महिला भलिबल फ्रेन्चाइज लिग गर्न एनभीए र इन्फिनिटी ड्रीम्स प्रालिबीच सम्झौता 

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) र इन्फिनिटी ड्रीम्स प्रालिबीच `एभरेस्ट महिला फेन्चाइज लिग भलिबल´ सञ्चालन गर्ने सम्झौता भएको छ । एनभीएले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै इन्फिनिटी प्रालिसँग आधारित सम्झौता गरेको हो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले इन्फिनिटी ड्रीम्स प्रालिलाई नेपाल भित्र ७ वर्षको लागि एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न अनुमति प्रदान गरेको बताए ।

सम्झौतासँगै इन्फिनिटी ड्रीम्स प्रालिले होम र अवे सिद्धान्तको अवधारणा अनुसार देशभर यो लिग आयोजना गर्ने अधिकार पाएको छ। सम्झौता अनुसार इन्फिनिटीले एनभीएलाई वार्षिक रु.२५ लाख रुपैयाँ उपलब्ध गराउने छ।

काठमाडौं, ललितपुर र भक्तपुर गरि ३ वटा शहरमा केन्द्रित रहेर संचालन गरिने लिगको पहिलो संस्करणमा ६ टोलीलाई सहभागी गराईने तयारी भइरहेको इन्फिनिटी प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए । जसमा सहभागी प्रत्येक फ्रेन्चाइजी क्लबले ३-३ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

यो लिगले भलिबल खेलाडीहरूलाई व्यवसायिक रूपमा सशक्त बनाउने र उनीहरूलाई आर्थिक रूपमा राम्रो अवस्थामा पुर्याउनेमा आफू विश्वस्त रहेको एनभीए अध्यक्ष चन्दले बताए ।

यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा भलिबलको स्तर विकास गर्नु र भलिबलमा व्यवसायिकता ल्याउनु यो लिगको उद्देश्य रहेको पनि चन्दले बताए ।

इन्फिनिटी ड्रीम्स प्रालिका प्रबन्ध निर्देशक अख्तरले सम्झौताको क्रममा बोल्दै एभरेस्ट महिला भलिबल लिगले नेपालको महिला भलिबलको उन्नतिलाई विश्वव्यापी रुपमा ध्यानाकर्षण दिलाउन सक्ने बताए ।

`हामीले नेपाल क्रिकेटमा एभरेस्ट प्रिमियर लिग जस्तो सफल फ्रेन्चाइज लिग सञ्चालन गरेर देश विदेशमा रहनुभएका नेपाली खेलकुद प्रेमीहरूबाट अत्याधिक माया प्राप्त गरिसकेका छौं, एभरेस्ट महिला भलिबल लिगको विशेष प्रस्तुतीले भलिबलमार्फत महिला खेलाडीहरूलाई सशक्तिकरण गर्न र महिला भलिबल क्षेत्रको समग्र सम्भावनालाई उच्च राख्न प्रमुख पहल गर्नेछौं, यही उदेश्यका साथ, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिलो महिला फ्रेन्चाइज लिग आयोजना गर्दैछौं ।
यो कार्यक्रमले नेपालको खेलकुद पर्यटनमा पनि टेवा पुर्याउने हाम्रो प्रयास रहनेछ´ अख्तरले थपे ।

यो लिग आयोजनाको स्वीकृति इन्फिनिटी प्रालिलाई दिएकोमा अख्तरले नेपाल भलिबल संघलाई धन्यवाद दिदै संयुक्त सहकार्यमा यो कार्यक्रम सफल आयोजन गर्ने कुरामा विश्वस्त रहेको बताए ।

तस्बिर: राजेन्द्र चित्रकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :