कोपा अमेरिका २०२४ अन्तर्गत पहिलो सेमिफाइनल खेल बुधबार बिहान हुदैछ । पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुँदैछ ।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिना र क्यानडाबीचको खेलमा नेपाली समयानुसार बुधबार बिहान ५:४५ बाट शुरु हुनेछ । जारी कोपा अमेरिकामा क्यानडाविरुद्ध अर्जेन्टिनाको यो दोश्रो भिडन्त हो ।
यसअघि समुह चरणको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको थियो । पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएपनि त्यसपछि क्यानडाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरको थियो भने क्यानडाले भेनेजुयलालाई पेनाल्टी सुटआउटमै ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

क्यानडाविरुद्धको खेलमा अर्जेन्टिना फेवरेट देखिएपनि कप्तान लिओनल मेस्सीले चोट बोकेका कारण अर्जेन्टिना दबावमा परेको छ । ह्याम्स्ट्रिङको चोट बोकेका मेस्सीले सेमिफाइनल खेल्न वा नखेल्ने त्यसको बारेमा आधिकारिक जानकारी आएको छैन ।
तर अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षकले लियोनल स्कालोनीले मेस्सी क्यानडाविरुद्धको सेमिफाइनल खेल खेल्ने बताएका छन् । प्रशिक्षक स्कालोनीले मेस्सी फिट रहेको र राम्रो अवस्थामा भएकोले उनले सेमिफाइनल खेल्ने बताएका हुन् ।
चोटका कारण समुह चरणको अन्तिम खेल गुमाएका मेस्सीले इक्वेडरविरुद्धको क्वार्टरफाइनल खेल भने पुरै समय खेलेका थिए । सो खेलमा मेस्सीले पेनाल्टी मिस समेत गरेका थिए ।
समुह चरणको खेलमा क्यानडालाई पराजित गरिसकेका कारण सेमिफाइनलमा अर्जेन्टिना उच्च मनोबलका साथ मैदान उत्रिने छ । त्यस्तै समुह चरणको बदला लिने पक्षमा क्यानडा रहने छ ।