ओलम्पिक पदक गौरव र चुनौती दुवै हो

रमेश खनाल

नेपाली खेलकुदको इतिहासमा पहिलो पटक पारालिम्पिक गेम्समा पदक प्राप्त गर्न सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनसहित नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिदा बाजा–गाजा सहित भव्य स्वागत भयो । हजारौं खेलाडी, खेलकर्मी र खेल समर्थकहरुले फुलमालाले स्वागत गर्दै विमानस्थलबाट नगर परिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा आयोजित भव्य स्वागत कार्यक्रममा सरिक गराइयो।

जहाँ राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले निमयमा भएको पैसठ्ठी लाख निकासा गर्न सरकारसँग अनुरोध गर्ने कुरा बताए । उक्त कार्यक्रम सुनेर बसेका एक जना खेलाडीले खुसुक्क भने क्रिकेट, भलिबलको जस्तो कति महिना कुर्नु पर्ने हो, सो रकम पाउनका लागि । यहाँको चलन यस्तै छ ।

तर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बोल्ने क्रममा सो पैसठ्ठी लाख रकमको कुरै उठाएनन् । सामान्य कुरा गरेर आफ्नो भाषण सिध्याए । उक्त पुरस्कार रकम बारे मन्त्री चौधरीलाई थाहा नभएको पनि हुनसक्छ । तर त्यसो भन्दैमा पन्छिन पनि सकिदैन । मन्त्रीले जानकारी राख्नु पर्छ । अब उनको दायित्व जतिसक्दो छिटो उक्त रकम निकासा गरिदिने हो ।

वास्तवमा ओलम्पिकमा पदक जित्ने खेलाडीलाई परिषदले स्थायी नोकरीको पनि व्यवस्था गरिदिनु पर्छ । साथै खेलाडीले शिक्षा आर्जन गरुञ्जेलसम्म पढाउने व्यवस्था पनि गराउनु पर्छ । यसैगरि औषधि उपचारको निशुल्क व्यवस्था पनि मिलाउनु पर्छ । यात्रा खासगरि हवाई जहाजमा पचास प्रतिशत छुटको व्यवस्था मिलाई दिनुपर्छ । यहाँ यस्तो नजीरको व्यवस्था होस्, जसलाई हेर्नेहरुले खेलकुदमा लागेर उच्च प्रदर्शन गरेमा भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने बोध र आभास होस् ।

यसैगरि सम्बन्धित राष्ट्रिय संघलाई पनि थप खेलाडी जन्माउने वातावरण बनाउन प्रोत्साहित गर्नु पर्दछ । खेलाडीको नियमित प्रशिक्षण गर्ने स्थलको स्तरोन्नति गर्नुपर्छ । खेल सामग्रीको उचित व्यवस्था गरिदिनु पर्छ । राष्ट्रिय संघको सम्पूर्ण गतिविधि परिमार्जन गरेर नमुना हुनुपर्छ । ओलम्पिकमा पदक जितेमा कायापलट हुनेछ भन्ने सन्देश पनि जानु पर्दछ ।

पलेशालाई स्वागतको क्रममा बोल्दा सदस्यसचिव घिसिङ्गले स्पोर्ट्स साइन्सको कुरा पनि उठाए । अब स्वास्थ्य प्ररिक्षणशाला, एकेडेमी एक एक चुनौती भयो । नेपालले ओलम्पियन जन्माउने थलो त्यहि अनुसारको हुनुपर्छ । जसलाई हेरेर सबै गौरवान्तित हुन सकुन । यस सन्दर्भमा परिषदले सरकारलाई खेलकुद विकासका लागि उचित बजेट माग गर्ने सनौलो अवसर छ । निश्चित प्रपोजल सहित मन्त्रालय मार्फत अर्थ मन्त्रालयबाट रकम निकासा गराउन सक्नुपर्छ । अतः ओलम्पिक पदक गौरव र चुनौती दुवै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :