गौतम गम्भिर भारतीय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्व स्टार क्रिकेटर गौतम गम्भिरलाई भारती राष्ट्रिय क्रिकेट पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उक्त कुराको जानकारी बीसीसीआईका सचिव जय शाहले मंगलबार राती गराएका हुन् ।

भारतीय क्रिकेटमा दीवारको उपनामले परिचित राहुल द्रविडको कार्यकाल हालै अमेरिका र वेष्टइण्डिजमा सम्पन्न टी २० विश्वकप क्रिकेट २०२४ पछि सकिएको थियो । अहिले उनको स्थानमा बीसीसीआईले गौतम गम्भिरलाई नियुक्त गरेको हो ।

भारतीय पुरुष क्रिकेट टोलीको मुख्य कोचमा नियुक्त भएपछि गम्भिरले भने– ‘भारत मेरो पहिचान हो, अहिले मैले मेरो देशको सेवा गर्ने अवसर पाएकोमा गौरवको महसुस गरेको छु । म करोडौं भारतीयको सपना पुरा गर्न आफ्नो पूर्ण शक्ति लगाउने छु ।’ साथै गम्भिरले निवर्तमान मुख्य कोच राहुल द्रविडलाई उनको शान्दार प्रदर्शनको लागि धन्यवाद दिएका थिए ।

त्यस्तै बीसीसीआईले भारतीय पुरुष टोलीको लागि नयाँ मुख्य कोचमा गम्भिर नियुक्त भएपछि उनको सफल कार्यकालको कामना समेत गरेको छ । साथै गम्भिरको कार्यकालमा भारतीय टोलीले क्रिकेटका हरेक क्षेत्रमा नयाँ उचाई हासिल गर्ने विश्वास प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :