काठमाडौं । नेपाल कराते महासंघले उपप्रधान मन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई शुक्रबार स्वागत गर्दै बधाइ दिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङले उनीहरुलाई बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
सो अवसरमा उप्रधान मन्त्री सिंहले स्वस्थ र अनुशासित नागरिक तयार गर्न र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे ।
खेलकुद मन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि सबै मिलेर एकजुट हुनु पर्ने आवश्यकता औल्याए ।
बागमती प्रदेशका खेलकुद मन्त्री महर्जनले खेलकुदको महत्व बुझेरै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको बताउदै बागमती प्रदेशमा खेलकुदलाई चलायमान बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सम्मानित सबैसंग खेलकुदको राम्रो अनुभव रहेको बताउदै उहाँहरुको कार्यकालमा खेलकुद क्षेत्र र खेलाडीमा नयाँ उर्जा सञ्चार हुने विश्वास व्यक्त गरे ।
कराते महासंघका महासचिव दावा गुरुङले कुनैपनि क्षेत्रमा ‘राइट म्यान इन राइट प्लेस’ अवधारणा लागू गर्न सके मात्र त्यो क्षेत्रको अपेक्षित विकास सम्भव हुने धारणा व्यक्त गरे ।
करातेका नवनियुक्त मुख्य प्रशिक्षक दीपक श्रेष्ठले सातदोबाटोस्थित कराते हलमा होस्टेल बनाउने योजना रहेको बताउदै आकर्षक पुरस्कार राशीको टिम कुमुते प्रतियोगिता पनि आयोजना गर्ने जानकारी गराए ।
सो अवसरमा १९ औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता करातेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । राइट पाथ कन्सल्टेन्सी ग्रुप प्रा.लि. ले एरिकालाई १ लाख नगदसहित सम्मान गर्यो । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।