ओलम्पिकमा जुडोको पोशाक विवादमा तानिनुमा हाम्रो कुनै दोष छैनः बज्राचार्य, थापा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले नेपालको नाम उल्लेखित पोशाक अर्थात् ‘गि’ लगाएर खेल्न नपाउँदा प्रशिक्षक देबु थापालाई खेल स्थलमा जानबाट बञ्चित गरिएको थियो । त्यसपछि प्रशिक्षक थापा र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य विवादमा तानिएका थिए । यी दुवैलाई ओलम्पिक जस्तो खेलकुदको महाकुम्भमा एउटा खेलाडीलाई समेत ओलम्पिक मापदण्ड अनुरुपको पोशाक व्यवस्थापन गर्न नसकेको संगीन आरोप लागेको थियो ।

यसरी ओलम्पिकमा जुडोको पोशाक सम्बन्धि विवाद छताछुल्ल भएपछि अध्यक्ष बज्राचार्य र प्रशिक्षक थापाले यो घटनाको सत्यतथ्यको बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) मा साउन २४ गते निवेदन दिएर जानकारी गराएका थिए । निवेदनमा मनिताले लगाएको पोशाक अफिसियलले सानो गल्ती भएको भन्दै आफुलाई प्रतिस्पर्धा स्थलमा जान नपाएको पनि देबुले स्वीकार गरेकि छिन्।

प्रशिक्षक थापाले यो दुर्भाग्यपूर्ण घटना भएको भन्दै आफु र अध्यक्ष दीपकहर्ष बज्राचार्यको कमिकमजोरीमा यस्तो घटना नभएको निवेदनमा उल्लेख गरेकि छिन् । थापाले यो टेक्निकल कारणले भएको भन्दै यस्तो घटना घट्नुमा आफ्नो कुनै दोष नभएको खुलासा समेत गरेकि छिन् । साथै आफु र अध्यक्षले यो घटनाको विरोध गर्दै अफिसियलसँग चर्को रुपमा प्रतिवाद गरेको समेत उल्लेख गरेकि छिन् ।

निवेदन अनुसार ओलम्पिक खेलमा प्रतिस्पर्धामा जानुअघि एउटा खेलाडीले गर्नुपर्ने सबै नियम पालना गरेको, ओल्मपिक खेलका लागि जुलाई २५ तारिखको दिन जुडो खेलको टाईसिट ड्र तथा मिटिङ्ग अनलाईनमार्फत भएको, जुलाई २४ मा स्पोर्ट्स ओलम्पिक भेन्युमा मिजुनो कम्पनिको गिसहित अन्य सामानहरु खेलाडीलाई उपलब्ध गराएको र त्यसै समय नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानलाई पनि जुडो गि दुई जोर (सेतो तथा निलो) (जुडो खेल्ने पोशाक र बेल्ट) तथा अन्य सामानहरु पनि प्रदान गरिएको थियो ।

प्रशिक्षक डेबु थापाले राखेप र एनओसीमा बुझाएको निवेदनको प्रतिलिपि:
प्रशिक्षक डेबु थापाले राखेप र एनओसीमा बुझाएको निवेदनको प्रतिलिपि:

तर उक्त गि मनिताको साईज भन्दा ठूलो थियो । किनकी मनितालाई १.३ साईज लाग्नु पर्नेमा प्राप्त गिको साईज १.५ को रहेको निवेदनमा उल्लखे छ । त्यसपछि गिलाई छोटो बनाउनको लागी काट्न खोज्दा जुडोको मान्यता पाएको लोगो काटिने हुदाँ गि लाई काटेर मिलाउन नसकिएपछि नेपालबाट लगिएको ओलम्पिकमा खेल्न मिल्ने मान्यता प्राप्त चार जोर गि लिएर २५ तारिखको दिन ओलम्पिक भेन्युमा ब्याक नम्बर राख्नको लागि लगिएकोमा फाइटिङ फ्लिम कम्पनीको गि लाई अफिसियलले स्वकृत गर्दै ब्याक नम्बर लेख्नको लागि लगेको थियो ।

त्यसपछि जुलाई २७ तारिखको दिन प्रशिक्षक डेबु र मनिता स्पोर्ट्स ओलम्पिक भेन्यसमा गएर ब्याक नम्बर लेखिएको गि लिएर आएको र खेलको अघिल्लो दिन २८ जुलाईमा पुन: गि प्रशिक्षण गर्दा अफिसियलले मनितालाई नेपालबाट लगिएको फाइटिङ फ्लिम कम्पनीको गि लगाएर ओलम्पिक खेल्न मान्यता दिदै मनिताको जुडो गि र आइडी कार्डमा उक्त गि ठिक छ भन्दै स्टिकर टासि दिएको थियो, त्यसपश्चात् मनिताको तौल पुनः जाँच गर्नुपर्ने थियो, जसमा मनिताको कुनै समस्या देखिएन ।

‘२०२४ जुलाई २९ तारिखको दिन बिहान १० बजे मनिताको खेल थियो । हामी प्रतिस्पर्धा गर्नका लागि बिहान ८ बजे ओलम्पिक भेन्युको जुडो हलमा पुगिसकेका थियौं। मनिता पुन: तौल जाँचमा नपरेका कारण हामी प्रतिस्पर्धाको लागि तयारी गरिरहेका थियौं । त्यसपछि प्रतिस्पर्धा शुरु हुनु १५ मिनेटअघि गी चेकका लागि कन्ट्रोलमा पुगेको र दुई टेबल पार गरि अगाडि बढिरहेको अवस्थामा एक अफिसियल आएर मनितालाई रोक्यो।’ थापाले निवेदनमा उल्लेखित गरेकि छिन् ।

त्यसपछि आफुहरुले के कारणले खेलाडीलाई रोकेको भन्दै उक्त अफिसियललाई प्रश्न गर्दा उनले सानो गल्ती भएको भनेको तर, उक्त सानो गल्ती के थियो, त्यसको बारेमा भने तत्काल कुनै खुलासा नगरेपछि अध्यक्ष र देबुले ति अफिसियललाई गी पास प्रक्रिया पुरागरि खेलाडीको आईडी कार्डमा स्टिकर समेत लगाएको जानकारी गराए पनि ति अफिसियलले सानो गल्ती भएको भन्दै पन्छिएको निवेदनमा उल्लेख छ ।

जतिबेला मनिताको खेल शुरु हुन मात्र ३ मिनेटको समय बाँकी रहेको र उनी ओलम्पिक भेन्युमा राखिने बैकल्पिक गि लगाएर खेल्न बाध्य भएको उल्लेख गर्दै प्रशिक्षक थापाले आफुले अन्य कुनै किसिमको विरोध गरेको वा आवाज उठाएको अवस्थामा खेलाडी र प्रशिक्षक दुवैजनालाई खेलबाट प्रतिबन्धित गरिने नियम भएको हुँदा कुनैपनि हालतमा मनिता खेल्नबाट बञ्चित हुन नपारोस् भनेर कुनै विवाद नगरेको समेत जानकारी गराएकि छिन् ।

अध्यक्ष दीपकहर्ष बज्राचार्यले राखेप र एनओसीलाई बुझाएको निवेदनको प्रतिलिपि:

अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) को नियम अनुसार खेलाडीको गिमा समस्या देखिएमा प्रतिस्पर्धा स्थलमा प्रशिक्षक जान नपाउने भएकोले आफु जान नपाएको समेत देबुले स्वीकार गरेकि छिन् । त्यसपछि आफुले बाहिरबाट दुई नम्बरको म्याटको साइडमा पुगेर मनितालाई निर्देशन दिएको तर प्रतिस्पर्धा हुदा प्रशिक्षकको टेबलमा बस्न नपाउँदा आफुलाई निकै नराम्रो लागेको खुलासा गरेकि छिन् ।

त्यस्तै नेपाल जुडो महासंघका अध्यक्ष तथा जुडो खेलका म्यानेजरको रुपमा पेरिस ओलम्पिक २०२४ मा पुगेका दीपकहर्ष बज्राचार्यले पोशाक तथा गि मा देखिएको सानो गल्तीले मनिताले नेपाल लेखेको गि लगाएर खेल्न नपाएको बताएका छन् । साथै गी मा देखिएको समस्याका कारण आईजेएफको नियम अनुसार प्रशिक्षक थापाले प्रतिस्पर्धा स्थलमा जान नपाएको पनि मेरोखेल डटकमलाई बताएका छन् । आफुहरुले यो विवाद मत्थर गर्न सक्दो प्रयास गरेको तर आईजेएफको नियमको अगाडि केहि गर्न नसकेको समेत बताएका छन् । त्यस्तै मनिताको पोशाकको सम्बन्धमा आफुहरुले ओलम्पिक मापडण्ड अनुरुप नै तयारी गरेको तर अन्तिम समय आएर अफिसियलले सानो गल्ती भएको भन्दा यस्तो समस्या आई परेको बज्राचार्यको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :