खेलकुदमा गम्भिरताको खाँचो

रमेश खनाल

त्यसबेला विवाद नै विवाद, झगडा नै झगडाको स्मरण बोकेर नेपाली खेलाडीहरु चीनको गोन्जाउ पुगेका थिए । पदाधिकारीहरुको झगड नेपालमा मात्रै सिमित नभई गोन्जाउसम्म पुग्यो। झगडाले खेलाडीहरुको मनोबल गिर्यो । खेल्दाखेरी अभिप्रेरित हुने ठाउँ नै भएन । खेलाडीहरुको दिमागमा नचाहिदो तरिकाले पदाधिकारीहरुकाबीच भएको झगडाको नकारात्मक प्रभाव पर्यो ।

पदकको आशा गरिएको उसु खेलका खेलाडीहरुले रित्तो हात फर्किनु पर्यो । खेलाडीहरुको प्रशिक्षण गुणस्तरीय भयो-भएन, खेलाडीहरुलाई इन्टरनेशनल एक्सपोजर दियो-दिइएन, खेलाडीहरुले कति समय प्रशिक्षण लिएका थिए, उनीहरुको प्रशिक्षण स्तरीय थियो या थिएन, यस सम्वन्धमा समयमै चासो राखिएको भए आज हाम्रा केहि खेलहरुले पदक जित्ने थिए । तर त्यसो भएन ।

नकारात्मक वातावरणमा बाँच्नु भनेको पराजित हुनु सरह नै हुन्छ । नकारात्मक सोच दिमागमा पुग्ने वित्तिकै दिमागले नकारात्मक कार्यक्रम बनाउन थाल्दछ । हेर्दाखेरी राम्रै खेलेको जस्तो लाग्दछ तर अचेतन मनभित्र नकारात्मक भावना जागरण भएर बसेको हुन्छ । जसले थाहै नपाई प्रतिक्रिया ब्यक्त गर्दछ ।

खेलाडीहरुलाई पदाधिकारीहरुको विवाद, संगठनभित्रको मनमुटाव भित्रवाट टाढै राख्न सक्नुपर्दछ । सम्भवतः बन्द प्रशिक्षणको औचित्य यसैको लागि थालिएको हुन सक्छ । प्रशिक्षण, मनोरञ्जन, फिजियोथेरापी, सन्तुलित खुराक र असल प्रशिक्षण तालिम भित्र खेलाडीहरुलाई राखिन्छ । जहाँ कसैसँग पनि भेटघाट गर्न दिइन्न । सिर्फ प्रशिक्षणका लागि उनीहरु अनुबन्धित भएका हुन्छन् ।

जसरी हुन्छ उनीहरुलाई कुनै कुरावाट पनि मानसिक दवाव पर्न नसकोस् । अनुगमन, प्रशिक्षण र मूल्याङ्कन गर्ने इकाईले उद्देश्यरुप सफलता हासिल भयो कि भएन भनेर मूल्याङ्कन गरियोस । उपलब्धि हासिल भएन भने अब कसो गर्दा उपलब्धि हासिल हुन्छ त्यस सम्बन्धमा गम्भिर छलफल हुनुपर्छ । तर यस सम्वन्धमा पनि कोहि गम्भिर भएका छैनन् । होलान, केहि प्राविधि कारण, केहि आर्थिक कारण होलान, केहि प्रशिक्षण सम्वन्धि कारण आदि आदि ।

२१ औं शताब्दीको नेपाल हो यो । खेल प्रतिस्पर्धात्मक वातावरण दिन प्रतिदिन बढेर आईरहेको छ । भुटान, अफगानिस्तान जस्ता राष्ट्रहरु गम्भिर भएर खेल विकासमा लागेर हामीलाई उछिन्न खोजिरहेका छन । तर हामीलाई कुनै कुराको पनि चासो छैन । जय भोले भनेर हामी खेलिरहेका छौं । पराजित भइरहेका छौं । आखिर हाम्रो विजय र पराजय जनतासँग गाँसिएको छ । हाम्रो विजयमा जनता रमाउँछन , जनता एक अर्कामा खुशी बाँड्दछन । तर हामी खेलकुद सम्वन्धमा गम्भिर हुन सकिरहेका छैनौं ।

धेरै अगाडि सरकारले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरिसकेको छ । राष्ट्रिय खेलकुद नीतिलाई पालन गर्ने सम्पूर्ण सरोकारहरुको कर्तव्य हो । राष्ट्रिय खेलकुद नीति अनुसारका दीर्घकालिन योजना बन्नुपर्छ । गाउँदेखि राष्ट्रसम्म खेलकुदमय हुने वातावरण विकास गर्नुपर्छ । खेलकुद जनमय बन्यो भने जनसंख्यामा पनि नियन्त्रण हुन पुग्छ ।

वडा, वडा जिल्ला जिल्लामा खोलिने स्वास्थ्य चौकिहरु पनि त्यति नै खोल्नु पर्ने हुन्छ । व्यवस्थित खेलकुद आजको खाँचो हो । खेलकुदको प्रतिस्पर्धात्मक वातावरणमा हिड्न सक्नु पर्छ । स्वस्थ्य प्रतिस्पर्धात्मक दीर्घकालिन खेलकुद प्याकेज प्रशिक्षण र राजनितिमुक्त खेलकुदवाट मात्र अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सकिन्छ ।

अतः खेलाडीहरुलाई मानसिक रुपमा तनावमुक्त बनाएर प्रतिस्पर्धात्मक वातावरणमा उभ्याउने खेलकुद वातावरढा वनाउनु आजको आवश्यकता हो । खेलकुदका सम्वन्धमा मन्त्रालय, परिषद र अन्य सम्वन्धित निकाय जतिसक्दो चाँडो गम्भिर हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :