । तर हामी कहाँ राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान रुपक राज शर्मा बाहेक अरु कुनै खेलाडीको पनि मूर्ति स्थापना गरेर सम्मान प्रकट गरिएको छैन । धेरै अगाडि मूर्ति स्थापना गर्ने सम्बन्धमा सोचाई भएको थियो तर त्यसको गम्भिर मन्थन भएन र त्यो कुरा त्यत्तिकै सेलाएर गएको थियो ।

अब २१ औं शताब्दीको खेलकुदमा खेलाडीहरुको हर प्रकारबाट सम्मान हुनुपर्छ । नगद पुरस्कारले मात्रै पनि पुग्दैन । उनीहरुको मूर्तिपनि बनिनु पर्छ । अब कुन चाहिँ खेलाडीको मूर्ति बनाउने होला भनि चिन्ता गर्नु पर्दैन । मूर्ति कस्को र कहाँ प्रतिस्थापन गर्ने भन्ने कुराको सिफारिस गर्न तीन सदस्यीय नाम सिफारिस समिति बनाएको कुरो अगाडि बढाउनु पर्छ ।

र, सोहि सिफारिस समितिले ‘स्पोर्ट्स म्यान्स म्यूजियम’ बनाउन पनि सिफारिस गर्नेछ । मुलुकमा एउटा यस्तो संग्राहलय होस जहाँ अन्तर्राष्ट्रिय पदक जित्ने, खेलकुद हाँक्ने व्यक्तित्वहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्न सकियोस् ।

साथै ति व्यक्तित्वहरुको जीवनी, उपलब्धि समेट्ने पुस्तकहरु पनि प्रकाशित गरियोस् । वित्तचित्र निर्माण होस् । हुलाक टीकट बनोस् । स्कुलको पाठ्यक्रममा जीवनी पढाउन थालियोस् । पोस्टर, स्टिकर, सोभिनियर पनि बनाउन सकियोस् ।

खेलाडीहरुको सम्मान गर्नुपर्ने थुप्रै कुराहरु बाँकि छन् । खेलाडीहरुले यति लोकप्रिय भएर पनि भित्रि समाजको गहिराईसम्म पुग्न सकेका छैनन् । तत् सम्बन्धमा राष्ट्रिय संघको सिफारिस राष्ट्रिय खेलकुद परिषदले नै सम्मानको व्यवस्था मिलाउनु पर्छ । खेलकुदमा एकदमै खड्किएको खाँचो हो यो ।

राखेपका उचित निर्णय र सिफारिसलाई सरकारबाट पनि स्वागत नै हुनेछ भन्ने हाम्रो सोचाई छ । किनभने यस्ता पुनित कार्यमा सरकारकै गरिमा उच्च हुन जानेछ । तसर्थ सम्मान गर्न ढिला नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :