पेरिस ओलम्पिक २०२४ मा जेन्डर विवादमा परेका दुवै महिला बक्सिङ्ग खेलाडीले ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । अल्जेरियाकि इमान खलिफ र ताइवानकि लिन यु टिङले आआफ्नो तौल समुहमा स्वर्ण पदक जितेका हुन् ।
गत वर्ष जेन्डर विवादकै कारण यी दुवै खेलाडीलाई विश्व च्याम्पियनसिप खेल्नबाट अन्तर्राष्टि बक्सिङ्ग संघले प्रतिबन्ध लगाइएको थियो । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दुवै खेलाडीलाई ओलम्पिकमा खेल्न अनुमति दिएपछि उनीहरुले पेरिस ओलम्पिकमा सहभागिता जनाएका थिए ।
पेरिस ओलम्पिकमा यी दुवै खेलाडीको सहभागिताको वारेमा विवाद उत्पन्न भएपनि आयोजक कमिटी यसलाई सामान्यरुपमा लिएको थियो । यसपछि यी दुवै खेलाडीले आफ्नो तौल समुहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।
पेरिस ओलम्पिक २०२४ मा अल्जेरियाकि इमानले ६६ केजी तौल समुह र ताइवानकि टिङले फेदरवेटमा प्रतिस्पर्धा गरेकि थिइन् । टीङले फाइनलमा पोल्याण्डकि खेलाडी जुलिया स्जेरेमेतालाई ५-० को अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेकि थिइन् ।
पेरिस ओलम्पिकमा बक्सिङ्ग खेलमा ताइवानले जितेको यो पहिलो स्वर्ण पदक हो । यसअघि ताईवानले तीन काश्य पदक जितेको थियो ।