आजभोलि राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसर भित्र रहेको चमेना गृह खेलकुदकर्मीहरुको लागि गफ चुट्ने प्रमुख थलोको रुपमा विकास भईरहेको छ । राखेपमा कर्मचारी र पदाधिकारीलाई सुपथ मूल्यमा खाना र खाजा खुवाउन खोलिएको उक्त चमेना गृहमा अहिले हरेक मानसिकता बोकेका व्यक्तिहरु भेटिने गरेका छन् । उनीहरुले आफ्नै ताल सुरमा गफिन पुग्दा आफ्नै धोती फुस्किएको समेत चाल पाउन छोडेका छन् । रिस पोख्दै अरुलाई खुईल्याउने क्रममा आफु पनि त्यहि ड्याङको मूला भएको भुसुक्कै बिर्सिदा हासो र उपहासको पात्र समेत बन्ने गरेका छन् । राखेपको चमेना गृहमा आजभोलि यस्तै दृष्य परिदृष्यको अवलोकन गर्न पाइन्छ ।
चमेना गृहमा एक जना राखेपका कर्मचारी राखेपका पदाधिकारीलाई लाई भन्दै थिए– ‘राखेपका कर्मचारी र पदाधिकारी सबै चोर र भ्रष्ट हुन्।’ कर्मचारीको कुरामा सहमति जनाउँदै ति पदाधिकारीले टाउको हल्लाउदै भने–‘पदाधिकारी त्यति साह्रो होइन, यहाँका कर्मचारी भने चोर र भ्रष्ट नै रहेछन् ।’ पदाधिकारीको कुरा सुनेर कर्मचारीले तत्काल प्रतिवाद गर्दै भने–‘कहाँ हुनु सर, कर्मचारी भन्दा त पदाधिकारी नै चोर र भ्रष्ट हुन् । पदाधिकारीहरुले गर्दा नै कर्मचारीहरु भ्रष्ट भएका हुन्, यो कुरामाथि हेक्का राख्नुहोस् ।’ त्यसपछि पदाधिकारीले भने–‘ हो, है पदाधिकारीले गर्दा नै कर्मचारी पनि भ्रष्ट र चोर भएका हुन्, यसको रोकथाम गर्नुपर्छ ।’ कुरो गम्भिर बन्दै गएपछि दुवैले सत्यलाई आत्मसात गर्दै निस्कर्षमा पुगेर भने– गल्ती दुवै पक्षबाट भएको छ, यसरी खेलकुदको विकास हुदैन, खेलकुद चल्दैन ।
यसरी खेलकुदमा भइरहेको विकृति र विसंगतिको चर्चा गर्दा कर्मचारी र पदाधिकारीमध्य को कति पानीमा भन्ने प्रश्न खडा भएको छ । कर्मचारी र पदाधिकारीले भने झैं राखेपका सबै कर्मचारी र सबै पदाधिकारी भ्रष्ट छैनन् । एकाद होलान्, तर दुधले नुहाएका चाहिँ कोहि छैनन् भन्दा अतिसयोक्ति नहोला । अन्यथा एउटा कर्मचारी र पदाधिकारीले अर्को कर्मचारीलाई कदापी चोर र भ्रष्ट भन्ने थिएनन् । कुनै कर्मचारी र पदाधिकारीको राम्रो कुरा गर्ने व्यक्तिकै अर्कोले त्यसको प्रतिवाद गर्दै भ्रष्ट र चोर भन्नुको पछाडिको रहस्य आफैमा गम्भिर छ । यसबाट यो प्रष्ट हुन्छ कि एकले अर्कोको नाडी राम्रोसँग छामेको छ । चमेना गृहको खुला पार्कमा यति कुरा मात्र हुदैन, खेलकुद भित्रका गुडबन्दी र त्यसले खेलकुदमा पारेको नराकात्मक प्रभावको बारेमा समेत जमेरै कुरा हुन्छ । यस्तोमा कसैले कसैको कुरा काट्छन् त कसैले कसैको । साँचो अर्थमा भन्नुपर्दा खेलकुद परिसरको चमेना गृह अहिले चिया गफमा रमाउनेहरुका लागि उपयुक्त थलो बन्न पुगेको छ ।
राखेपका कर्मचारी र पदाधिकारीहरु यसरी चिया गफमा गप्फिदा राखेपभित्र के भईरहेको छ, त्यसको केहि प्रतिशत सत्यता भने उजागर भएको अवश्य हुन्छ । राखेपमा स्थायी कर्मचारीको पीडा आफ्नै छ भने करारका कर्मचारीको आफ्नै । यस्तोमा एकले अर्कालाई धार्नेहात लगाउने पनि कम भेटिदैनन् । उनीहरु आफ्नो असन्तुष्टि छताछुल्ल पारेर मन सन्तुष्ट पारिरहेका हुन्छन् । करारवाला कर्मचारीको कुरा सुन्दा उनीहरुको पीडा कसैले नबुझेको भान हुन्छ । वर्षौंदेखि राखेपमा जागिर खाँदै आउँदा समेत अहिलेसम्म स्थायी हुन नसक्नुको पीडा उनीहरुको लागि प्रशव पीडा भन्दा कम बनेको छैन । यसैले उनीहरु अरुलाई सुनाएर भएर पनि आफ्नो मन हलुको पार्दै चित्त बुझाई रहेका हुन्छन् । उनीहरुको एउटै गुनासो हुन्छ, हामीले रित्तो हात कसरी बिदा हुने? वास्तवमा करारका कर्मचारीहरुको पीडालाई मनन् गर्दा कुनै चित्रकारले बनाएको अमूर्त चित्रकला भन्दा कम छैन । जसको प्रत्यक्ष र अप्रत्यक्ष महसुस करारका कर्मचारीले राम्रोसँग गरेका छन् । र पनि, समाउने हाँगो र टेक्ने भूमि नभएको झैं अवस्थामा उनीहरु जागिरमा रमाइरहेका छन् ।
चमेना गृहमा अहिले राजनीति गफ र बहस गर्नेहरुको पनि त्यत्तिकै भिड लाग्ने गरेको छन् । सकियो, खतम भयो, फलानो आउँदैछ, ढिस्कानो जाँदैन, फलानोलाई फाल्नुपर्छ, फलानोलाई ल्याउनुपर्छ, फलानो आयो भने हामीलाई राम्रो हुन्छ, ढिस्कानोले बर्बाद पार्यो आदि(आदि बहसका विषय बन्न पुगेका छन् । र पनि, उनीहरु गफ र बहसपछि एउटै निस्कर्षमा पुग्छन्, आखिर त्यो आए पनि के हुन्छ र? त्यो पनि भ्रष्ट, चोर, चाकरी र चाप्लुसीवाज त हो, त्यसले पनि केहि नाप्दैन । अर्कोको बारेमा सोच्नु पर्छ…। यसरी चमेना गृहको पार्कमा यस्ता नाना थरिका गफ र बहस हुँदा एउटा प्रश्न भने अवश्य उठेको छ–‘सबै भ्रष्ट चोर भए आखिर खेलकुदमा साधु को हो त?