फेरि उहि ताल, उहि सुर, आखिर कहिले पलाउने राजनीतिक दलहरुको सद्बुद्धि ? दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाप्रति राजनीतिक दलका नेताहरुले गरेको गोलमोटल टीकाटीप्पणीले उठाएको सवाल हो यो । आफुले गर्न पाए मात्र राम्रो, यस्तो त भदौमा आँखा फुटेको गोरुको मात्र हुन्छ। जहिले पनि हरियो मात्रै देख्ने। अहिले कर्णाली प्रदेशमा आउँदो मंसिर २ देखि ९ गतेसम्म आयोजना हुने तय भएको दसौं राष्ट्रिय खेलकुदको सन्दर्भमा राजनीतिक दलका नेताले फैलाएको औचित्यहिन हौवालाई सुन्दा र देख्दा त्यस्तै लाग्छ । निस्कर्षमा भन्नुपर्दा उनीहरु दसौं राष्ट्रिय खेलकुदको सफल आयोजना भन्दा पनि यसको बागडोर कसरी आफ्नो पक्षमा पार्ने त्यसमा केन्द्रित भएका देखिन्छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलको भित्रि चाहाना अर्थात् राजनीतिक खेल हेर्दा त्यस्तै लाग्छ । दसौं राष्ट्रिय खेलकुदलाई निर्धारित समयमा आयोजना नगर्ने ।
कुनै पनि राजनीतिक दलका नेताले यहाँ बिर्सनु नहुने कुरा के छ भने, अहिलेसम्म राष्ट्रिय प्रतियोगिताको आयोजना कसरी हुँदै आएको थियो । राष्ट्रिय प्रतियोगिताको पहिलो देखि नवौं संस्करणको आयोजना हुँदा नवौं बाहेक अन्य सबै संस्करण बिना पूर्वाधार भएका थिए भन्दा अतिसयाक्ति नहोला । नवौं पनि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को लागि बनेका पूर्वाधारले गर्दा स्तरिय बन्न पुगेको थियो । अन्य राष्ट्रिय प्रतियोगिताको आयोजनाको चर्चागर्दा झारा टार्ने र खेलकुद पदाधिकारीहरुको भुँडी भर्नका लागि मात्रै सञ्चालन भएको कुरालाई सायदै कसैले नकार्न सक्ला । पाँचौं राष्ट्रिय राजधानी काठमाण्डौंमा भएर पनि टुडिखेलको खुला चौर र पालमुनी भएको थियो । कैलालीमा भएको छैठौं राष्ट्रिय प्रतियोगिता उद्घाटनको दिनसम्म मुख्य रङ्गशालाको ढलानका फ्ल्याकहरु निकालिएको थिएन, ढलानबाट पानी चुहिईरहेको अवस्था थियो । सातौं र आठौंको स्थिति पनि छैठौंको भन्दा कम थिएन अर्थात् उस्तै उस्तै थियो । राष्ट्रिय प्रतियोगिता हो भन्ने झलक कुनै कोणबाट देख्न सकिदैनथ्यो । र पनि, राष्ट्रिय प्रतियोगिताको आयोजना भएको थियो ।
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भौतिक पूर्वाधारको निर्माणको कुरा गर्दा राष्ट्रिय प्रतियोगिताका लागि अहिलेसम्मकै उत्कृष्ट पूर्वाधार तयार भएका छन् । प्रायजसो सबै खेलका पूर्वाधार निर्माण गरेर कर्णाली प्रदेशले राष्ट्रिय प्रतियोगिताको मूल्य, मान्यता र औचित्यलाई पुष्टि गर्ने क्रममा सक्षम रुपमा आफूलाई उभ्याएको अवस्था छ । वर्तमान अवस्थासम्म मुख्य रङ्गशालाको निर्माण ९२ प्रतिशत समाप्त भइसकेको छ भने एक महिनाभित्रै पूर्णता पाउने देखिन्छ । यस्तो अवस्थामा कर्णाली प्रदेश दसौं राष्ट्रिय प्रतियोगिता निर्धारित समयमै गर्न तयारी अवस्थामा रहेको देखिन्छ । तर राजनीतिको दोषी चश्मा लगाएर दसौं राष्ट्रियका पूर्वाधारमाथि सवाल खडा गर्नु र मिति सारणी गर्ने चर्चा चलाउनु दसौंमाथि ठूलो राजनीतिक चलखेल र षडयन्त्र हो । होइन भने यसअघि सम्पन्न भएका राष्ट्रिय प्रतियोगिता कसरी आयोजना भएका थिए त्यसको पुनरावलोकन गर्नु सत्तामा आसिन जिम्मेवार व्यक्तिहरुको लागि जरुरी भइसकेको छ ।
दसौं राष्ट्रिय प्रतियोगिताका लागि आयोजक कर्णाली प्रदेश तयारी अवस्थामा हुँदा समेत यतिबेला पूर्वाधारको बाहनामा दसौं राष्ट्रियलाई विवादमा तान्दै राजनीतिक भूमरीमा पार्ने कोशिस गरिदै छ । जुन खेलकुद र खेलाडीको लागि कदापी सकारात्मक मान्न सकिदैन । प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धाबाट हिरो जन्माउने राष्ट्रिय खेललाई कुनै पनि बाहनामा मृत्युवरणको शैयामा सुताउन मिल्दैन । तसर्थ कुनै पनि अप्रिय निर्णय गर्नुभन्दा पहिले हिजोको राष्ट्रिय प्रतियोगिताको आयोजनाको इतिहासलाई पल्टाउनुपर्ने जिम्मेवार निकायको जिम्मेवारीभित्र पर्छ । तसर्थ दसौंको बजेटमा र्याल चुहाएर, आफ्ना कार्यकर्तालाई दसौंमा हुलेर, कमिसनको चक्करमा ‘काले काले मिलेर खाउ भाले’ भन्ने सोच पालिएको छ भने त्यो दसौंको लागि दसा बन्ने पक्का छ । यदि दसौं राष्ट्रिय राजनीतिक भूमरीमा पर्यो भने त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर खेलाडीको तयारीमा मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगिताको छनौट र तयारीमा पनि त्यत्तिकै पर्ने देखिन्छ । त्यसैले जिम्मेवार निकायका व्यक्तिले गैरजिम्मेवार भएर प्रस्तुत हुनुभन्दा दसौंलाई निर्धारित समयमा आयोजना गर्न साम, दाम, दण्ड र भेद चारै नीतिको अवलम्बन गर्नुपर्ने आजको आवश्यकता भएको छ ।