स्पेनसँगको भेट पक्का गर्न इङ्गल्याण्ड र नेदरल्याण्ड्स भिड्दै

जर्मनीमा जारी युरोकप फुटबल २०२४ को दोश्रो सेमिफाइनल खेल आज बुधरबा मध्यराती इङ्गल्याण्ड र नेदरल्याण्ड्सबीच हुँदैछ । बर्लिनमा हुने यो खेल नेपाली समयानुसार राति १२:४५ बजे देखि शुरु हुनेछ ।

यसअघिको संस्करणमा उपविजेता बनेको इङ्गल्याण्ड लगातार दोश्रो पटक फाइनलमा पुग्ने लक्ष्यका साथ आज मैदानमा उत्रिने छ । इङ्गल्याण्डले क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ को अन्तरले पराजित गरेको थियो ।

इङ्गल्याण्डलाई युरोकप २०२४ को प्रमुख दावेदारको रुपमा हेरिएपनि इङ्गल्याण्डले नाम अनुसारको प्रदर्शन गर्न सकेको छैन । समुह चरणदेखि क्वार्टरफाइनलसम्म आईपुग्दा सामान्य प्रदर्शन गरेको इङ्गल्याण्डले सेमिफाइनलमा कस्तो प्रदर्शन गर्छ त्यसमा सबैको चासो रहेको छ ।

इङ्गल्याण्डले अहिलेसम्म युरोको उपाधि जित्न सकेको छैन । गत संस्करणमा फाइनलमा पुगेको इङ्गल्याण्ड पेनाल्टी सुटआउटमा इटालीद्वारा पराजित भएको थियो । यसरी पहिलो युरो उपाधि जित्ने लक्ष्यका साथ आज इङ्गल्याण्ड मैदानमा उत्रिने छ ।

सन् १९८८ मा युरो कपको उपाधि जितेको नेदरल्याण्ड्सले आजको खेलमा इङ्गल्याण्डलाई ठूलो चुनौंति दिने पक्का छ । २० वर्षपछि सेमिफाइनल खेल्दै गरेको नेदरल्याण्ड्सले ठूलो उलटफेर गर्ने सम्भावना उत्तिकै रहेको छ ।

युरोको इतिहास कोट्याउँदा सन् १९८८ को युरोमा नेदरल्याण्ड्स र इङ्गल्याण्डको पहिलो भिडन्त भएको जसमा नेदरल्याण्ड्सले इङ्गल्याण्डलाई ३–१ र सन् १९९६ को युरोमा इङ्गल्याण्डले नेदरल्याण्ड्सलाई ४–१ को अन्तरले पराजित गरेको थियो । त्यसैले आज हुने यी दुवै टोलीबीचको खेल निकै रोमाञ्चक र सनसनीपूर्ण हुने अड्कल काटिएको छ ।

यी दुई टोलीबीचको विजेताले १५ जुलाईमा हुने फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पने मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :