काभा नेसन्स भलिबल लिगको उद्घाटनमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । काभा महिला नेसन्स भलिबल लिग २०२४ आज (बिहीबार) बाट नेपालमा शुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने उद्घाटन खेल घरेलु टोली नेपाल र श्रीलंकाबीच हुँदैछ । उद्घाटन खेल दिउँसो ३:१५ बाट शुरु हुनेछ ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीले काभा नेसन्स लिगको तयारीका लागि डेढ महिनादेखि तयारी गर्दै आएको छ। तयारी अन्तर्गत नै नेपाली टोलीले रसियन टोलीसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण भलिबल खेलेको थियो ।

रसियन टोलीसँगको खेलबाट आफ्नो धेरै कमजोरीलाई सुधार गर्ने मौका पाएको नेपाली टोली उच्च मनोबलका साथ श्रीलंकाविरुद्ध कोर्टमा उत्रिने तयारीमा रहेको छ ।आज नै हुने दिनको दोश्रो खेलमा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ५:४५ बाट शुरु हुनेछ ।

नेपालले आफ्नो दोश्रो खेल साउन १८ गते भारत, तेश्रो खेल साउन १९ गते इरानसँग र लिग चरणको चौथो तथा अन्तिम खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ ।

साउन २३ गतेसम्म आयोजना प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलङका र मालदिभ्स गरि पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। लिग चरणको अन्त्यपछि शीर्ष चारमा रहने राष्ट्र सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमिफाइनलमा लिगको पहिलो र चौथो तथा दोश्रो र तेश्रो स्थानमा रहने राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा लिग चरणका १०, सेमिफाइनल २, फाइनल र तेश्रो स्थानका गरि कूल १४ खेल हुनेछ।

नेपाल भलिबल संघले काभा नेसन्स लिग आयोजना गर्न लागेको यो पहिलो पटक हो । नेपालले गत वर्ष महिलातर्फको काभा महिला च्याम्पियनसिप २०२३ आयोजना गरेको थियो ।

नेपाली टोलीः
अरुणा शाही (कप्तान), सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :