क्यानको केन्द्रिय कार्यसमिति बैठक: सन्दीपलाई `ए´ग्रेडमा राख्ने र अप्सरीलाई निलम्बन गर्नेसहित विभिन्न १३ निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई `ए´ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको छ ।

क्यानको असार २० गते अर्थात् बिहिवार सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा सन्दीपलाई बधाई दिदै यहि जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म `ए´ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो । सन्दीपले गत साता अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा सम्पन्न टी-२० विश्वकप २०२४ का दौरान टी-२० अन्तर्राष्ट्रियमा आफ्नो १०० विकेट पूरा गरेका थिए ।

क्यानको केन्द्रिय कार्यसमितिको बैठकले सन्दीपसहित विभिन्न १३ वटा विषयमा निर्णय गरेको छ । जसमा संघबाट संचालन हुने विभिन्न गतिविधिहरु सम्बन्धि जानकारी एवंम सुचनाहरु विभिन्न मिडिया तथा सामाजिक संजालमा आधिकारिक रुपमा प्रवाह गर्नका लागि संघका सदस्य श्री छुम्बी लामालाई क्यानको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको छ ।

विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरुलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक संजालहरुमा संघका पदाधिकारी, सदस्य, संघसँग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णय विपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तर्वार्ता एवंम भ्रामक प्रचार गरी समाजिक संजालमा समेत सेयर गरेको पाईएको र जसले गर्दा समग्र नेपाली क्रिकेटको सफलताका लागि एकजुट भएको अवस्थामा पनि संघसँग सम्बन्धित व्यक्तिहरुको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई संघको विधान बमोजिम स्पष्टिकरण सोधि आवश्यक प्रकृया अगाडी बढाउने निर्णय गरेको छ।

यो निर्णय अनुसार क्यानका केन्द्रिय उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रिय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टिकरण सोधिने भएको छ। नेपाल क्रिकेट संघ अन्तर्गत राष्ट्रिय छनौट समिती गठनका लागि राष्ट्रिय छनौट समितीमा रहने संयोजक तथा सदस्यहरुको मापदण्ड तयार गर्न संघका महाप्रवन्धकको संयोजकत्वमा क्रिकेट अप्रेसन्स म्यानेजर र प्रमुख वित्त अधिकृत सदस्य रहने गरी ३ सदस्यीय समिती गठन गर्ने र मापदण्ड तयार भएपछी सुचना प्रकाशन गरी राष्ट्रिय छनौट समिती गठन प्रकृया अगाडी बढाउ निर्णय पनि कार्यसमिति बैठकले गरेको छ।

यस्तै नेपाल प्रिमियर लिग आगामी नोभेम्बर-डिसेम्बरमा आयोजना गर्ने, एसिसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८ गर्ने र २०२४ सम्म श्रीलंकामा संचालन हुने महिला टी-२० एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल काठमाण्डौमा संचालन भईरहेको बन्द प्रशिक्षणको दौरान नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमले राष्ट्रिय महिला टोलीका टीम व्यवस्थापक र टीम प्रशिक्षकमाथी अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनलाई तत्कालका लागि निलम्बन गर्ने तथा थप छानविन गरी आवश्यक निर्णय गर्न अनुशासन समितीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रदिप मजगैयाको संयोजकत्वमा तेज प्रकास भट्ट, दिवाकर थापा, जिना श्रेष्ठ, सुबास जैसवाल, कृष्ण प्रसाद श्रेष्ठ र नारद नेपाल सदस्य रहनेगरी ७ सदस्यीय महिला विकास समिति’ गठन गर्ने साथै समितिको मेण्टरको रुपमा पूर्व कप्तान लेख बहादुर क्षेत्रीलाइ नियुक्त गर्ने निर्णय पनि भएको छ ।

यसैगरी लेभल जिरो र लेभल एक अम्पायर कोर्स तथा लेभल कोचिङ कोर्स ४५ जिल्लाका प्रतिनिधीहरुलाई समेटी क्रमश ७ वटै प्रदेशहरुमा यहि जुलाई र अगस्टमा संचालन गर्ने, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पिचहरुको पुनः निर्माण गरी स्तरोनती गर्ने, हाल संचालनमा रहेको जिम हललाई व्यवस्थित गर्न विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरणहरु थप गर्ने तथा उक्त खेल मैदानलाई विस्तार एवंम व्यवस्थित गर्न फेन्सिङ सारी ढलको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट बजेट प्राप्त भएपछि ७ वटै प्रदेशमा इन्डोर ट्रेडिङ सेन्टर निर्माण गर्ने, प्रादेशिक क्रिकेट संघहरुसँग समन्वय गरी ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्फ विकेट निर्माण गर्ने, प्रादेशिक क्रिकेट संघहरुमा डेभलपमेन्ट अफिसरको आवश्यकता देखिएको र ७ वटै प्रदेशसँग समन्वय गरी प्रदेशको सिफारीस अनुसार डेभलपमेन्ट अफिसर नियुक्त गरी निजको सेवा सुविधाको लागि क्यानबाट प्रदेशरुलाई अनुदान उपलब्ध गराउने र म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रक्रिया सम्बन्धमा संघको अनुशासन समितीलाई १ हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय क्यानको केन्द्रिय कार्यसमिति बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :