काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मुलुकभरि अनुसन्धान, परिक्षण गरेर प्रतिभाशाली खेलाडी पत्ता लगाउनु पर्छ । हाम्रो जस्तो मुलुक जहाँ सधैं न्यूनगेट हुन्छ, यस्तो अवस्थामा प्रतिभाशाली खेलाडीलाई तालिम दिएर राम्रो नतिजा निकाल्न सक्नुपर्छ ।
तर प्रभावशाली खेलाडी संकलन हामीले कसरी गर्दछौ? यो एक गम्भिर प्रश्न छ । के हामीले प्रतिभाशाली खेलाडी खोज्ने कार्य गरेका छौं ? के हामीले स्कुल–स्कुल, गाउँ– गाउँमा टोली पठाएर प्रतिभाशाली खेलाडी पत्ता लगाएका छौं?
के राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतिभाशाली खेलाडी खोज्न केहि प्रयास गरेको छ? अथवा राष्ट्रिय संघलाई परिचालन गरेको छ? अथवा प्रदेश, केन्द्र र स्थानिय सरकारसँग समन्वय गरेर यस कार्यलाई अगाडि बढाएको छ ?
विश्वका अन्य मुलुकहरुले स्किम बनाएर ‘ट्यालेन्ट हन्टिङ्ग’ गरिरहेका छन । भारतकै सन्दर्भमा ‘खेलो इन्डिया राइजिङ ट्यालेन्ट आईडेन्टिफिकेसन’ अन्तर्गत विभिन्न खेलकुद गतिविधिहरु आयोजना गरेर प्रतिभाशाली खेलाडीहरुको चयन गरिन्छन । स्पोर्ट्स अथोरेटी अफ इन्डियाले ‘ट्यालेन्ट सर्च’ अभियान प्रत्येक वर्ष आयोजना गर्दछ । उनीहरुका टोली स्कुल– स्कुलमा गएर प्रतिभाशाली खेलाडीहरुको चयन गर्दछन् ।
चयन भएका किशोर खेलाडीलाई खान बस्न, पढ्न र प्रशिक्षण निशुल्क रुपमा दिइन्छ । प्रतिभाशाली खेलाडी अवसर नपाएर त्यसै बसिरहेका हुन्छन् । त्यस्ता खेलाडीहरुको सरकारले खोजी गर्दछ र भविष्य निर्माण गरिदिन्छ । भारतमा मात्र होइन, चीनमा पनि प्रशिक्षकहरु स्कुल–स्कुलमा पठाएर ट्यालेन्ट छनौट गरिन्छ ।
हामी कहाँ पनि ट्यालेन्ट हन्टिङ्ग कार्य गरिएको थियो । केहि किशोरलाई छनौट गरेर पढ्ने, लेख्ने, खाने र बस्ने सुविधा पनि दिइएको थियो । तर परिषदले खर्च धान्न नसक्ने भएर त्यो कार्य त्यत्तिकै बन्द भयो। तर फुटबल संघ, क्रिकेट संघ, टेनिस संघ लगायत अन्य केहि संघहरुले प्रतिभाशाली खेलाडीलाई प्रशिक्षण दिने गरेका छन । तर स्थायी रुपमा राज्यबाट थालिनु पर्ने कार्य हो । त्यस सम्वन्धमा राखेपले विभिन्न स्किम बनाएर सरकारवाट बजेट स्वीकृत गराउन सक्नु पर्दछ ।
स्किमका सम्वन्धमा कार्यशाला गर्नु पर्दछ । कार्यशालावाट के कस्ता स्किमहरु सञ्चालन कसरी गर्ने हो ? सुविधा के हुने हो ? कहाँ कहाँ सञ्चालन गर्ने हो ? सुविधा के हुने हो ? चरणगत तालिमपछि खेलाडीहरुलाई कहाँ स्थानान्तर गरिने हो ? प्रदेश, स्थानिय र केन्द्र सरकार, राष्ट्रिय संघ, नेपाल ओलम्पिक कमिटीको भूमिका कस्तो हुने हो ? सो सम्वन्धमा एउटा निर्देशिका नै बनाएर, स्वीकृत गराएर अगाडि बढ्न सक्यौं भने स्किमले निरन्तरता पाउने छ । अन्यथा हामी सधैं अल्झिरहने छौं । र पछाडि परिरहने छौं।