पेरिस ओलम्पिकमा नेपाल जुडो महासंघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र प्रशिक्षक देबु थापाले गरेको गैरजिम्मेवारीपूर्ण कार्यले यतिबेला नेपाली खेलकुदको मात्र नभई मुलुककै छवी अन्तर्राष्ट्रियस्तरमा धुमिल हुन पुगेको छ । मुलुकको मान सम्मान र प्रतिष्ठामाथि खेलवाड गर्दै अन्तर्राष्ट्रिय बेइज्जत गराएपछि अहिले बज्राचार्य र थापालाई किन कारवाही नगर्ने ? भन्ने प्रश्न खडा भएको छ । जाबो एउटा पोशाकको समेत उचित व्यवस्थापन गर्न नसक्नेलाई कसरी छुट दिन सकिन्छ, अहिले उठेको गम्भिर प्रश्न नै यहि हो ।
विभिन्न शक्तिको आडमा जुडो महासंघमा रजाई गर्दै आएका बज्राचार्य र थापाले पेरिस ओलम्पिक २०२४ मा जस्तो व्यवहार देखाए त्यो आफैमा लाजमर्दो छ । यो व्यवहारले ओलम्पिक जस्तो खेलकुदको महाकुम्भमा नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधानको दुर्गती मात्रै भएको छैन, यसले मुलुकको शिर निहुराउने कार्य समेत गरेको छ। जस्ले मुलुकको शिर निहुराउने कार्य गर्छ, त्यो कारवाही र दण्डको भागिदार पनि बन्नुपर्छ । प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धा गर्ने थलोमा प्रतिभाको नै जस्ले चीरहरण गर्ने कार्य गर्छ त्यो अवश्य पनि सजायको भागिदार हुनुपर्छ र बन्नुपर्छ ।
एउटा खेलाडी जब मुलुकको पोशाखमा राष्ट्रिय झण्डा अंकित गरेर एरिनामा उत्रिन्छ, उसको आत्मविश्वास र मानसिक अवस्था निकै उच्च हुन्छ । खेलमा जित हार आफ्नो ठाउँमा छ, तर खेल्नुअघि नै खेलाडीलाई मानसिकरुपमा पराजित गर्ने काम अध्यक्ष बज्राचार्र्य र प्रशिक्षक थापाले गरेका छन् । यो उनीहरुको अक्षम्य गल्ती हो, यसलाई कदापी नजरअन्दाज गर्न सकिदैन । सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटीले यि दुवैलाई कानुनको दायरमा ल्याएर कारवाहीको भागेदारी बनाउनु पर्छ । यसर्थमा कि यि दुवैले खेलाडी मनितालाई राष्ट्रविहिन मात्र बनाएका छैनन्, राष्ट्रको प्रतिष्ठामाथि आँच पुर्याउने कार्य गरेका छन ।
जब मनिता ओलम्पिकको एरिना उत्रिइन्, तब आयोजक कमिटीले उनलाई पोशाख (गी)का कारण खेल्नका लागि अयोग्य सावित गर्यो । लामो समयसम्मको बहसपछि मनितालाई खेल्ने दिने निर्णय भयो, तर आयोजकले उपलब्ध गराएको पोशाक लगाएर । यस्तो अप्रिय घटना घटेपछि मनिता मानसिकरुपमा पहिल्यै खेल हारिसकेकि थिइन् । मनिताले एरिनामा उत्कृष्ट प्रदर्शन गर्ने अर्थात्, शतप्रतिशत दिने कुनै सम्भावना नै थिएन । आखिर भयो पनि त्यस्तै मनिता नराम्रोसँग पराजित हुन पुगिन् पहिलो चरणबाटै ओलम्पिकबाट बाहिरिन् ।
पेरिस ओलम्पिकमा यति ठूलो घटना घट्दा समेत अध्यक्ष बज्राचार्य र प्रशिक्षक थापाको त कुरै छोडौं सम्बन्धित निकाय नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत अन्य पदाधिकारीले अहिलेसम्म यो घटनाको बारेमा चुँ समेत गरेको अवस्था छैन । आखिर किन ? एउटा खेलाडीलाई एकजोर ओलम्पिक मापडण्ड को पोशाक उपलब्ध गराउन नसक्ने व्यवस्थापक र प्रशिक्षकप्रति एनओसीका पदाधिकारीले किन मौनता साँधेका छन्, त्यो रहस्यमय बन्न पुगेको छ । पेरिस ओलम्पिकको समापनपछि यसको जवाफ एनओसीका अध्यक्षले अवश्य दिनुपर्ने छ ।
पेरिस ओलम्पिकमा अध्यक्ष बज्राचार्य र प्रशिक्षक थापाको गैरजिम्मेवारी हरकतले अहिले आम नेपालीको मन पोलेको छ । स्वदेश र विदेशमा रहेका खेलप्रेमी शुभेच्छुकले यसलाई लापरवाहीको पराकाष्टा समेत भनेका छन् । तर खेलाडीको हकहित र अधिकारका लागि नेपालमा खोलिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाली ओलम्पियन खेलाडी संघले अहिलेसम्म यो घटनाको वारेमा उफ समेत नगर्नुले खेलाडीको मनोवल खस्किन पुगेको छ भने गैरजिम्मेवारी हरकत गर्ने बज्राचार्य र थापाले उन्मूक्ति पाइरहेका छन् ।
त्यसैले अहिले प्रश्न उठेको छ, अध्यक्ष बज्राचार्य र प्रशिक्षक थापालाई किन कारवाही नगर्ने? दुवैजना ओलम्पिक खेलको बारेमा अन्जान भएको भए कुरो अर्कै हुन्थ्यो । तर प्रशिक्षक थापाको खेलाडी सहित यो तेस्रो ओलम्पिक सहभागिता हो भने अध्यक्ष बज्राचार्यको कुरै छाडौं उनी त जुडोका ज्ञाता नै हुन् । अनि कसरी गरे त उनीहरुले यस्तो अक्षम्य गल्ती? कुरोको चुरो यहाँ छ । तसर्थ राष्ट्रको छवीलाई अन्तर्राष्ट्रियस्तरमा धुमिल पार्ने खेलकुदका यस्ता धमिराहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत सम्बन्धित सम्पूर्ण निकायले कानुनी कठघरामा उभ्याएर कारवाही गर्नु जरुरी भईसकेको छ ।