नेपाल श्रीलंका महिला विकास टोलीसँगको पहिलो अभ्यास खेलमा पराजित

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ । श्रीलंकास्थित सरी भिलेजमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ३३ रनले पराजित भएको हो।

जितका लागि श्रीलंका महिला विकास टोलीले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रनमा समेटियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक १७ र सीता रानामगरले ११ रन जोडिन्।

बलिङमा श्रीलंकाककी देवमी भिहान्गाले ३ र सेहानीले २ विकेट लिइन्। यसअघि पहिले ब्याटिङ गरेको श्रीलंका महिला विकास टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।

श्रीलंकाका लागि दुलानी र कौशनी नुथ्याङ्गनाले समान २७-२७ रन जोडेकी थिइन् । बलिङमा नेपालका लागि सबनम राईले ३ र राजमती ऐरीले १ विकेट लिएकी थिइन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला एशिया कप २०२४ खेल्नका लागि हाल श्रीलंकामा रहेको छ । एशिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म श्रीलंकामा हुँदैछ ।

नेपाली टोली एशिया कपको तयारीका लागि केही साताअघि नै श्रीलंका पुगेको हो । नेपालले एशिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँग तीन खेलको अभ्यास श्रृंखला खेल्ने तालिका छ ।

नेपालले महिला विकास टोलीसँगको दोश्रो अभ्यास खेल १० र तेश्रो अभ्यास खेल १६ जुलाईमा खेल्ने छ । त्यसपछि नेपालले एशिया कप खेल्ने छ।

नेपाल एशिया कपको समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र युएई छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले १९ जुलाईमा युएईसँग खेल्दै एशिया कपको शुरुवात गर्नेछ । नेपालले दोश्रो खेल २१ जुलाईमा पाकिस्तान र २३ जुलाईमा भारतविरुद्ध खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :