काठमाडौं । विश्वविद्यालय खेलकुद संघ, नेपाल (उसान) ले चीनमा सम्पन्न उसु च्यापियनसिपका पदक विजेता र बास्केटबल च्याम्पियनसिपमा पाँचौं भएको नेपाली बास्केटबल टोलीलाई सम्मान गरेको छ ।
उसानले बिहीबार एक कार्यक्रमको आयोजना गरि खेलाडीलाई सम्मान गरेको हो । चीनको हरविन सहरमा गत जुन १७ देखि २२ तारिखसम्म आयोजना भएको पहिलो एशियन युनिभर्सिटी उसु च्याम्पियनसिपमा महिला खेलाडीद्वय निमा घर्ती मगर र जुनुसाङ्बो लामा तथा पुरुषमा सुनिल शिरीष मगरले ऐतिहासिक कास्य पदक जितेका थिए ।
निमाले थाउलो विधा अन्तर्गत महिला नानछवाङ् इभेन्ट्स, जुनुसाङ्बोले थाउलो विधा अन्तर्गत नै महिला ताईची छवाङमा र सुनिलले सान्सौं विधा अतर्गत पुरुष ५६ केजी समूहमा कास्य पदक जितेका थिए ।
यसैगरी जुन ९ देखि १४ तारिखसम्म चीनको जुहानसनमा भएको छैठौं युनिभर्सिटी थ्री बाई थ्री बास्केटबल च्याम्पियनसिपमा नेपाल पाँचौं भएको थियो । कार्यक्रममा प्रमुख अतिथी पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले खेलाडीलाई बधाई दिदै दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

यसै कार्यक्रमकाबीच उसानले मलेसिया ओपन तथा सिंगापुर ओपन उडबल च्याम्पियनसिप २०२४ मा सहभागि हुने नेपाली खेलाडीलाई समेत शुभकामनासहित बिदाई गरेको छ ।
खेलाडी सम्मान तथा बिदाई कार्यक्रममा वर्तमान सांसद समेत रहेका मोहन बस्नेत, प्रध्यापक डाक्टर ज्ञानेन्द्र प्रसाद पौडेल, नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्र बहादुर सेरचन र नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।