कोपा अमेरिका फाइनलः कीर्तिमान नजिक रहेको अर्जेन्टिनालाई कोलम्बियाको चुनौती

काठमाडौं । ४८ औं संस्करणको कोपा अमेरिका फुटबल २०२४ को उपाधिका सोमबार बिहान साविक विजेता अर्जेन्टिना र कोलम्बिया भिड्दै छन् । अर्जेन्टिना र कोलम्बियाबीचको फाइनल फ्लोरिडास्थित हार्ड रक स्टेडियममा नेपाली समयानुसार सोमबार बिहान ५:४५ बाट शुरु हुनेछ।

कोलम्बियाले दोश्रो सेमिफाइनल खेलमा १५ पटकको च्याम्पियन उरुग्वेलाई १-० ले पराजित गर्दै फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो। त्यसअघि अर्जेन्टिना पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० गोलले पराजित गर्दै लगातार दोश्रो सिजन कोपाको फाइनलमा प्रवेश गरेको थियो।

कोपा अमेरिकाको सर्वाधिक सफल टोलीको सूचिमा रहेको अर्जेन्टिना १६ औं पटक कोपाको उपाधि जित्ने लक्ष्यमा रहेको छ । अर्जेन्टिना र उरुग्वे हालसम्म कोपाको सर्वाधिक च्याम्पियनको सूचिमा रहेका छन् ।

यी दुवले समान १५ पटक कोपा अमेरिकाको उपाधि जितेका छन्। सन् २०२१ मा ४७ औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई १(० ले पराजित गर्दै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि जितेको थियो।

यस्तै कोलम्बिया भने कोपाको इतिहासमा आफ्नो दोश्रो उपाधि जित्ने योजनामा रहेको छ । कोलम्बियाले २३ वर्षपछि कोपा अमेरिकाको फाइनल खेल्न लागेको हो। कोलम्बियाले यसअघि सन् १९७५ मा पहिलो पटक कोपाको फाइनल खेल्दा पेरुसँग पराजित भएको थियो ।

त्यसपछि कोलम्बियाले दोश्रो पटक सन् २००१ मा कोपाको फाइनल खेल्दा मेक्सिकोलाई पराजित गर्दै पहिलो कोपा उपाधि जितेको थियो । यस्तोमा कोपाका सर्वाधिक उपाधि जित्ने राष्ट्रको कीर्तिमान बनाउने होडमा रहेको अर्जेन्टिना र कोलम्बियाबीचको फाइनल भिडन्त प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ ।

यी दुई टोली सबै खेले प्रतियोगितामा गरेर हालसम्म ४२ पटक भिड्न भएको छ । जसमा अर्जेन्टिनाले २५ जितका साथ कोलम्बियामाथि प्रभावशाली अवस्थामा रहेको छ । यता कोलम्बियाले ९ खेल जित्दा ८ खेल बराबरीमा सकिएको थियो । कोपा अमेरिकामा भने दुई टोलीबीच १५ पटक प्रतिस्पर्धा भईसकेको छ ।

जसमा अर्जेन्टिनाले १० तथा कोलम्बियाले ३ खेल जित्दा दुई खेल बराबरीमा सकिएका थिए । दुई टोली पछिल्लो पटक २०२१ कोपा अमेरिकाको सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले पेनाल्टीमा ३-२ को जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :