पाकिस्तानका ज्याभलिन थ्रो खेलाडी अरसद नविनले ओलम्पिक कीर्तिमान बनाउँदै पेरिस ओलम्पिक २०२४ मा स्वर्ण पदक जित्न सफल भएका छन् । बिहीबार राती भएको खेलमा अरसदले ९२.९७ मिटर थ्रो गरेर स्वर्ण पदक जितेका हुन् ।
यो ओलम्पिक नयाँ कीर्तिमान समेत हो । अरसदले आफ्नो दोश्रो थ्रोमा ९२.९७ मिटर टाढा भाला फ्याँकेका थिए । यो कीर्तिमानी थ्रोसँगै अरसद ओलम्पिक खेलमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने पाकिस्तानको पहिलो खेलाडी समेत बनेका छन् । यसअघि व्यक्तिगत रुपमा पाकिस्तानका दुई खेलाडीले कास्य पदक जितेका थिए।
ओलम्पिकको १६ वर्षको कीर्तिमान तोड्ने क्रममा अरसदले टोकियो ओलम्पिकका स्वर्ण पदक विजता भारतीय खेलाडी निरज चोपडालाई पछाडि पारेका थिए । निरजले ८९.४५ मिटर थ्रो गरेर रजत पदक जिते ।
पेरिस ओलम्पिकमा ज्याभलिन थ्रोको प्रतिस्पर्धा भारत र पाकिस्तानको जस्तै बनेको थियो । दुवै खेलाडीको पहिलो थ्रो फल भएपनि दोश्रो थ्रोमा अरसदले कीर्तिमानी थ्रो गरेका थिए । त्यसपछि अरसदले ८९ मिटर पनि कटाउन सकेका थिएनन् ।