नेपाल श्रीलंका महिला विकास टोलीसँगको दोश्रो अभ्यास खेलमा पनि पराजित

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँगको दोश्रो अभ्यास खेलमा पनि पराजित भएको छ । श्रीलंकास्थित सरी भिलेजमा बुधबार भएको दोश्रो अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।

यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ३३ रनले पराजित भएको थियो । दोश्रो खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरको १ बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

श्रीलंकाका लागि नेत्मी सेनानाथनेले ३७ बलमा २७ र सत्य सन्दीपनीले २१ बलमा १९ रन जोडिन् । बलिङमा नेपालकी सबनम राई र कविता जोसीले १-१ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बलमा २९ र कप्तान इन्दु बर्माले ४३ बलमा २८ रन जोडेकी थिइन् ।

बलिङमा श्रीलंकाकी देउमी विहंगले ३ र सत्य सन्दीपनीले २ विकेट लिएकी थिइन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला एशिया कप २०२४ खेल्नका लागि हाल श्रीलंकामा रहेको छ ।

एशिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म श्रीलंकामा हुँदैछ । नेपालले एशिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँग तीन खेलको अभ्यास श्रृंखला खेलिरहेको हो ।

नेपालले महिला विकास टोलीसँगको तेश्रो तथा अन्तिम अभ्यास खेल १६ जुलाईमा खेल्ने छ । त्यसपछि नेपालले एशिया कप खेल्ने छ। नेपाल एशिया कपको समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र युएई छन् ।

यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले १९ जुलाईमा युएईसँग खेल्दै एशिया कपको शुरुवात गर्नेछ । नेपालले दोश्रो खेल २१ जुलाईमा पाकिस्तान र २३ जुलाईमा भारतविरुद्ध खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :