काठमाडौं । नेपाल तेक्वान्दो संघद्वारा आयोजित चौथो राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगितामा प्रमुृख अतिथि बागमति प्रदेशका नव नियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुदलाई पहिलो प्राथमिकता राख्नुपर्ने बताएका छन् ।
ललितपुरको सातदोबाटोमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महर्जनले सरकारले कुल बजेटको १० प्रतिशत बजेट खेलकुदको लागि लगानी गर्नुपर्ने बताए । महर्जनले देशको प्रतिष्ठा जोगाउने खेलाड़ीहरु रोजगारीको निमित्त धमाधम विदेश पलायन भईरहेकोले राज्यले खेलाडीहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्ने कुरामा समेत जोड दिएका थिए ।
अन्तर्राष्ट्रियस्तरमा मुलुकको पहिचान गराउने खेलाडी नै भएकोले राज्यले खेलकुदलाई पहिलो प्राथमिकता राख्नुपर्ने मन्त्री महर्जनले बताए । साथै मुलुकमा खेलकुदका भौतिक पूर्वाधार निकै न्युन भएको र सरकारले सातवटै प्रदेशमा वैज्ञानिक तरिकाले पूर्वाधारको निर्माण गरिनुपर्ने धारणा राखेका थिए ।
महर्जन राष्ट्रिय खेलाडी हुदै खेलकुदको पदाधिकारी र केही साताअघि बागमति प्रदेशको खेलकुदमन्त्री बन्न सफल भएका हुन् ।