एशियन बक्सिङ्ग कन्फेडेरेशनको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । युएईको आबुधादी शहरमा शनिबार सम्पन्न एशियन बक्सिङ्ग कन्फेडेरेशन (एएसबीसी) को विशेष साधारणसभाले वर्ल्ड बक्सिङ्गमा जाने वा नजाने भन्ने विषयमा भएको मतदानमा आवश्यक दुई तिहाई बहुमत प्राप्त गर्न असफल भएको छ ।

यससँगै एएसबीसी तत्काल वर्ल्ड बक्सिङ्गको सदस्यको रुपमा नजाने भएको छ । आज भएको मतदानमा ३६ देशका सहभागी मध्ये १९ देशका प्रतिनिधिहरुले वर्ल्ड बक्सिङ्गमा जान नहुने भनि विपक्षमा र १४ देशका प्रतिनिधिहरुले वर्ल्ड बक्सिङ्गमा जानु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक देशको मत बदर भएको थियो।

उक्त प्रस्ताव असफल भए लगत्तै भएको छलफलमा युएई बक्सिङ्ग संघका अध्यक्षले एएसबीसी तत्काल वर्ल्ड बक्सिङ्गमा नजाने साधारण सभाबाट पारित भएको छ ।

यस्तै आईवा पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले मान्यता खारेज गरेकाले साधारण सभाको एजेण्डा भन्दा भिन्न एएसबीसी एक स्वतन्त्र एशियन बक्सिङ्ग संघको रुपमा स्थापना हुनुपर्ने माग भएको थियो ।

जसमा साधारण सभाका अध्यक्षले उक्त बुदा साधारण सभाले पारित गरियोस् भनी राखेको प्रस्तावमा मतदान हुँदा एएसबीसीको विधानको बुदा नम्बर १९.८ अनुसार कुल सहभागी सदस्य राष्ट्र ३६ मध्ये दुई तिहाई बहुमत २४ राष्ट्रको समर्थन हुनु पर्नेमा केवल ५२ प्रतिशत (१९ मत) मात्र सहमत जनाएकोले विधान अनुसार उक्त एजेण्डा पनि पारित हुन सकेन ।

अन्तमा एएसबीसीका अध्यक्ष पिचाई चुनाभाग्राले विद्यमान विश्व बक्सिङ्गको यस कठिन अवस्थामा बक्सिङ्ग खेललाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले मान्यता दिएको अन्तर्राष्ट्रिय खेल संघलाई समर्थन गरेर आगामी ओलम्किमा बक्सिङ्गलाई सुरक्षित गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

उक्त विशेष साधारणसभामा सहभागी हुन नेपालबाट नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवाले र महासचिव मान बहादुर भण्डारी शुक्रबार युएई पुगेका थिए। युएईमा हुँदा एएसबीसी एशियन जुनियर तथा स्कुल बक्सिङ्ग प्रतियोगितामा सहभागी नेपाली बक्सिङ्ग खेलाडीहरुलाई भेटी टोलीको उत्साह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :