नेपाल जुडो महासंघको २०७८ साल बैशाख ५ गते बसेको प्राविधिक समितिका संयोजक खड्गबहादुर दाहालको संयोजकत्वमा बसेको बैठकले तत्कालिन समयमा ओलम्पिक सहभागि सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको थियो । उक्त बैठकले ओलम्पिक खेलमा प्रशिक्षक नदोहोर्याउने निर्णय गर्दै सन् २०२० को टोकियो ओलिम्पिकको लागि जुडो संघका उप–महासचिव तथा प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पठाउने निर्णय गरेको थियो ।
प्राविधिक समितिको सोहि निर्णय अनुसार सूर्यनारायण श्रेष्ठले टोकियो ओलम्पिकमा प्रशिक्षकको भूमिका निभाएका थिए । प्राविधिक समितिको उक्त निर्णय श्रेष्ठसम्म लागु भएपनि त्यसपछि भने हुन सकेन । त्यसपछि अध्यक्ष दीपकहर्ष बज्राचार्यले प्राविधिक समितिको उक्त निर्णयलाई लत्याउँदै पुन: पेरिस ओलम्पिक २०२४ को लागि जुडोको प्रशिक्षकमा देबु थापालाई सिफारिस गरेका थिए ।
देबु थापाले सन् २०१६ को रियो ओलम्पिकमा प्रशिक्षकको भूमिका निभाईसकेका कारण उनलाई संघले पेरिस ओलम्पिकको लागि प्रशिक्षकमा सिफारिस गर्न मिल्दैनथ्यो । तर अध्यक्ष बज्राचार्यले संघमा आफ्नो तानाशाही देखाउँदै पुनः देबु थापालाई नै पेरिस ओलम्पिकको लागि सिफारिस गरेका थिए । जुन आफैमा गैरकानुनी मात्र नभई प्राविधिक समितिको निर्णयलाई ठाडो चुनौंति समेत थियो । अहिले प्रश्न उठेको छ, अध्यक्ष बज्राचार्यले यस्तो गैरकानुनी कार्य गर्दा समेत प्राविधिक समिति अहिलेसम्म किन मौनता साँधेर बसेको छ, त्यो रहस्यमय बन्न पुगेको छ ।
प्राविधिक समितिको निर्णय अनुसार यो पटक पेरिस ओलम्पिकमा प्रशिक्षक भएर जाने पालो वरिष्ठ जुडो प्रशिक्षक चन्द्रकुमार डंगोलको थियो । यो बारेमा डंगोलले बारम्बार अध्यक्ष बज्राचार्यलाई जानकारी समेत गराएका थिए । अध्यक्षले पनि मनिता श्रेष्ठ (प्रधान) को कागजात आएपछि डंगोललाई प्रशिक्षकको रुपमा पेरिस ओलम्पिक पठाउने आश्वासन दिएका थिए । यो बारेमा प्रशिक्षक डंगोलसँग बुझ्दा उनले पनि अध्यक्षले भनेको कुरा नै दोहोर्याए ।
तर जब मनिताको नाम ओलम्पिकका लागि सिफारिस भएर आयो त्यसपछि यो कुरालाई अध्यक्ष बज्राचार्यले गोप्य राखे । एक जुडो प्रतियोगिताको क्रममा अध्यक्षले खुशीको खबर छ भन्दै मनिताले पेरिस ओलम्पिकमा सहभागिता जनाउने पक्का भएको खुलासा गरेका थिए । त्यसपछि डंगोलले दीपक सर, अब त मेरो नाम पठाउने समय आयो भन्दा बज्राचार्यले प्राविधिक कमिटीले जसलाई सिफारिस गरेर पठाउँछ त्यसैलाई पठाउने भन्दै आलटाल गर्दै कुरो घुमाएका थिए । त्यसपछि डंगोलले प्राविधिक समितिले गरेको निर्णयको कागजात अध्यक्ष बज्राचार्यलाई पेश गरेका थिए । र पनि अध्यक्ष बज्राचार्यले पेरिस ओलम्पिकमा देबु थापा जाँदैछ, अरु कुरो मलाई थाहा छैन भनेर पन्छिएका थिए ।
प्राप्त जानकारीका अनुसार त्यसअघि नै अध्यक्ष बज्राचार्यले आफुखुशी प्रशिक्षकमा देबु थापाको नाम सिफारिस गरेर नेपाल ओलम्पिक कमिटीमा पठाइसकेको स्रोतको दाबी छ । यो सम्बन्धमा डंगोलले ओलम्पिक कमिटीमा बुझ्दा अध्यक्षले देबु थापाको नाम सिफारिस गरेर पठाएको र एनओसीले उक्त नाम पेरिस ओलम्पिकका लागि पठाईसकेको जानकारी गराएको थियो । साथै अब यो बारेमा आफुहरुले केहि गर्न नसक्ने प्रतिक्रिया समेत दिएको डंगोलले बताएका छन् । आखिर प्रशिक्षकमा देबु थापा मात्रै किन? जुडो महासंघमा मात्र नभई आम खेलप्रेमी बीच यो चासो र चर्चाको विषय बनेको छ । त्यसैले अहिले यो घटना शंकाको घेरामा मात्रै परेको छैन बज्राचार्य र थापाको नियत माथि समेत ठूलो सवाल खडा गरिदिएको छ ।
अध्यक्ष बज्राचार्यको बदनियतले पेरिस ओलम्पिक जान नपाएका वरिष्ठ प्रशिक्षक चन्द्रकुमार डंगोलले त्यसपछि असार २१ गते पेरिस ओलम्पिकमा मनिताको प्रशिक्षकको रुपमा जान पाउँ भनि राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीमा निवेदन दर्ता गराएका थिए । सो निवेदनमा डंगोलले प्राविधिक समितिको निर्णय समेत उल्लेख गरेका थिए । र, पनि उनको निवेदनप्रति सम्बन्धित निकायले कुनै सुनुवाई गरेनन् । बज्राचार्यको निर्णयलाई नै अन्तिम निर्णय मान्दै प्राविधिक समितिले गरेको निर्णय नै औचित्यहिन भएको प्रमाणित गरिदिए ।
यसरी अहिले डंगोलले आफुमाथि ठूलो अन्याय भएको र अन्तर्राष्ट्रियस्तरमा नेपालको ठूलो बेइज्जत भएको बताउँदै दोषी अध्यक्ष बज्राचार्यलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने बताए । यस्तो नियम कानुन नमान्ने व्यक्ति पदमा बस्न लायक नभएको भन्दै बज्राचार्यले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आक्रोस समेत पोखेका छन् । त्यस्तै पेरिस ओलम्पिकमा प्रशिक्षकको भूमिकामा नदेखिएकि देबु थापाबाट त्यहाँ जाँदाको सम्पूर्ण खर्चको क्षतिपूर्ति भराउनु पर्ने समेत डंगोलले सुझाएका छन् । डंगोलले ओलम्पिक जस्तो खेलकुदको महाकुम्भमा एउटा पोशाक अर्थात् गी समेत उपलब्ध गराउन नसक्ने अध्यक्ष बज्राचार्य र प्रशिक्षक थापाप्रति असन्तुष्टि प्रकट गर्दै यथासिघ्र सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले विशेष छानविन गरि कानुनी कारवाही अघि बढाउनु पर्ने कुरामा जोड दिएका छन् ।