पेरिस ओलम्पिकः नेपाली टोलीको नेतृत्व राखेपका सदस्य सचिव घिसिङ्गले गर्ने

काठमाडौं । ओलम्पिक खेलकुदको ३३ औं संस्करण २६ जुलाई आदेखि ११ अगस्टसम्म फ्रान्सको राजधानी पेरिस शहरमा सञ्चालन हुँदैछ । पेरिस ओलम्पिकमा नेपालका सात खेलाडी सहित २७ सदस्यीय टोलीको सहभागिता रहेको छ । उक्त टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जारी गरेको पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पेरिस ओलम्पिक २०२४मा नेपालका तर्फबाट सात खेलाडीले सहभागिता जनाउँदै छन् । जसमा ब्याडमिन्टका प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकि सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन् ।

पेरिस ओलम्पिकको उद्घाटन समारोहमा नेपालको तर्फबाट नेपालको झण्डा स्यान्टु श्रेष्ठ र मनिता श्रेष्ठले संयुक्तरूपमा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ। स्यान्टु क्षेत्रीय छनौट र मनिता महादेशीय छनोटबाट ओलम्पिक सहभागी हुन् लागेका हुन् । त्यसमध्ये प्रिन्स, सुस्मिता र मनिता पछिल्लो दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीबाट ओलम्पिक सोलिडारिटी अन्तर्गत छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।

पेरिस ओलम्पिक २०२४ को सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ रहेका छन् । त्यस्तै एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यओलम्पिक अटाची र कार्यकारी सचिव सुजनलाल श्रेष्ठ वेलफेयर अफिसर रहेको एनओसीले जानकारी गराएको छ ।

त्यस्तै प्रशिक्षकतर्फ सुटिङमा प्रदीप खाती, टेबल टेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्य रहेका छन् । टिम मेडिकल डाक्टरमा नबिसमानसिंह प्रधान रहेका छन् । सहभागी हुने नेपाली टिमको पोसाकको प्रायोजक फ्रान्सको कोमोरेबी गरेको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठको ओलम्पिकको उद्घाटन समारोहमा उपस्थिति रहने छ । त्यस्तै एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकोले खेलाडी सन्ताषी श्रेष्ठ र अफिसियल जुलाई ३० जुलाईमा पेरिस प्रस्थान गर्ने एनओसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :