काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस ओलम्पिक २०२४ मा जुडो खेलमा देखिएको कमजोर व्यवस्थापनले मुलुकको मानमर्दन भएको छ । व्यवस्थापन पक्षको यहि कमजोरीले गर्दा जुडो खेलाडीले नेपाल अंकित गी लगाउन पाइनन् भने प्रशिक्षकले खेल स्थलमा प्रवेश समेत नपाएको स्रोतले जनाएको छ ।
पेरिस ओलम्पिकमा नेपालको तर्फबाट जुडो खेलको महिला ५७ केजी तौल समुहमा मनिता श्रेष्ठ प्रधानले सहभागिता जनाएकि थिइन् । मनिताको प्रशिक्षकमा पूर्व ओलम्पियन देबु थापा र व्यवस्थापकमा नेपाल जुडो महासंघका अध्यक्ष दीपक हर्ष बज्राचार्य रहेका थिए ।
जब मनिता पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न एरिनामा पुगिन्, तब उनले लगाएको ‘गी’ ले अन्तराष्ट्रिय मापडण्ड पुरा गर्न सकेन । त्यसपछि आयोजकले मनितालाई त्यहाँ भएको ‘गी’ उपलब्ध गराएर खेलाएको थियो । त्यसमा नेपालको नाम उल्लेख थिएन ।
यसरी नेपालको प्रतिनिधित्व गरेर ओलम्पिकको एरिनामा उत्रिएकि मनिताले नेपाल उल्लेख नगरिएकै ‘गि’ लगाएर खेल्नु परेको थियो । मनिताले ‘एनईपी’ लेखेको ‘गी’ लगाएर खेल्न नपाएपछि आयोजकले प्रशिक्षक देबु थापालाई प्रशिक्षकको रुपमा एरिना अगाडि राखिने कुर्सीमा बस्न समेत प्रतिबन्ध लगाएको थियो । परिणाम, मनिताले नेपाल नलेखिएको गी र प्रशिक्षक बिना एरिनामा उत्रिनु परेको थियो ।
त्यसैले अहिले प्रश्न उठेको छ, एउटा खेलाडीलाई समेत अन्तर्राष्ट्रिय मापडण्डको गी उपलब्ध गराउन नसक्ने जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र प्रशिक्षक देबु थापाको जुडो महासंघका पदाधिकारीहरुले आलोचना गर्दै आक्रोस समेत पोखेका छन् । उनीहरुले यो सबै जुडो महासंघमा चलिआएको तानाशाहीको परिणाम भएको बताएका छन् ।
स्मरण रहोस्, देबु थापाले एक पटक खेलाडी र दुई पटक प्रशिक्षकको रुपमा ओलम्पिकमा सहभागिता जनाईसकेकि छिन् । थापा खेलाडी र प्रशिक्षक समेत भएको नाताले उनलाई गी को अन्तर्राष्ट्रिय मापडण्ड अवश्य थाहा हुनुपर्ने हो । तर थापा यहाँ चुक्दा मनिताले देशविहिन र प्रशिक्षक विहिन रुपमा ओलम्पिकमा प्रतिस्पर्धा गर्नुपरेको छ ।
त्यस्तै व्यवस्थापकको जिम्मेवारी सम्हालेर पेरिस ओलम्पिक पुगेका महासंघका अध्यक्ष यसको प्रमुख दोषी भएको स्रोतले जानकारी गराएको छ । प्रत्येक वर्ष गी कन्ट्रोलरको भूमिका निर्वाह गर्दै विदेश सयर गर्दै आएका बज्राचार्यले एउटा खेलाडीलाई पनि अन्तर्राष्ट्रिय मापडण्डको एकजोर गी उपलब्ध गराउन नसक्नु अहिले लाजमर्दो कुरो बन्न पुगेको छ । अध्यक्षको यो हरकतले खेलाडीको मात्र नभइए राष्ट्रको समेत अन्तर्राष्ट्रियस्तरमा बेइज्जत हुन पुगेको छ ।
प्राप्त जानकारीका अनुसार अध्यक्ष बज्राचार्य र प्रशिक्षक थापा नेपाल जुडो महासंघको सिफारिस र निर्णयबिना शक्तिको आडमा पेरिस ओलम्पिक गएको समेत स्रोतले जानकारी गराएको छ । ६ महिनाअघि अध्यक्ष बज्राचार्यले ओलम्पिकमा जाने प्रशिक्षकको नामावली विदेश पठाउँदा २, ३ जनाको नाम पठाउनु पर्नेमा एकजना देबु थापाको नाम मात्र पठाएको खुलासा भएको छ । देबु भन्दा सिनियर र हालसम्म ओलम्पिकमा नगएका प्रशिक्षक चन्द्र डँगोल लगायत अन्य प्रशिक्षकहरुलाई बज्राचार्यले नजरअन्दाज गरेका थिए ।
पेरिस ओलम्पिकमा जुडो महासंघका अध्यक्ष बज्राचार्य र प्रशिक्षक थापाले राष्ट्रको प्रतिष्ठामाथि खेलवाड गर्दै गैरजिम्मेवारी कार्य गरेका छन् । तसर्थ सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले यसको बारेमा एक छानबिन समिति गठन गरि दोषी ठहरिए दुवैलाई कारवाहिको दायरामा ल्याउनुपर्ने देखिन्छ ।