इक्वेडरलाई पेनाल्टीमा स्तब्ध पार्दै अर्जेन्टिना सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना जारी कोपा अमेरिका फुटबल २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

एनआरजी स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो क्वार्टरफलाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि विजेता टोलीको निर्धारणका लागि पेनाल्टी सुटआउट भएको थियो । जसमा अर्जेन्टिना भाग्यमानी सावित बन्यो ।

पेनाल्टीमा अर्जेन्टिनाका लियोनेल मेस्सी गोल गर्न चुकेपनि अन्य खेलाडीको प्रहारले सहि दिशा पहिल्याउन सफल भयो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले गोल गरे ।

अर्जेन्टिनाको जितमा गोलकिपर इमिलियानो मार्टिनेजको प्रदर्शन उच्च रह्यो । उनले पेनाल्टीमा एन्जल मेना र एलन मिन्डाको प्रहार रोक्दा जोन येबोह र जोर्डी काइसिडोको प्रहार मात्रै गोलमा परिणत हुन सक्यो ।

त्यसअघि खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १-० को अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा इनर भ्यालेन्सिया पेनाल्टीमा गोल गर्न असफल भएपछि इक्वेडरले खेल बराबरी गर्ने मौका गुमाएको थियो ।

त्यसपछि अर्जेन्टिना निर्धारित समयमै जिततर्फ केन्द्रित बनेको थियो । तर दोश्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा इक्वेडर केभिन रोड्रिग्जले गोल गरेपछि खेल १-१ को बराबरी अवस्थामा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :